सहकारी व्यवस्थापन हस्तान्तरण


काठमाडौं, २९ जेठ । रसुवाको भोर्ले र धैबुङमा साना किसान सहकारी संस्थाको व्यवस्थापन हस्तान्तरण गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले ती सहकारीको व्यवस्थापन हस्तान्तरण गरेका हुन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडद्वारा रसुवाको धैवुङ र भोर्लेमा कार्यक्रम सञ्चालन गरेको थियो । डा. खतिवडाले आफू पनि किसान परिवारबाटै हुर्केकाले कृषकबीच उभिन पाउँदा गौरवको अनुभूति हुने बताए ।
‘सहकारिताका माध्यमबाट सामाजिक सदभाव बलियो भएको छ,’ गभर्नर खतिवडाले भने, ‘कर्मचारी र राजनीतिक क्षेत्रले पनि सहकारीबाट सामाजिक सदभाव कायम राख्न सिक्नु पर्छ ।’ सहकारी र किसानको क्षमता बलियो रहेकाले रसुवामा सहकारी गठन हुनुपर्ने उनले बताए ।
कृषि व्यवसायमा विभिन्न जोखिम देखिने हुँदा किसानलाई पशु स्वास्थ्य बिमा आवश्यक रहेको उनको भनाइ थियो । खतिवडाले मुलुकमा ऊर्जा संकट रहेको, ७० प्रतिशत मानिस कृषि पेसामा लागेको, कृषिमा लाग्ने मानिसमध्ये आधाभन्दा बढी साना किसान रहेका बताए ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले सहकारीले विशेषगरी मासु तथा तरकारीजन्य व्यवसायमा ऋण प्रवाह गर्ने गरको बताए । ग्रामीण किसानका लागि सहकारी वित्तीय स्रोतको भरपर्दो र सहज माध्यमका रूपमा लोकप्रिय रहेको धारणा उनको थियो । सहकारीले विकासको मूल प्रवाहमा समाहित हुन नसकेका महिला, तराईका चमार, जंगलका राउटेलगायत सबैलाई ऋण उपलब्ध गराएर आत्मनिर्भर र स्वावलम्बी बनाएको दाबी पनि पाठकले गरे ।
गभर्रनर खतिवडाले साना किसान सहकारी संस्था धैवुङ र भोर्लेका अध्यक्ष क्रमश: विष्णुप्रसाद पौडेल र टीकाप्रसाद देवकोटा तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक रुद्र भट्टराईलाई प्रमाणपत्र प्रदान गरेका राष्ट्र बंैकले जनाएको छ ।
यसैबीच गभर्नर डा. युवराज खतिवडालगायतको टोलीले धादिङ र नुवाकोट जिल्लास्थित साना किसानद्वारा सञ्चालित व्यावसायिक परियोजनाको अवलोकन गरेका छन् । धादिङको नौविसेमा कृषक हेमलाल श्रेष्ठले गरेको ग्ल्याडियस जातको फूल खेती, साना किसान कृषि सहकारी संस्था लि., कृषक जनकप्रसाद रिजालद्वारा गरिएको घ्युकुमारीको खेती, नुवाकोट जिलिङस्थित माछापालन, गाईपालन र कोल्ड स्टोरेजको अवलोकन गरको पनि राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया