केसीको व्यापारी दिमाग

छुट्टै पहिचान बनाइसके हास्य कलाकार किरण केसीले । १४ असार २०१४ मा ललितपुरको इमाडोल–६ मा जन्मिएका उनी परिवारका तेह्रौं सन्तान रहेछन् । २०२८ सालबाट स्टेज प्रोग्राममार्फत कलाक्षेत्रमा छिरेको र एक सयभन्दा बढी चलचित्र तथा चार सयभन्दा बढी टेलिचलचित्रमा अभिनय गरेको सुनाउँछन् । नेपालका ६८ जिल्लामा पुगेर अभिनय प्रस्तुत गरेका छन् । ठूलो पर्दाका तँ त साह्रै बिग्रिस् नि बद्री र जे भो राम्रै भो निर्माण गरेका छन् भने ए रातामकै र धरो धर्म नामका एल्बम पनि उनैले बजारमा ल्याएका हुन् ।

यी हास्य अभिनेता कलाक्षेत्रमा नलागेका भए के बन्थे होलान् ? उनैले भने, ‘पक्कै पनि बिजनेस गरिरहेको हुन्थँे, ठमेलमा मेरा फाइभ स्टार होटेल हुन्थे कि ?’ जमानामा पिता आर्मीका जर्नेल रहेकाले उनका दाजुभाइले पिताकै बिँडो थामेका रहेछन् । उनीचाहिँ बिजनेसमै लाग्थेँ भनेर ठोकुवा गर्छन् । त्यसो त उनले इँटाभट्टा र चप्पल कारखाना पनि सञ्चालन गरेका रहेछन् कुनै बेला । २०३८ सालबाट सुरु गरेको इँटाभट्टा कलाकारितामा लाग्दै जाने क्रममा तारतम्मे नमिलेपछि २०५९ सालमा आएर बेचिदिएका रहेछन् । त्यतिबेला एक लाख पाँच हजारबाट व्यापार सुरु गरेको र एक वर्षमै आम्दानी दोब्बर भएको उनले सुनाए । पाँच सयको हाराहारीमा कर्मचारी थिए रे । इँटाभट्टाका प्रोप्राइटर उनले त्यहाँ आफैले काम गर्नुपर्ने नभए पनि गोदावरीबाट पानी आफै ल्याउने गरेका रहेछन् । उनले सुनाए, ‘इँटा राम्रो हुँदै गएपछि उपत्यकाबाहिरका ६ जिल्लाबाट पनि आम्दानी हुन थाल्यो ।’ त्यसैबाट दुईवटा मिनिबस, दुईवटा ट्रक र दुईवटा टयाक्सी जोडेको, कर्मचारीलाई अन्य भट्टाको भन्दा १० प्रतिशत बढी तलब दिएको सुनाए । ‘कामदार र मालिकबीच कामको संयोजन मिल्दै गएपछि आम्दानी पनि बढ्दोरहेछ,’ उनले सम्झिए, ‘त्यसकारण त्यो उद्योगको लगानी नै पछि करिब दुई करोड २० लाख रुपियाँभन्दा बढी पुगेको थियो ।’ तर, अहिले आएर उनले यो व्यवसायबाट हात झिकिसकेका छन् । किन त ? उनी भन्छन्, ‘यस्तै–यस्तै कारणले निरन्तरता दिन सकिएन ।’
यसबीच चप्पल कारखाना पनि सञ्चालन गरेको सुनाए । सामाखुसीमा चार वर्ष गुई चप्पल कारखाना चलाएका रे † उनी भन्छन्, ‘एक समय हाम्रो चप्पल नेपालभरि छरिएको थियो । राम्रै व्यापार थियो ।’ तर, पछि अरू देशबाट आएका चप्पल सस्तो मूल्यमा उपलब्ध हुन थालेपछि उनको व्यापार डामाडोल हुन पुगेछ । ‘आयातित चप्पलको मूल्यभन्दा हाम्रो बढी भयो, त्यसपछि बिक्री घटिहाल्यो नि †’ उनी भन्छन्, ‘हाम्रौ कच्चा पदार्थ नै धेरै मूल्यको थियो, त्यसैले मूल्य घटाउनुपर्ने स्थिति पनि थिएन, त्यसैले त्यो छाडयौं ।’ राम्रो बिजनेस नहुने आम्दानीलाई राखिरहन नहुने उनको व्यापारिक दिमागको ठम्याइ रहेछ ।
विगतका बिजनेस अनुभूतिहरूमा डुबिरहेका केसीले यी र यस्ता बिजनेस गर्ने मान्छेलाई सरकारले प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखे । ‘यस्ता इँटाभट्टाले पनि धेरैको रोजीरोटी जोगाएका छन्, सरकारी उदासीनताकै कारण उनीहरूको व्यवसाय चौपट हुने अवस्था रहनुहुँदैन,’ उनी भन्छन्, ‘इँटाभट्टा र चप्पल कारखाना गर्नेहरूलाई सरकारले उचित ब्याजदरमा ऋण उपलब्ध गराइदिए पुग्छ, अरू व्यवसायमा पनि सरकारले सजिलो बाटो बनाइदिनुपर्छ ।’ उनका अनुसार कामदारलाई जीवनबिमाको व्यवस्था हुनुपर्छ । उनी भन्छन्, ‘सरकारकै मातहतमा ती सबै विजनेस सञ्चालन हुन्छन् । तलबलगायत अन्य विभिन्न माध्यमबाट सरकारले करचाहिँ उठाइरहेकै हुन्छ ।’ अब पनि सरकार उद्योग क्षेत्रप्रति उदासीन नै भइरहने हो भने एकदिन सरकारले करै उठाउन नपाउने र मुलुक झनै गरिबीतिर धकेलिन सक्ने खबरदारी अभिनेता केसीले गरे ।

प्रतिक्रिया