ओपेकको कोटा प्रणाली उल्लंघन भयो : इरान

तेहरान, २८ जेठ । ओपेकका सदस्य साउदी अरब, कुवेत तथा संयुक्त अरब इमिरेट्सले ओपेकले तय गरेको कोटा प्रणाली उल्लंघन गरी अधिक कच्चा तेल उत्पादन गरेको आरोप इरानले लगाएको छ । यी मुलुकले अधिक तेल निकालेर विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न नदिएको आरोप इरानले लगाएको छ ।
ओपेकका लागि इरानी प्रतिनिधि मोहम्मद अली खताबीले अमेरिका तथा युरोपेली संघको दबाबमा परेर साउदी अरबले उत्पादन बढाएको बताएको इरानी समाचार संस्था इर्नाले उल्लेख गरेको छ । ओपेकको कुनै एक सदस्यमाथि प्रतिबन्ध लागेका बेला अन्य मुलुकले तेल उत्पादन बढाउनु गलत भएको उनले बताएका छन् । ओपकको एउटा सदस्यले अर्को सदस्यलाई हानि पुग्ने काम गर्न नहुने धारणा उनले व्यक्त गरेका छन् । पेट्रोल निर्यातक मुलुकको सङ्गठन ओपेकमा साउदी अरबपछि सबैभन्दा बढी तेल उत्पादन गर्ने मुलुक इरान हो । भियनामा हुने ओपेकको बैठकमा इरानले अरबले तेल उत्पादन बढाएको प्रसंग उठाउने अपेक्षा गरिएको छ । ओपक सदस्यलाई कोटाभन्दा बढी तेल उत्पादन नगर्न इरानले दबाब दिने अपेक्षासमेत गरिएको छ ।
अमेरिका तथा इजरायलले इरानको विवादास्पद पारमाणविक केन्द्रमा आक्रमण गर्ने आशंका बढेपछि तेलको मूल्य विश्वव्यापी रूपमा बढेको थियो । पछि इरानले बेलायत, चीन, फ्रान्स, रुस, अमेरिका तथा जर्मनीसँग वार्ता गर्ने बताएपछि तेलको मूल्य घटेको थियो । (एएफपी)

प्रतिक्रिया