माईखोलको किनारबाट सालको काठ बरामद

इलाम, २७ जेठ । इलामको इभाङ्गस्थित माइखोलाको किनारबाट ठूलो परिमाणमा सालको चिरान काठ प्रहरी र वन कार्यालयका कर्मचारीले फेला पारेका छन् ।
खोला किनारमा बेबारिसे अवस्थामा राखिएका तीन सय ५० थान सालको चिरान काठ सशस्त्र प्रहरी बेसक्याम्प दानाबारी र गजुरमुखी इलाका वन कार्यालय सुखानीका कर्मचारीको संयुक्त गस्ती टोलीले फेला पारेको सशस्त्र प्रहरी बल दानाबारीले जनाएको छ ।
अन्दाजी दुई लाख मूल्य पर्ने ती काठ दानाबारीस्थित इलाका वन कार्यालयमा राखिएको सशस्त्र प्रहरी बलका निरीक्षक सुदनराज गिरीले बताए । काठ स्थानीय केही सामुदायिक वन उपभोक्ता समितिको मिलेमतोमा बाहिर निकासा गर्न राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दाङमा हराएको गाडी इलाममा भेटियो

यसैबीच, केही समयअघि दाङ्गबाट हराएको महेन्द्र कम्पनीको एक ट्याक्सी इलाम नगरपालिकास्थित शेराबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित मालिकलाई बुझाएको छ ।
दाङकै गाडी मालिक प्रमोदकुमार सोनीलाई गाडी जिम्मा लगाएको प्रहरीले जनाएको छ । रा १ ज ३६९ नम्बरको गाडी प्रहरीले पक्राउ गरी शनिबार गाडी मालिकलाई बुझाएको सशस्त्र प्रहरीका नायव उपरीक्षक किरणकुमार ढुङगानाले बताए ।
‘आफ्नो गाडी इलाममा पुगेको जानकारी पाएपछि मैले जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी गरे,’ गाडीका मालिक सोनीले भने, ‘प्रहरीको सक्रियताले चाँडै भेटिएयो ।’
गाडी विभिन्न जिल्लामा किनबेच हुँदै इलाममा आइपुगेको प्रहरीले बताएको छ । हाल भूपेन्द्र थापाले खरिद गरेको अवस्थामा गाडी फेला पारेको हो ।
प्रहरीका अनुसार गाडी खरिद र बिक्री गर्ने दुवैले प्रकृयागत ढंगबाट भने किनबेच नगरेको पाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक ढुङगानाले बताए ।

प्रतिक्रिया