इटालीलाई थप चुनौती

वार्सा, ३२ जेठ । युरोकप–२०१२ मा साविक विजेता स्पेनलाई बराबरीमा रोक्दै इटालीले सानदार सुरुआत गर्‍यो । तर यसको मतलब इटालीको यात्रा भने सहज भएको होइन । समूहको पहिलो खेलमा विजयी भएको क्रोएसियाविरुद्ध बिहीबार हुने भिडन्तमा इटालीलाई जित अनिवार्यजत्तिकै छ ।
म्याच फिक्सिङ प्रकरणका कारण घरेलु फुटबल विवादमा फसिरहेका बेला अन्योलबीच यस प्रतियोगितामा सहभागी भए पनि पहिलो खेलमा स्पेनजस्तो विश्वविजेता टोलीलाई अंक बाँड्न बाध्य बनाएको इटाली क्रोएसियाविरुद्ध उच्च मनोबलमा हुनेछ । समूह ‘सी’ मा रहेको सन् २००६ को विश्वकपविजेता इटालीले क्रोएसियाविरुद्ध पराजित भए अघिल्लो चरण प्रवेश गर्ने सम्भावना उसको हातबाट उम्कनेछ र अरूको खेलमा भरोसा गर्नुपर्नेछ ।
समूह ‘सी’ मा स्पेन र क्रोएसियाको समान तीन अंक छ । त्यस्तै इटालीको एक अंक छ भने आयरल्यान्डले खाता खोल्न सकेको छैन । बिहीबार नै हुने आयरल्यान्डविरुद्धको भिडन्तमा स्पेनको विजय त्यति अस्वाभाविक छैन । यसर्थ क्वार्टरफाइनल पुग्न इटाली दोस्रो खेलमा विजयी हुनु आवश्यक छ ।
इटाली प्रशिक्षक सिजर प्रान्डेलीलाई लयमा रहेको स्लाभेन बिलिकको टोली क्रोएसियाको चिन्ता स्पेनले दिएजत्तिकै छ । मारिओ मेन्डजुकिक र निकिका जेलाभिकलगायत क्रोएसियाका खेलाडी उत्कृष्ट लयमा छन् । त्यसो त इटालीको ‘डिफेन्स लाइनअप’ बलियो देखिएको छ । स्पेनविरुद्ध यस्तै प्रदर्शनका कारण इटालीले आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्‍यो । तर फरवार्डमा कसलाई खेलाउने भन्नेमा प्रशिक्षक प्रान्डेलीलाई द्विविधा हुन सक्छ । जतिबेला पनि इटालीका लागि नायक बन्न सक्ने मारिओ बालोतेली स्पेनविरुद्ध सुरुआती टोलीमा रहे पनि उनको फिनिसिङ कमजोर रहेको थियो । स्पेनविरुद्ध दोस्रो हाफमा उनलाई प्रतिस्थापन गरेका डी नाटालले राम्रो प्रदर्शन मात्र गरेनन्, गोल पनि गरे सानदार ।
बिहीबारको अर्को खेलमा स्पेनको जित सहज हुने अनुमान गरिएको छ । पहिलो खेलमा क्रोएसियाविरुद्ध कमजोर प्रदर्शन गरेका कारण आयरल्यान्ड यस समूहकै कमजोर टोलीका रूपमा दरिएको छ । इटालीविरुद्ध स्पेनको प्रदर्शन स्तरीय थियो । तर पहिलो खेलमा कमजोर प्रदर्शन गरेका फर्नान्डो टोरेस लगातार दोस्रो खेलमा बेन्चमै रहन सक्ने छन् । पहिलो खेलमा सुरुआती टोलीमा विशेष फरवार्ड नराखेको स्पेनले आयरल्यान्डविरुद्ध त्यसमा हेरफेर गर्न सक्नेछ ।

प्रतिक्रिया