फेरियो प्रहरीमा मुद्दाको प्रकृति

विराटनगर, १ असार । प्रहरीमा पर्ने मुद्दाका प्रकृति फेरिएका छन् । मोरङ प्रहरीमा पर्ने अधिकांश मुद्दा मायाप्रेम र वैवाहिक सम्बन्धका भएपछि प्रहरीले अरू काममा ध्यान दिन सकेको छैन ।

एकै दिन इलाका प्रहरी कार्यालय रानीमा तीनवटा वैवाहिक समस्यामा उजुरी थिए । एउटा कुनामा मोरङ भाथीगन्ज–६ मा रहेको सन्थाल समुदायकी युवतीलाई र मझारे–७ स्थित सन्थाल थरकै युवकको प्रेमविवाहबारे छलफल भएको थियो । उनीहरू प्रेमविवाह गरेर भारत भागेपछि प्रहरीमा उजुरी परेको थियो । यस्तै, अर्कातिर विराटनगर–१८ का १९ वर्षीय युवाले सोही वडाकी १५ वर्षीया किशोरीलाई भगाएर विवाह गरेको विषयमा छलफल चलिरहेको थियो । यस्तै, प्रेमवियोगमा ज्यान गुमाएकी विराटनगर–१९ की श्रेष्ठ थरकी युवतीबारे पनि अनुसन्धान चलिरहेको थियो ।
पछिल्लो समय प्रहरीमा पर्ने उजुरी र मुद्दाका प्रकृति फेरिएका थिए । द्वन्द्व र ठूला अपराधका अनुसन्धानमा खटिएका प्रहरीलाई अहिले विवाहसम्बन्धी मुद्दामामिलाले हैरान बनाउने गरेको छ । ‘जिल्ला र इलाकामा प्राय: विवाहको झगडा नआएको दिन हुँदैन, सकेसम्म मिलाएर पठाउने गरेका छौँ,’ महिला तथा बालबालिका सेलकी इन्चार्ज इन्स्पेक्टर सुमा कार्कीले भनिन्, ‘महिला हिंसाभन्दा पनि वैवाहिक समस्याले महिला सेल भरिन थालेको छ ।’
जिल्लामा मात्र होइन, इलाका प्रहरी कार्यालयमा पनि उस्तै प्रकृतिका मुद्दा बढेका छन् । ‘वैशाख र जेठ विवाह र प्रेमका समस्या सुन्दैमा बित्यो,’ इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन्द्र कार्कीले भने, ‘१५ भन्दा बढी विवाहका उजुरी परेका थिए ।’
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर धजिन्द्र कार्कीले पनि विवाहका झगडाको मुद्दामै प्रहरी घोत्लिनुपरेको बताए । आफ्नो पक्षमा पार्न केटा र केटी पक्षले सकेसम्म बढी हुल ल्याएर प्रहरीलाई दबाब दिने गरेको उनले बताए । ‘प्रेम गरेर हिँडेका केटाकेटीको धर्म, जात, उमेर र वर्गमा अभिभावकबीच सहमति हुन नसकेपछि एउटा पक्ष अलग गराउन र अर्को पक्षले मिलन गराउन दबाब दिन्छ,’ उनले भने, ‘केही मुद्दा मिले पनि बाँकी विवादित अवस्थामै थन्किने गरेका छन् ।×’
‘आजकल प्रहरीको काम विवाहको विवाद मिलाउने मात्र भएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘रानी, रंगेली, बेलबारी, उर्लाबारी, लेटाङमा रहेको प्रहरी कार्यालयमा पनि मायाप्रेम र विवाहकै मुद्दाका कारण प्रहरीले अरू काम गर्न पाएका छैनन् ।’ उनका अनुसार सीमावर्ती क्षेत्र भएकोले विवाह गरेर केटाकेटी भारत गएर लुकेपछि अभिभावकले प्रहरीलाई ‘खोज्न चासो नदिएको’ आरोपसमेत लगाउने गरेका छन् ।
यस्ता मुद्दामा अपहरण र बालविवाह भनेर प्रहरीमा किटानी उजुरी पर्ने गरेको छ । ‘सबैको मनसाय विवाह गरेका जोडीलाई अलग गराउनु नै देखिन्छ,’ डिएसपी द्विवेदीले भने, ‘सन्तान फेला पारेपछि थप कारबाहीका लागि भने कोही चासो दिँदैनन् ।’ महिला सेलका अनुसार विवाहका धेरै समस्यामा युवतीहरू पर्ने गरेका छन् । विवाह गरेर केटाले छाडेपछि प्रहरीमा उजुरी दिन आउने बढी छन् । केहीले आत्महत्या गरेका छन् भने कम उमेरमा विवाह गर्नेहरू पनि छन् ।

प्रतिक्रिया