नायिकाको आत्महत्या

काठमाडौ, ३१ जेठ । नायिका जेसिका खड्का मंगलबार बिहान आफ्नै कोठामा मृत फेला परेकी छन् । एक फिल्मकर्मीसितको तनावपूर्ण प्रेमसम्बन्धमा रहेकी उनले आत्महत्या गरेको अनुमान छ ।

२०६१ सालमा गायक प्रकाश ओझासितको सेक्स भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी ज्योति खड्का पछिल्लो समय जेसिका खड्काको नाममा चलचित्र क्षेत्रमा संघर्षरत थिइन् । सो प्रकरणले उनलाई अहिलेसम्म पनि पछ्याइरहेको र डिप्रेसनले आत्महत्यासम्म पुर्‍याएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जेसिकाको ४३ वर्षीय फिल्मकर्मी बालदीप राईसँग डेढ वर्षदेखि प्रेम चलिरहेको थियो । राईले आफूहरुबीच विवाह नभए पनि शारीरिक सम्बन्ध हुने गरेको प्रहरीलाई बयान दिएका छन्  । ‘विवाह गर्ने मौखिक सल्लाह भएको थियो,’ राईले प्रहरीलाई भनेका छन्, ‘हामीबीच शारीरिक सम्बन्ध भने भएको छ ।’
आत्महत्या गर्नुअघि जेसिकाको राईसित फोनमा पटक–पटक कुराकानी भएको थियो । कुराकानीका क्रममा जेसिकाको भनाइ उद्वृत गर्दै राईले भनेका छन्, ‘म बिग्रिएकी केटी, तपाईंले हेला गर्नुहुन्छ होला ।’ राईका अनुसार पहिले सार्वजनिक भएको भिडियोका कारण जेसिका निकै चिन्तित हुने गर्थिन् । ‘सोही विषयलाई लिएर उनी बेलाबखत अब धेरै बाँच्दिन होला भन्थिन्,’ उनको बयानमा छ ।
आत्महत्यापछि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका जेसिकाका भाइ युनिक खड्काले घटनालाई लिएर कसैमाथि शंका नभएको जनाएका छन् । १६ वर्षीय युनिकले प्रहरीलाई भनेका छन्, ‘दिदी जेसिका जिद्दी स्वभावकी थिइन्, पुरानो घटना सम्झेर सधैँ चिन्तित हुने गर्थिन् । बेलाबखत कोठामा मादक पदार्थसमेत पिउने गर्थिन् ।’
२३ वर्षीया जेसिकाको मृत शरीर झाछेस्थित घरको दोस्रो तल्लामा झुन्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार उनी सलको पासोमा झुन्डिएकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडाँैका प्रमुख एसएसपी जयबहादुर चन्द जेसिकाले आत्महत्या गरेको हुन सक्ने बताउँछन् । उनले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै भएको देखिन्छ ।’ विगतका घटनालाई लिएर उनी निकै चिन्तित रहेको र त्यही कारण आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ ।
हिरोइन बन्ने रहरकै कारण विगतमा अश्लील भिडियो काण्डमा फसेकी जेसिकाले तीन वर्षअघि नबल खड्काले बनाएको चलचित्र आवाजमा छोटो भूमिका पाइन् । त्यसलगत्तै उनी सरोज शर्माको चलचित्र अचानकबाट पहिलोपटक नायिकाको रुपमा देखापरिन् । जंगल क्विनमा प्रमुख पात्र बनेपछि उनले आफ्नो पुरानो नाम फेरेकी हुन् ।
लगातार फिल्म हात पार्दै गएकी उनले छोटो अवधिभित्रै लक्की सेभेन, हाम्रो माया तिमीलाई, दुई दुना पाँच, कसले बनायो माया, जंगल लभ, जंगल क्विन–२, गहिराईलगायत एक दर्जन चलचित्रमा अभिनय गर्न भ्याइसकेकी छन् । गत शनिबार मात्रै सुमन चापागाईंको निर्देशन रहेको चलचित्र गहिराइको अभिनय उनले सकेकी थिइन् । मदन घिमिरेको निर्देशनमा ‘पैसाले लुट्यो सारा प्यार मेरो’ गीतको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेकी छन् ।
अभिनयकै क्रममा उनको कलाकार तथा निर्माण नियन्त्रक बालदीप राईसँग प्रेम अंकुराएको थियो । डेढ वर्षअघि ‘मेरो माया तिमीलाई’ चलचित्रमा सँगै काम गरेका दुवैले तीनवटा चलचित्रमा सँगैे काम गरेका थिए । सानो बुबा मोहन खड्काको रेखदेखमा भाइ युनिकसँगै उनी पाँच वर्षदेखि झोँछेमा दुईवटा कोठा भाडामा लिई बस्दै आएकी थिइन् ।
जेसिकाका सानोबुबा मोहनले यो आत्महत्या नभई हत्या भएको दाबी गरेका छन् । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएका उनले भने, ‘उनी आत्मबल भएकी केटी हुन्, आत्महत्या गर्न सक्दिनन् ।’
जेसिकाको शव बुधवार चलचित्र विकास बोर्डमा कला क्षेत्रका व्यक्तिको उपस्थितिमा श्रद्धाञ्जलिसभा आयोजनापछि पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने भनिएको छ ।

सेक्स भिडियो स्क्यान्डल
सुनसरी इटहरी–७ की जेसिकाको २०६१ माघमा अश्लील भिडियो सार्वजनिक भएको थियो । कान्तिपुर टेलिभिजनबाट प्रसारित तीतेकरेलीका कलाकार तथा गायक प्रकाश ओझासँग यौन क्रियाकलापमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि निकै विवाद उब्जियो । भिडियोमा जेसिका र उनकी बहिनीको समेत नग्नदृश्य समावेश थियो ।
ओझाले जबर्जस्ती जेसिकासँग यौनसम्पर्क गरी भिडियो खिचेको भन्दै जिल्ला अदालत सुनसरीमा वेश्यावृत्तिको मुद्दा दायर भएको थियो । घटनालगत्तै फरार बनेका ओझालाई प्रहरीले २५ माघ २०६१ मा काठमाडाँैबाट पक्राउ गर्‍यो । जिल्ला अदालत सुनसरी हुँदै पुनरावेदन आदालतसम्म पुगेका ओझा अन्तत: यौनदुराचारीको अभियोगमा मोरङ कारागारमा डेढ वर्ष जेल बसेर मुक्त भए ।
जेसिकाले पत्रपत्रिकामा दिएको बयानअनुसार ओझाले थाहै नपाई जेसिकाको नाङ्गो फोटो खिचेका थिए । फोटो देखाउँदै पछि उनले ब्ल्याकमेलिङ गर्न लागे । उनले जेसिकालाई धम्क्याउँदै श्रीषा कार्कीको जस्तै हालत बनाउने भनेका थिए । स्मरणीय छ, नायिका श्रीर्षाले आफ्नो नग्न तस्बिर पत्रिकामा छापिएपछि आत्महत्या गरेकी थिइन् ।
फोटो बाहिरिने डरले ओझाले जसो भन्छ त्यसै गरिन् जेसिकाले । अन्तत: ओझाले जेसिका र उनकी बहिनीसँग यौनसम्पर्क गर्दैै गरेको भिडियो नै खिचे । सुदेशा सिग्देल हुँदै ओझाका मित्र शिशिर सुवेदीमार्फत यौन दृश्य बाहिर सार्वजनिक भएको थियो ।

रक्सी पिएकी थिइन्
झोंछेस्थित राज शाक्यको घरमा दुईवटा कोठा भाडा लिई दिदी र म सँगै बस्ने गर्छौं । दिदी अलिक जिद्दी स्वभावकी थिइन् । पुरानो घटना सम्झेर उनी सधँै चिन्तित हुने गर्थिन् । चिन्ताले नै होला बेलाबखतमा उनी कोठामा नै मादक पदार्थ ल्याएर सेवन गर्ने गर्थिन् । २९ जेठ २०६९ मा पनि हामीले रातको खाना सँगै खायौँं । दिदी चिन्तित नै देखिन्थिन् । उनी बाहिर निस्किन् । पछि रक्सी लिएर कोठामा प्रवेश गरिन् । टेबलमा बसी पिउन लागिन् । फेरि खाना खाइन् र सुत्न कोठामा प्रवेश गरिन् ।
बिहानै म उठेँ । दिदी उठेकी थिइनन् । सुतेकी होला भन्ने लाग्यो । निक्कैबेर नउठेपछि मैले ढोका ढकढक गरेँ तर खुलेन । शंका लागेपछि प्रहरीलाई खबर गरेँ । प्रहरी आयो  । हामीले ढोका फोड्यौँ । दिदी त कोठाको बलोमा सलको पासोमा झुन्डिएको पो रहिछन् ।
दिदीको बाहिर कसैसँग पनि रिसइबी छैन । प्रस्तुत घटना सम्बन्धमा कोही कसैप्रति शंका लाग्दैन । झुन्डिएर मृत्यु भएको आत्महत्या ज्यान मुद्दामा कानुनबमोजिम कारबाही गरी पाउँm ।
(महानगरीय प्रहरी परिसर काठमाडौमा जेसिकाका भाइ युनिकले दिएको बयान)

के भन्छन् प्रकाश ओझा ?
मैले आज दिउँसो श्रीमतीबाट सुनेँ यो खबर । म दु:खी छु । जो मर्दा पनि म दु:खी हुन्छु । अरु केही छैन । उनीसित पछिल्लो समय मेरो कुनै सम्पर्क र भेटघाट थिएन । ०६१ सालको भिडियो काण्डपछि हामीबीच कुनै सम्वन्ध छैन । त्यही घटनाका कारण उनले आत्महत्या गरेकी हुन् भन्ने मलाई लाग्दैन । आत्महत्या गर्ने भए आठ वर्षसम्म पर्खेर बस्दिन थिइन्, पहिल्यै गर्थिन् । त्यसैले अहिले मैले कुनै किसिमको ‘गिल्टी फिल’ गरेको छैन । ज्योति महत्वाकांक्षी चरित्रकी थिइन् । उनीसितको प्रकरणले गर्दा मैले पनि धेरै दुख पाएँ, तर आत्महत्या गरिनँ । त्यो घटनालाई बिर्सिन चाहन्छु । अहिले मेरो आफ्नै संसार छ । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन जान्नँ ।

प्रेमीले दिएको बयान
मेरो घर सुनसरी महेन्द्रनगर–१५ हो । म अहिले सिफलमा बस्छु । चलचित्र निर्माण गर्दा सुटिङको सिलसिलामा करिब डेड वर्षअघि मेरो भेट जेसिकासँग भयो । चिनजानसँगै हामीबीच प्रेमसम्बन्ध सुरु भयो । म उनको कोठामा आउने जाने गर्थेँ । उनको मोबाइलमा पनि मेरो दैनिक चार–पाँच पटक कुरा हुन्थ्यो । मौखिक रुपमा हामीबीच विवाह गर्ने सल्लाह पनि भयो तर आधिकारिक रुपमा भने विवाह भइसकेको छैन । शारीरिक सम्बन्ध भने हामीबीच भएको छ । पहिले सार्वजनिक भएको अश्लील भिडियोका कारण उनी निक्कै चिन्तित हुने गर्थिन् । सोही विषयलाई लिएर उनी बेलाबखत म धेरै बाँच्दिन होला भन्थिन् । २८ जेठ २०६९ मा म उनको कोठामा बसेको थिएँ । २९ गते म आफ्नो कोठामा गएँ । त्यस दिन मेरो उनीसँग पटक पटक फोनमा कुराकानी भयो । त्यसबेला उनले ‘म बिग्रिएकी केटी, तपाईंले मलाई हेला गुर्नुहुन्छ होला’ भनिन् । ३० गते उनलाई फोन गर्दा उनको मोबाइल स्विच अफ थियो । पछि उनको भाइले मलाई फोन गरी बोलायो । म कोठामा पुग्दा उनी झुन्डिरहेकी अवस्थामा थिइन् ।
(महानगरीय प्रहरी परिसर काठमाडाँैमा जेसिकाका प्रेमी बालदीप राईले दिएको बयान)

प्रतिक्रिया