सेनाका पूर्व जर्नेल रतुवा सहित पक्राउ

नवलपरासी, ३१ जेठ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा ठूलो रतुवा मृग मारेर घर तिर लैजादै गरेको अवस्थामा नेपाली सेनाका पूर्व सहायक जर्नेल सागर शम्सेर जवरा र वहालवाला क्याप्टेन सहित तीन जनालाई स्थानीयवासीले पक्राउ गरेका छन् ।
पक्राउ गरिएका उनीहरुलाई प्रहरीको जिम्मा लगाईएको छ । स्थानीयले नवलपरासीस्थित बज्रदल गण ‘ग’ डण्डाका गुल्मपति क्याप्टेन कुलदेव कुंवर र पूर्व सुवेदार सीताराम कार्कीलाई पक्राउ गरेका हुन् ।
पूर्व जर्नेल जवराले वाहलवाला सेनाका पदाधिकारीहरुलाई साथमा लिएर यसअगाडी पनि निकुञ्ज भित्र सिकार खेल्ने गरेको स्थानीयको भनाई छ । उनको साथबाट दुरविन, खुकुरी र टु–टु स्पाईपर बन्दुक बरामद गरिएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
नवलपरासीको पिठौलीस्थित निकुञ्जसंग जोडिएको लामिचौर मध्यवर्ती उपभोक्ता समिति अन्तरगत नमूना मध्यवर्ती वन क्षेत्रमा बन्दुकले मृग मारेर बा २ च४३५४ नम्बरको कारको डिकीमा राखी घर फर्कने क्रममा स्थानीयबासीले घेरा हालेर आज विहान पौने छ बजे उनीहरुलाई पक्राउ गरेको लामीचौर मध्यवर्ती उपभोक्ता समिति पिठौलीका अध्यक्ष शारदा प्रसाद अधिकारीले जानकारी दिए ।
स्थानीयले घट्नास्थलमै मुचुल्का उठाउनुपर्ने भन्दै उनीहरुलाई चार घण्टा नियन्त्रणमा लिएका थिए । आफूहरुले संरक्षण गरेको वन्यजन्तुको शिकार गर्नेलाई कडा कारवाहीको माग सहित आक्रोसित स्थानीयले जर्नेल चढेको गाडीमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया