आन्दोलन छाडेर सहमतिमा आउनु पर्छ

काठमाडौ, २९ जेठ । कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङले मुलुकको विद्यमान राजनीतिक र संबैधानिक संकटलाई प्रमुख राजनीतिक दलहरुले सहमतिमा निकास दिनु पर्ने बताएका छन् । नेतृत्वले समयमा निर्णय लिन नसके मुलुक राजनीतिक मुडभेडमा जाने उनले दाबी गरे ।
राजधानीस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै गुरुङले राजनीतिक दलहरुको पछिल्लो गतिविधिले मुलुक मुडभेड तर्फ उन्मुख भएको बताए । राजनीतिक नेतृत्वको सुझवुझ पूर्णनिर्णयले मात्र मुडभेड रोक्न सकिने उल्लेख गर्दै उनले भने,‘ मुडभेड बढ्दै गयो भने मुलुक विखण्डन हुन्छ ।’
आन्दोलन भन्दा मुलुकमा दलहरुबीच सहमति आवश्यक रहेको उल्लेख गर्दै नेता गुरुङले कांग्रेस, एमाले सहितका राजनीतिक दलहरु आन्दोलन छोडेर सहमतिमा आउनु पर्ने बताए । काम चलाउ सरकारको हैसीयतमा रहेका प्रधानमन्त्रीको कांग्रेस एमाले राजीनामा मागेको प्रति उनले असन्तुष्ठी जनाए ।
‘अहिले संघर्ष गर्ने समय होइन,’ गुरुङले भने, ‘कांग्रेस, एमालेसहितका दलहरुले आन्दोलन छोडेर मुलुकलाई सहमतिको बाटोमा अघि बढाउनु पर्दछ ।’
गुरुङले सरकार बाहिर रहेका राजनीतिक दलहरुले नयाँ सरकारका लागि आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार तोक्नु पर्ने बताएका छन् । सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने उमेदवार कांग्रेस एमालेसहितका राजनीतिक दलले तोक्न नसकेको उनको भनाई थियो ।
राष्ट्रपतिले सहमति गरेर अघि बढ्न बाटो देखाइसकेको उल्लेख गर्दै उनले भने, ‘सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले बाटो देखाउनु भएको छ, सोही अनुसार अघि बढ्नु पर्दछ ।’
सरकार बाहिर रहेका राजनीतिक दलहरुले आफ्नो तर्फबाट केही नगरेको तर राष्ट्रपतिको मात्र मुख ताकेर बसेको उनले आरोप लगाए । राष्ट्रपतिलाई विवादमा नतान्ने राजनीतिक दलहरुलाई आग्रह गर्दै राष्ट्रपति पनि विवादमा परेर जारी संकटको समाधान खोज्न कठिन हुने उनले दाबी गरे ।
‘बल अब राजनीतिक दलहरुको कोटमा छ,’ उनले भने,‘ राष्ट्रपतिलाई अफ्ठेरोमा पार्नु हुन्न, राजनीतिक दलहरुले मुलुकलाई निकास दिन नसके भोली पनि राष्ट्रपतिले निकास दिने ठाउँ राखिदिनु पर्दछ ।’
नेता गुरुङले पार्टी नेतृत्वले अन्य राजनीतिक दलको लहैलहैमा कांग्रेसले जातीय संगठन बनाएमा असन्तुष्टी जनाए । उनले विचार, सिद्धान्त भन्दा पदका लागि मात्र राजनीति गर्ने परम्परा बसेको आरोप लगाए ।
‘२००७ सालमा म कांग्रेसमा गुरुङ भएर आएको होइन,’ उनले भने, ‘कांग्रेस भएर आएको हुँ ।’
२०१६ साल देखि नै मुलुकमा जातीय पार्टीहरु स्थापना भएको उल्लेख गर्दै नेता गुरुङले जातीय राज्य भन्दा सबैलाई अवसर दिनु पर्ने धारणा राखे । मुलुकलाई निकास दिन संघीयताको विषय तत्काललाई थाती राखेर अघि बढ्नु पर्ने उनले बताए ।
‘अहिले जातीय राज्य होइन, पिछडिएकालाई सरकारले उपयुक्त अवसर दिनु पर्दछ,’ गुरुङले भने,‘ संघीयता के हो ? कसरी जाने भन्ने विषयमा लामो छलफल जरुरी भएका छ ।’

प्रतिक्रिया