बाढी नयाँ नायिकाको

करिब ६ दशक बिताएको नेपाली चलचित्र उद्योगको पृष्ठभूमि हेर्दा केही गिनेचुनेका नायिकाबाहेक अन्यको उपस्थिति निकै फितलो पाइन्छ । प्रथम नायिका भुवन चन्दबाट सुरु भएको नायिका प्रवेशको शृंखला माला सिन्हा, मीनाक्षी आनन्द, गौरी मल्ल, शर्मिला मल्ल, करिस्मा मानन्धर, रेखा थापा, झरना थापा हुँदै पछिल्लो समयका केकी अधिकारी, अनु शाहसम्म आइपुग्दा नायिकाको संख्यामा वृद्धि देखिए पनि यसै क्षेत्रमा निरन्तरता दिइरहन सक्नेहरू भने औंलामा गन्न मिल्ने मात्र छन् । यस हिसाबले नेपाली चलचित्रमा प्रेmस अनुहार तर चलचित्रलाई माथि उठाउने खुवी भएका नायिकाको खडेरी नै देखिन्छ सधैंभरि । एकनासले आइरहेका रेखा थापा, झरना थापाहरूको विकल्प नयाँ नायिकाले प्रस्तुत गर्न सकेका छैनन् । तैपनि दर्शकका आँखालाई नौलो स्वाद दिन नयाँ नायिकाकै खोजी गरिरहेका हुन्छन्, निर्माता–निर्देशक । नयाँ नायिका उत्पादनका हिसाबले हालको समय अहिलेसम्मकै सबैभन्दा उर्वर देखिएको छ ।

समयसँगै चलचित्रको कथावस्तु पनि परिवर्तन हुँदै जाँदै छ । परिवर्तित कथावस्तुमा सधैंभरिका मोनोटोनस फेसभन्दा फ्रेस अनुहार नै राम्रो हुने देखेर नयाँ नायिकाको खोजी गर्नुपरेको बताउँछन् निर्देशक शिव रेग्मी । कहाँ भेटिएलादेखि नयाँ नायिकासँग काम गर्न थालेका उनले पछिल्लो चलचित्र सो सिम्पलमा पनि आफ्नै छोरी भावनालाई नयाँ अनुहारका रूपमा अभिनय गराइरहेका छन् । पुरानाको तुलनामा नयाँले पृथक खालको अभिनय क्षमता देखाउने आसमा फ्रेस अनुहार खोजिने उनले सुनाए ।
हुन त एक समय बिना बुढाथोकी, मौसमी मल्ल, सारङ्गा श्रेष्ठ, कृष्टि मैनाली, निरुता सिंह, जल शाह, विपना थापालगायत थुप्रै नायिका एकसाथ चलचित्र क्षेत्रमा नदेखिएका होइनन् । तर, उनीहरू सबै पलायन भएपछि चलचित्र क्षेत्रमा रिक्तता देखियो । निरन्तरता दिने एकादुई मात्र हाबी भइराखे, वाक्कै लाग्ने गरी । यस अर्थमा नेपाली चलचित्रले राम्रो क्षमता बोकेका नायिकाको खडेरी व्यहोर्दै आएको चाहिँ पक्कै पनि हो ।
पछिल्लो समयमा रेखा थापा, झरना थापाजस्ता एक–दुई जनाबाहेक अरू नायिका छान्न परे गाह्रो पर्ने अवस्था रहेको निर्माता माधव वाग्ले बताउँछन् । त्यही विकल्पको खोजी गर्दै फस्र्ट लभमा ऋचा शर्मामार्फत नयाँ स्वाद पस्कने प्रयास गरे उनले । त्यसो त स्थापित नायिकालाई मोटो रकम पारिश्रमिक दिनुपर्ने तर लगानी सुरक्षित गर्नै धौधौ पर्ने अवस्था रहेकोले खर्च जोगाउन पनि नयाँ नायिका खोजी हुने गरेको उनले सुनाए । उनी भन्छन्, ‘कम पारिश्रमिकमै नयाँ नायिकाबाट धेरै काम र नयाँ स्वाद पस्कन सजिलो हुन्छ ।’
निर्माता अर्जुन कुमारचाहिँ नेपाली चलचित्रमा नायिकाको भूमिका गौण हुँदा नयाँलाई लिँदा पनि खास फरक नपर्ने भएकोले यस्तो ट्रेन्ड बढेको ठहर्‍याउँछन्, ‘वितरकहरूले पनि नायिका हेरेर फिल्म लिने होइनन्, त्यसैले नयाँ लिँदा पनि खास फरक पर्दैन ।’ दर्शकले नयाँ अनुहारबाट नयाँ स्वादको अपेक्षा गर्ने भएकाले नयाँलाई अवसर दिनुपर्ने उनलाई पनि लाग्छ ।
पछिल्लो समय विशेषगरी नयाँ निर्माता–निर्देशक फरक धारका चलचित्रलाई जोड दिइरहेका छन्, अनि उनीहरूले नायिका पनि नयाँ नै लिने गरेका पाइन्छन् । सानो संसारबाट नम्रता श्रेष्ठ, कागबेनीबाट दिया मास्के, मिसन पैसाबाट निशा अधिकारी, फस्र्ट लभबाट ऋचा शर्मा, नाइँ नभन्नु लबाट ऋचासिंह ठकुरी, हो यही माया होबाट जिया केसी, सिलसिलाबाट सोनिया केसी, दुलही रानीबाट रागिनी खड्गी नयाँ नायिकाका रूपमा प्रवेश गराइएका छन् जसलाई नेपाली चलचित्र उद्योगमा सकारात्मक र नकारात्मक दुवै दृष्टिले हेर्ने गरिएको पाइन्छ ।
‘नवनायिका समयको माग हो । गाडी पुरानो भएपछि काम लाग्दैन, त्यसरी नै उमेर बढ्दै गएका नायिकाले चलचित्रलाई सधैं धान्न सक्दैनन्,’ निर्देशक मदन घिमिरेले भने । उनले थपे, ‘चलचित्र ग्ल्यामर क्षेत्र हो, नायिका भनेका फूल हुन् तर ओइलाइसकेका फूलहरूले सधैं बास्ना छरिरहन सक्दैनन् ।’ अहिले सीमित अनि एउटै स्वादका केही नायिका मात्र रहेकाले खडेरी परेजस्तो देखिएको र त्यो अवस्था हटाउन नयाँ–नयाँ नायिकालाई स्थापित गराउनुपरेको उनले बताए । निर्माता–निर्देशकको दृष्टि नयाँतिर केन्द्रित हुन थालेपछि पुराना र चलचित्रमा धेरैपटक रिपिट भएका नायिका अहिले काम नपाएर बस्नुपर्ने अवस्था बनेको छ । नयाँहरूको बाहुल्य बढ्दै गएको भने छ ।
तर, नेपाली चलचित्रमा पुरुष पात्रकै केन्द्रीयता प्रबल हुने र नायिका जस्ता राखे पनि हुने मानसिकताले क्षमता नै नभएकाहरूले पनि अनावश्यक रूपमा ठाउँ ओगट्न सक्ने जोखिम पनि उत्तिकै बढेको छ ।
निर्माता दिलकुमार प्यासीचाहिँ नयाँलाई प्रवेश गराउँदा प्रतिभावानहरूले प्लेटफर्म पाउने बताउँछन् । यस हिसाबले नयाँको प्रवेशलाई सकारात्मक नजरले हेर्नुपर्छ भन्छन् ।
त्यसो त अवसर दिलाउने लोभमा अनेकौं शोषणका उद्देश्यले नयाँ नायिका भित्र्याउने गरेको आरोप पनि निर्माता–निर्देशकलाई लाग्दै आएको छ । यस्ता उद्देश्यले भित्र्याइएका नायिका क्षमताको अभावमा विस्तारै पलायन हुने गरेका घटना थुप्रै देखिन्छन् । पछिल्लो समय बढीभन्दा बढी शरीर एक्स्पोज गर्ने र छाडा संवाद निष्फिक्री बोल्न सक्ने नयाँ नायिकालाई प्राथमिकता दिने चलचित्रको बाहुल्य ह्वात्तै बढेको छ । त्यसको दीर्घकालीन असर नकारात्मक हुने आँकलन चलचित्रकर्मीहरूले नै गरेका छन् । यस्ता चलचित्र र नायिकाले क्षणिक सफलता पाएभैंm देखिए पनि समग्रमा गुणस्तरका दृष्टिले उद्योगलाई धराशयी मार्गमा धकेलिरहेका हुन्छन् । त्यस्ता नायिकाले आफ्नो अभिनय क्षमतामार्फत चलचित्रलाई उठाउनेभन्दा पनि निर्माता–निर्देशकको स्वार्थपूर्तिको माध्यम मात्र बनेको विश्लेषण उठ्न थालेको छ ।
अहिलेसम्म नेपाली चलचित्रले पचासौंको संख्यामा नायिका पाए पनि स्थापित हुनेहरूको गन्ती भने ५–७ जनाभन्दा बढी छैन । चलचित्रका हर्ताकर्ताहरूबाट हुन सक्ने श्रम, शारीरिक एवं मानसिक शोषणलगायत कारणले पृथक क्षमता बोकेर आउने नयाँ नायिका पनि पलायनको बाटो रोज्न बाध्य हुनुलाई एउटा कारण मानिएको छ । यो दृष्टिले उद्योगमा नायिकाको खडेरी सिर्जना गराउनमा निर्माता–निर्देशक पनि दोषी मानिन्छन् ।

प्रतिक्रिया