सहकारी ‘कर्जा सूचना केन्द्र’ सञ्चालन


काठमाडौं, २८ जेठ । सहकारी कर्जा सूचना केन्द्र सञ्चालनमा आएको छ । प्रभु कोअपरेटिभ सर्भिस लिमिटेडले सूचना केन्द्र सञ्चालनमा ल्याएको हो । सो सहकारीले एक कार्यक्रमको आयोजना गरी सेवा सुरु गरेको हो । संस्थाले राष्ट्रिय सहकारी बैंकसँग समन्वय गरी अन्तरसहकारी रकम स्थानान्तरण (मनी ट्रान्सफर), अन्तरसहकारी भुक्तानी, पुर्जाको फछ्र्यौटसमते प्रारम्भ गरेको छ ।
कार्यक्रममा सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले सरकारले गरिबीदर घटाउनका लागि सहकारी माध्यमबाट कार्यक्रम ल्याउन लागेको बताए । ‘गरिबी निवारणमा सहकारी उपयुक्त माध्यम हो,’ मन्त्री ढकालले भने, ‘कृषि क्षेत्रको विकासले अर्थतन्त्र बलियो हुने भएकाले सहकारिताबाट कृषिमा जोड दिनु पर्छ ।’
अन्तर्राष्ट्रिय सहकारी वर्ष ०१२ भित्र नै राष्ट्रिय सहकारी नीति आउने उनले बताए । ‘सहकारीमा समस्या धेरै छन् ।’ मन्त्री ढकालले भने, ‘अनुगमन तथा नियमनमा मन्त्रालय जोड दिने छ ।’ सहकारीको व्यवस्थापन गर्न मन्त्रालयले आइटी बैंक स्थापना गर्न लागेको उनले जानकारी गराए ।
देशभरका सहकारी संस्थाले गरेको कर्जा प्रवाहबारे जानकारी हुने संस्थाले जनाएको छ । अत्याधुनिक सफ्टवेयरको प्रयोग गरी भुक्तानी पुर्जाको फछ्र्याैट दुई मिनेटमै गर्न सकिने संस्थाका अध्यक्ष निर्वनप्रसाद भट्टचनले बताए । ‘देशको जुनसुकै सहकारी संस्थामार्फत पैसा पठाउन र झिक्न सकिन्छ,’ उनले भने, ‘सदस्यहरूले भररपुर सेवा लिन सक्नेछन् ।’
‘कर्जा सूचना केन्द्र स्थापनापछि कुनै पनि संस्थाले कर्जा प्रवाह गर्दा ऋणीबारे जानकारी पाउँछ,’ संस्थाका उपाध्यक्ष कुसुम लामाले भने, ‘ऋणीका बारेमा यथार्थ जानकारी नहुँदा धेरै संस्थाबाट ऋण लिने गरेको र नतिर्ने प्रवृति बढेको छ ।
अन्तरसहकारी भुक्तानी पुर्जाको फछ्र्याैटअन्तर्गत एक सहकारी संस्थाले जारी गरेको भुक्तानी पुर्जालाई अर्को सहकारी संस्थाले फछ्र्याैट गर्न सक्ने भएकाले सहकारीका सदस्यले आफ्नो सहकारीमा जम्मा गरेको रकमलाई अर्को सहकारी संस्थाबाट पनि सजिलै झिक्न सकिने संस्थाले जनाएको छ । यो केही समयअघि प्रभु मनी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र इसिएस कोअपरेटिभ सर्भिस मर्ज भएको हो ।

प्रतिक्रिया