‘एक रुपियाँमा गाडी बोकिन्थ्यो’

हेटौंडा, २९ जेठ । अहिले हेटौंडा काठमाडौंका लागि चारभन्दा बढी वैकिल्पक मार्ग र राजमार्ग छन् । दैनिक ६ सयभन्दा बढी साना गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फर्पिङ हुँदै काठमाडौं गुड्छन् भने वीरगन्ज भन्सारबाट छुटेका गाडी पनि दुई सयभन्दा बढी फाखेल, सिस्नेरी, पालुङ हुँदै काठमाडौं भित्रिन्छन् । मानिसले गाडी बोकेर काठमाडौं पुर्‍याउँथे भन्दा धेरैले नपत्याउन सक्छन् तर ती सबैलाई गतिलो जवाफ हुन्– धनबहादुर गोले । जो परिवार पाल्नकै लागि भीमफेदीबाट काठमाडौं थानकोटसम्म गाडी बोकेर पुर्‍याउने काम गर्थे ।

वि. सं. १९९९ देखि २००१ सम्म भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर पुर्‍याइन्थे । राणाकालीन समयमा भारतको रक्सौलबाट ल्याइएका गाडी भीमफेदीबाट बाटोको अभावमा बोकेर काठमाडौंको थानकोटसम्म ल्याइन्थे ।
‘भीमफेदीबाट गाडी बोकेर १० दिनमा काठमाडौं थानकोट पुर्‍याइन्थ्यो,’ ८८ वर्षीय धनबहादुर गोलेले भने, ‘१० दिनको ज्याला एक रुपियाँ पाउँथेँ ।’ भीमफेदीका गोलेले भने, ‘गाडीका पांग्रा फुकालेर सल्लाको नल बनाएर गाडी बोकेर लैजान्थ्यौँ ।’
गाडी बोक्नेमध्येका एकजना गोले आफ्नो अतीत सम्झन्छन्, ‘ठूला गाडी बोक्न ६४ र साना गाडी बोक्न ३४ जना चाहिन्थ्यो ।’ भीमफेदीबाट गाडी बोकेपछि गढी, कुलेखानी पुग्न तीन दिन लाग्थ्यो । गोलेका अनुसार चित्लाङ पुग्न छ दिन लाग्थ्यो भने दसौं दिन थानकोट गोदाममा पुगेर गाडी बिसाइन्थ्यो ।
‘गाडी बोक्नु चानचुने थिएन,’ गोलेले सुनाए, ‘गाडी बोक्दा उकालोमा केहीले ठेल्ने र केहीले तान्ने गरिन्थ्यो ।’ ‘कतिपटक पिटाइ पनि खाइयो,’ उनले भने, ‘बोक्न नसक्दा नाइकेले कुट्थ्यो पनि ।’ गाडी बोक्ने अधिकांश जनजातिका थिए । ‘अरूले त बोक्न सक्दैनन्, सारै गाह्रो पो हुन्थ्यो,’ उनले थपे, ‘गाडी बोकेर कमाएको एक रुपियाँमा ५० पैसा खानामा सकिन्थ्यो ।’ त्यतिखेर गाडी बोक्ने अधिकांश मकवानपुरको मार्खु, फाखेल र चित्लाङका हुन्थे ।
२० वर्षको उमेरमा विवाह भएपछि परिवार पाल्नका लागि गोलेले गाडी बोक्ने काम सुरु गरेका थिए । उनले जुद्ध शमशेर, पद्मशमशेर र मोहन शमशेरसँग पनि भेट भएको बताए । अहिले घरमा सामान्य काम गर्न सक्ने गोलेले त्यतिखेर सँगै गाडी बोक्ने अधिकांश साथीहरू मरिसकेका र केही मात्र जीवित रहेको बताए । उनीहरूसँग कहिलेकाहीँ भेट हुने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया