४९ सहकारीको दर्ता खारेज हुँदै

इलाम, ३० जेठ । मेची अञ्चलअन्तर्गत तीन जिल्लाका ४९ वटा सहकारी संस्था खारेजी प्रक्रियामा गएका छन् । दुई वर्षदेखि साधारणसभा नगरेका, डिभिजन सहकारी कार्यालयमा नियमित वित्तीय विवरण नबुझाएका, कार्यालय सम्पर्कमा नआएका र संस्था निष्क्रिय रहेको भन्दै खारेजीमा लगिएको डिभिजन सहकारी कार्यालय इलामले जनाएको छ ।

कार्यालयका अनुसार इलामको २६ वटा, पाँचथरको १४ वटा र ताप्लेजुङका नौवटा सहकारी संस्था खारेजीमा गएको हो । तिनमा कृषि सहकारी संस्था २५, चिया उत्पादक सहकारी संस्था आठ, बहुउद्देश्यीय सहकारी संस्था छ, बचत तथा ऋण सहकारी संस्था छ, दुग्ध उत्पादक सहकारी संस्था दुई र ग्रामीण विद्युत् सहकारी संस्था दुईवटा रहेका छन् ।
सहकारी ऐन ०४८ मा कुनै पनि सहकारी संघ/संस्थाले लगातार दुई वर्षसम्म साधाराणसभा र कारोबार नगरी निष्क्रिय रहे दर्ता खारेज हुने व्यवस्था छ । यी संस्थाले दुई वर्षअघि सहकारी संस्थाका रूपमा दर्ता भए पनि सहकारी ऐनअनुसार कार्य नगरी निष्क्रिय रहेको र अनुगमनका क्रममा सहकारीसम्बन्धी कुनै पनि गतिविधि सञ्चालन नगरेपछि खारेजी प्रक्रिया सुरु गर्नुपरेको कार्यालयले जनाएको छ ।
सहकारी ऐन ०४८ को दफा ३४ अनुसारको विवरण रजिस्ट्रारसमक्ष पेस नगरेकाले दफा ३५ अनुसार सोधपुछ गर्दा तथा दफा ३६ अनुसार निरीक्षण अनुगमन गर्दासमेत संस्था निष्क्रिय रहेको पाइएकाले उक्त ऐनको दफा ४१ को उपदफा ३ बमोजिम दर्ता खारेज गर्ने संस्थाहरूको नाम प्रकाशित गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
सहकारी संघ/संस्था दर्ता, सञ्चालन, लेखा परीक्षण अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, ०६८ ले प्रारम्भिक सहकारी संस्थाले असोज मसान्त, जिल्ला सहकारी संघले कात्तिक, केन्द्रीय सहकारी संघले मंसिर र राष्ट्रिय सहकारी संघले पुसभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया