डेंगुको डर

गर्मी मौसमको सुरुआतसँगै लामखुट्टेको संख्या र दुष्प्रभाव झन्झन् बढ्दै छ । लामखुट्टेको विषालु टोकाइसँगै तराई तथा पहाडी जिल्लामा विभिन्न रोगका बिरामी बढिरहेका देखिन्छन् । लामखुट्टेको टोकाइबाट लाग्न सक्ने विभिन्न रोगमध्ये एक हो– डेंगु । वर्षात्को सुरुआतसँगै डेंगुको खतरा बढ्छ ।
चितवनलगायत तराईका केही जिल्लाका मानिसमा यस वर्ष पनि यो रोगको संक्रमण देखिसकिएको छ । स्वास्थ्यसेवा विभागले जिल्लाहरूमा रोकथामका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरका अनुसार स्वास्थ्यकर्मीलाई उच्च सतर्कतामा राखिएको छ । जोखिममा रहेका जिल्लामा आवश्यक औषधिदेखि जनशक्ति पर्याप्त मात्रामा व्यवस्था गरिएको उनले बताए । दुई वर्षअगाडि चितवन, बारा, पर्सा, नवलपरासी, कैलाली, रूपन्देहीलगायतका २४ जिल्लामा डेंगु महामारीकै रूपमा फैलिएको थियो । त्यति बेला सरकारले बेलैमा पर्याप्त सतर्कता नदेखाएकाले पीडितको संख्या बढेको थियो । दुई दर्जनबढीले ज्यान गुमाए । त्यही अवस्था आउन नदिने मन्त्रालय यसपालि विशेष सतर्क भएको हो । सतर्कताका बीच पनि चितवन, रूपन्देही र भैरहवामा रोगी भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगुका बिरामी उपचारका लागि आएका बताइएको छ ।
वर्षात्को सुरुआतमै देखिएको यो संकेतले यसपालि पनि प्रकोप निम्त्याउन सक्ने जोखिम बढेको चिकित्सकहरू बताउँछन् । वरिष्ठ डेंगुरोग विशेषज्ञ डा. वासुदेव पाण्डेका अनुसार पछिल्ला दिनमा रोगको संक्रमण देखिएलगत्तै आवश्यक कदम चाल्न सकिएको पाइएन ।
‘वर्षा सुरु भएदेखि नै दैनिक रूपमा रोगीको संख्यामा बढिरहेको छ,’ डा. पाण्डेले भने, ‘अब पनि आवश्यक कदम नचाल्ने हो भने यसले ठूलै महामारीको रूप लिन सक्दछ ।’ गर्मी बढी हुने तराईका जिल्लामा देखिएको एडिस एजिपटाइप जातको पोथी लामखुट्टे अहिले काठमाडौं र अन्य पहाडी जिल्लामा पनि देखापर्न थालेको डा. पाण्डेले जानकारी दिए । ‘त्यसैले काठमाडौंमा पनि सचेतता अपनाउन जरुरी भइसक्यो’ –उनले भने । रोग नियन्त्रण महाशाखाका निर्देशक डा. ठाकुर घरमा रहेको पानी, गमला, टायर मर्मत केन्द्र, एयर कन्डिसनजस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले सर्वसाधारण सचेत रहनुपर्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयबाट मात्र रोग नियन्त्रण गर्न नसकिने उल्लेख गर्छन् । ‘सहरका सबै लामखुट्टे सखाप पार्न सकिँदैन,’ डा. ठाकुरले थपे– ‘त्यसो गर्नुभन्दा यसले फूल पार्ने र बस्ने ठाउँ नै नष्ट पारिनुपर्छ ।’
नेपालले आधिकारिक रूपमा सन् २००६ को नोभेम्बरमा डेंगु देखिएको जनाएको थियो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेंगु संक्रमणपछि शरीरको रगत जम्ने (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । रगतको प्लेटेलेटस् नष्ट हुँदा हुने यो प्रक्रियाले घातक रूप लिँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । प्लेटेलेट्सले शरीरमा रक्तश्राव रोक्नमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । डा. पाण्डेका अनुसार यो भाइरस फैलाउने एडिज लामखुट्टेले दिउँसै टोक्छ, यसबाट जोगिनु नै उत्तम उपाय हो । औलो उत्पन्न गर्ने लामुखुट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्ने डा. पाण्डेले जानकारी दिए ।
डेंगुको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा भने फैलिँदैन । संक्रमण भएको तीनदेखि १४ दिनभित्र लक्षण देखिन्छ । लक्षण एकभन्दा बढी हुन सक्छ । चिसो लाग्नुका साथै ज्वरो आउनु, टाउको, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी लाग्नु, वान्ता हुनु, छालामा बिमिरा देखिनु, रगत बग्नु वा रगतको ‘र्‍यास’ देखिनुलगायत यसका लक्षण हुन् । यस्तोमा रक्तचाप सामान्यभन्दा धैरै कम हुन सक्छ । असाध्य कमजोरी महसुस हुन्छ र भोक कम लाग्छ । डेंगु पनि दुई प्रकारका देखिएका छन्– क्लासिक र हेमोरेजिक । क्लासिक सामान्य प्रकारको डेंगु हो । यो आफैँ निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर, हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ र बेलैमा उचित उपचार नभए मृत्यु हुन सक्छ । वयस्कको दाँजोमा बच्चा र बूढापाकामा यो रोगको प्रकोप बढी देखिन्छ ।
‘डेंगु रोगको कुनै खास औषधि छैन,’ रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुर भन्छन्, ‘ज्वरो कम गर्न प्यारासिटामोल खानुपर्छ, एस्प्रिन खानु हुन्न ।’ डेंगु संक्रमितहरूले आफूलाई रोग निको पार्नुका साथै अरूलाई यो रोग नसार्ने प्रक्रिया अपनाउनुपर्छ । यद्यपि यो मानिसबाट मानिसमा सर्दैन । चिकित्सकले बताएको उपचार प्रक्रिया अपनाउनुका साथै अरूलाई रोग नसार्न संक्रमित व्यक्तिले लामखुट्टेको टोकाइबाट बँिच्नुपर्छ । झुलभित्र सुत्नुपर्छ । किनभने रोगीलाई टोकेको लामखुट्टेले फेरि अर्को व्यक्तिलाई टोक्दा भने यो रोग सर्न सक्छ ।
चिकित्सकहरूका अनुसार डेंगु सार्ने लामखुट्टेबाट जोगिन खुला ठाउँमा पानी जम्न दिनुहुन्न । भाँडामा पानी जम्मा गर्नुहुन्छ भने छोपेर राख्नुपर्छ, ताकि लामखुट्टेले फुल नपारोस् । खुला ठाउँ अर्थात् गमला, खाडललगायतमा पानी जम्न दिन हुँदैन । घरको नाली बगेको हुनुपर्छ । झ्याल र ढोकामा तारको जाली लगाउनुपर्छ । घरभित्र लामखुट्टे आउन नदिन मध्याह्नपछि झ्यालढोका बन्द राख्नुपर्छ । छरछिमेकीलाई लामखुट्टे फैलनबाट रोक्न प्रोत्साहित गर्नुपर्छ । डेंगु देखिएको क्षेत्रमा बस्नुपरेमा वा त्यस ठाउँमा जाँदा सेतो हलुको रंगको पूरा बाहुला भएको लुगा लगाउनुपर्छ ।

प्रतिक्रिया