बम्जन विरुद्ध गाउँलेको प्रतिकार

वीरगन्ज, ३० जेठ । बाराको हलखोरिया जंगलमा तपस्यामा बसेका रामबहादुर बम्जनका अनुयायी र पिलुवाका स्थानीयवासी वीच झडप भएको छ ।
बम्जनका अनुयायीले नागरिकता र रातो पासपोर्ट माग गर्दै पूर्वपश्चिम महेन्द्र राजमार्गमा अवरोध गरेपछि स्थानीयले उनीहरुको प्रतिकार गरेका हुन् । स्थानीयको प्रतिकार पछि प्रहरीले हस्तक्षेप गरेर सवारी आवागमन सुचारु गराएको छ ।
बम्जनका अनुयायी र पिलुवाका स्थानीयवीचको झडपमा प्रहरी सहित १९ जना घाईते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै दुई राउण्ड हवाई फायर गरेको थियो ।
बम्जनका अनुयायीले पूर्व पश्चिम महेन्द्र राजमार्ग झण्डै डेढ घण्टा अवरुद्ध गरेपछि आक्रोशित स्थानीयवासीले उनीहरुको प्रतिकार गरेका थिए ।
झडपमा बम्जनका अनुयायीहरुको आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी सहायक निरीक्षक वैद्यनाथ दास घाइते भएका छन् ।
झडपमा बम्जनका अनुयायी तथा बोधी धर्म श्रवण संघका सचिव रामकुमार थिङग लगायत १२ जना तथा प्रतिकार उत्रिएका स्थानीयवासी तर्फ ६ जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।
बम्जनलाई धार्मिक नाममा नागरिकता र रातो पासपोर्ट दिनुपर्ने भन्दै बम्जनका अनुयायीहरुले सडक अबरोध गर्दै आएका छन् । सडक अवरोधका कारण सैयौं सर्वसाधारण यात्रुले मार्क खेप्दै आएका छन् ।
बम्जनका अुनयायीले प्रतिकारमा उत्रिएका स्थानीयवासीलाई ढुङगा प्रहार गरेका थिए ।
प्रहरीले बम्जनका अनुयायीले प्रयोग गरेका ६ वटा मोटरसाईकल र दुई दर्जन साईकलपनि नियन्त्रणमा लिएको छ ।
शान्तिका लागि तपस्यामा बसेका बम्जनका अनुयायीहरु सडक अवरोध र स्थानीय गाउँले विरुद्ध आक्रमणमा उत्रिएपछि स्थानीयनै आश्चर्यमा परेका छन् ।

यस अघि पनि बम्जनका अनुयायीहरुले पत्रकार र स्थानीयवासीलाई आक्रमण गर्ने, विदेशी नागरिकलाई बन्धक बनाउने गरेको समाचार सार्वजनिक भईसकेका छन् ।

प्रतिक्रिया