बेहोस पार्ने भोक जस पाउने सुषमा

नायिका सुषमा कार्की ग्ल्यामर पस्कने मामिलामा साह्रै उदार छिन्, यसमा कुनै शंकै छैन । हटभन्दा हटसिन दिनु उनका लागि सामान्य कुरा हो, भात खाएजस्तै । उनको यही ग्ल्यामरस क्षमतालाई माध्यम बनाएर निर्माणरत चलचित्र बिन्दासले सानोतिनो चर्चा उचाल्यो, दुईचार दिनअघि । समाचार आयो– सो चलचित्रमा सुषमाको हटसिन देखेर प्रोडक्सन कन्ट्रोलर ठाउँको ठाउँ बेहोस † चलचित्रको सम्पूर्ण व्यवस्था मिलाउने प्रोडक्सन कन्ट्रोलर नै बेहोस भइसकेपछि खबर फैलिने नै भयो । सनसनी नै मच्चियो– आखिर के कमाल देखाइछन् यी सेक्सी नायिकाले छँदाखाँदाको मान्छेको होसै उडाउने गरी ?
तर चियोचर्चो गर्दा त कुरो अर्कै पो रहेछ । कुनामा बसेर दुईजना कुरा काट्दै थिए, ‘अब राजु गिरीले निर्देशन गर्ने चलचित्रमा मान्छे बेहोस नभएर के हुन्छ त ?’ उनीहरूको आशय थियो– गिरीको चलचित्र यसै पनि कम बजेटको हुन्छ । त्यसकारण पैसा खर्च गर्ने मामिलामा एकदमै कन्जुस्याइँ । बजेट नभएपछि प्राविधिकले स्पटमा खाना खान पाउने कुरा भएन । बिहान घरबाटै खाएर आऊ, बेलुका पनि घरमै खान पुग । खर्चको चाँजोपाँजो मिलाएर सुकासुकाको हिसाबकिताब देखाउनुपर्ने प्रोडक्सन कन्ट्रोलर त झन् भोकै हुने नै भए । संयोगले त्यो दिन नायिका सुषमाको सुटिङ परेछ, यो अर्कै कुरो । तर प्रोडक्सन कन्ट्रोलर बेहोस भएछन् भोक र धपेडीले । बाठा राजु गिरी न परे । यो घटनाबाट कसरी चलचित्रलाई चर्चा दिलाउने त भन्दा उनले उपाय सुझाएछन् । सुषमाको दृश्यले बेहोस भएको भनेर अफबाह चलाउने † लौ है निर्देशक साब, हो न हो भनेर चर्चा त गरिहाल्नुभो । तपाईंको चर्चाचाहिँ यसरी गर्दै छन् है † काम नपाएर अरूका कुरा काटेर बस्नेहरूसँग कसको के लाग्छ र होइन त डा. सा’ब †

प्रतिक्रिया