‘तामाकोसीमा अवरोध आउँदैन’

लामाबगर (दोलखा) ३०, जेठ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दोलखाको लामाबगरमा बन्दै गरेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निरीक्षण गरेपछि अबउप्रान्त अवरोध नआउने बताएका छन् ।

सोमबार आयोजनास्थल आएका उनले आयोजनाको बाँधस्थल, सुरुङ मार्गसहित निर्माणस्थलका विभिन्न क्षेत्रको निरीक्षण गरे । उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलसहित हेलिकोप्टरबाट निरीक्षण गर्न आएका उनले राष्ट्रिय गौरवको आयोजना भएकाले राज्यले उच्च प्राथमिकता दिएको र देखिएका सबै अवरोध हटाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
एक महिनाअघि निरीक्षणका लागि आउन लागेका प्रम भट्टराई माथिल्लो तामाकोसी सञ्चालक समितिको विवादलगायतका कारणले आउन सकेका थिएनन् । माथिल्लो तामाकोसी सञ्चालक समितिको सदस्यमा ऊर्जा मन्त्रालयका सहसचिव अर्जुन कार्की र आयोजना प्रमुख प्राधिकरण सञ्चालक समितिको बैठकले नियुक्ति गरेपछि आयोजनाका स्वदेशी लगानीकर्ता टेलिकम, सञ्चय कोष, बिमा संस्थानलगायतका प्रतिनिधिले विरोध गरेका थिए । जसका कारण तीन महिनासम्म माथिल्लो तामाकोसीको बैठक नै बस्न सकेन । विवाद टुंगिएलगत्तै प्रधानमन्त्री तामाकोसीको निरीक्षणमा आएका थिए ।
सो अवसरमा प्रम भट्टराईले राजनीतिक कारणले आयोजनामा कुनै असर हुन नदिने प्रतिबद्धता जनाए । ‘देशको राजनीतिक अन्योलताको असर हामी राष्ट्रिय गौरवका आयोजनामा हुन दिदैनौँ,’ उनले थपे, ‘राजनीतिमा पनि ब्रेक थ्रु हुने चरणमा छ, राजनीति कारणले आयोजनाको ब्रेक थु्रु समयमै गराउन सरकारले सबै समस्या समाधान गरिदिन्छ, अवरोध हटाइदिन्छौँ ।’
उनले आयोजनामा देखिएको डिजेल, विष्फोटक पदार्थको समस्या समाधानका लागि पहिले नै निर्देशन दिएको र अझ तदारुकताका साथ सहयोग गर्ने बताए । उनले बि.सं. ०७१ भित्र आयोजना निर्माण सम्पन्न गर्नका लागि पनि निर्देशन दिए । ‘समयमै आयोजना सक्नुपर्छ, यसका लागि सबै किसिमका अवरोध हटाउन र सहयोग गर्न सरकार तयार छ,’ प्रधानमन्त्रीले भने । प्रम भट्टराईलाई ऊर्जा सचिव हरिराम कोइराला, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी सञ्चालक समिति अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, आयोजनाका निमित्त प्रमुख विज्ञान श्रेष्ठले आयोजनाको प्रगतिबारे जानकारी दिएका थिए । आयोजनाको ३३ प्रतिशत काम भए पनि अवरोधको कारणले आठ महिना ढिला भएको र समयमै गर्नका लागि प्रयास गरिएको जानकारी पनि उनले दिएका थिए ।
हालसम्म १५.५ किलोमिटर सुरुङमध्ये करिब तीन किलोमटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ । अहिले २.५ मिटर प्रतिदिन एकतिरबाट सुरुङ खन्ने काम भइरहेको छ, यसलाई बढाएर पाँच मिटर पुर्‍याउन सके मात्र सन् ०१५ भित्र आयोजना सकिने लक्ष्य आयोजनाको छ । स्वदेशी लगानीमै दोलखामा निर्माण भइरहेको चार सय ५६ मेगावाटको सो जलविद्युत् आयोजना ०७२ को चैतभित्र बनाइसक्ने लक्ष्य राखिएको आयोजनाका योजना तथा अनुगमन एकाई प्रमुख विमल गुरुङले जानकारी दिए । ३५ अर्ब २९ करोड रुपियाँको लागतमा निर्माण हुने सो आयोजनाका लागि हालसम्म करिब सात अर्ब खर्च भइसकेको छ ।

सुरुङ निर्माण बन्द

काठमाडौं : प्रधानमन्त्री भट्टराईले आयोजना निरीक्षण गर्दै राष्ट्रिय गौरवका आयोजनामा कुनै अवरोध नहुने सञ्चारकर्मीहरूलाई बताइरहेका बेला माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माण डिजेल अभवका कारण ठप्प थियो ।
आयोजना स्रोतका अनुसार दैनिक एक टयांकर डिजेल आवश्यक भए पनि डिजेल अभाव भएपछि उनले निरीक्षण र निर्देशन दिइरहेकै बेला आयोजना सुरुङ निर्माण कार्य हुन सकेको थिएन । ‘आइतबार बेलुका आठ बजेदेखि बिहान चार बजेसम्म डिजेलको अभावको कारण रोकियो,’ आयोजनाका एक इन्जिनियरले भने, ‘डिजेल आएपछि सोमबार बिहान पाँच बजेदेखि १२ बजेसम्म रोकिएको थियो, पुन: त्यसपछि सुरुङको डिलिङ कार्य रोकियो ।’
साढे ११ बजेतिर आएका प्रम भट्टराई डिजेललगायत कुनै पनि समस्या आयोजनामा हुन नदिने बताइरहेका भए पनि यता गोङ्गरलगायतका क्षेत्रमा डिजेल अभावले काम अघि बढ्न सकेको थिएन । आयोजनाका अनुसार डिजेल अभावले तीन महिनादेखि आयोजनाको सुरुङ निर्माण द्रुतगतिमा हुन सकेको छैन । ‘३/४ महिना भो, चाहेजति डिजेल नपाएको तर प्रम सबै अवरोध फुकाइदिने बताउँछन्, कुरा एकातिर छ, काम अर्कोतिर,’ उनले थपे, ‘प्रमले व्यवहारमै डिजेल, विष्फोटक पदार्थ, बेलाबेलामा हुने व्यवस्थापन विवाद र ठेकेदारलाई समयमै रकम दिने प्रबन्ध गरे आयोजना समयमै बन्छ, नत्र फेरि ढिलाइ हुन्छ ।’
दैनिक एउटा क्षेत्रबाट पाँच मिटर सुरुङ खन्न सकेमा पहिला भएको ढिलाइलाई पूर्ति गरी समयमै काम सम्पन्न गर्न सक्ने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया