राजमार्गमा मोबाइल गुणस्तर सर्भे


काठमाडौं, २८  जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकका लिंकरोड तथा सहायक राजमार्ग क्षेत्रमा मोबाइल सिग्नलको गुणस्तर परीक्षण थालेको छ । सेवाप्रदायकले प्रदान गर्ने सेवाको गुणस्तर कमजोर रहेको गुनासो आएपछि नियामक निकायले गुणस्तर मापन गर्न लागेको हो । गत वर्ष राजमार्ग तथा आसपासका क्षेत्रमा मोबाइलको गुणस्तर मापन गरेको प्राधिकरणले यसपटक लिंकरोड र सहायक राजमार्गमा परीक्षण गरिने जनाएको छ ।
‘सेवाको स्तर कमजोर रहेको गुनासो आइरहेको छ । त्यसैले मापदण्डअनुसारको सेवा छ कि छैन भनेर परीक्षण गर्न लागिएको हो,’ प्राधिकरणका एक अधिकारीले भने । परीक्षणका क्रममा टावरको सिग्नल तथा आवाजको गुणस्तर अध्ययन गरिने उनले बताए । प्राधिकरणले सेवा प्रदायकका लागि न्यूनतम गुणस्तर मापदण्ड तोकेको छ तर तोकिएको मापदण्डअनुसारको सेवा नभएको गुनासो उपभोक्ताले गर्दै आएका छन् ।
अध्ययनका क्रममा पूर्व–पश्चिम राजमार्गसँग जोडिने सहायक राजमार्ग र लिंकरोड पहिलो प्राथमिकतामा पर्नेछन् । ताप्लेजुङ–पाँचथर, वीरगञ्ज–कलैया, पोखरा–बाग्लुङ–म्याग्दी–बुटवल–पाल्पा र धनगढी–डडेलधुरा–दिपायल सडकखण्डमा गुणस्तर परीक्षण गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । त्यसैगरी अरनिको राजमार्गसँग जोडिने विभिन्न लिंक रोडमा पनि सर्भे गरिनेछ । गत वर्ष प्राधिकरणले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–काँकडभिट्टा, पृथ्वीराजमार्गको काठमाडौं–पोखरा, पूर्व–पश्चिम राजमार्गको नारायणगढ–कञ्चनपुर र अरनिको राजमार्गको काठमाडौं–तातोपानी खण्डमा गुणस्तर सर्भे गरेको थियो । अधिकांश सेवा प्रदायकको सेवा सन्तोषजनक देखिएको थिएन ।
मोबाइल सेवाप्रदायक कम्पनीले प्रदान गर्ने मोबाइल सेवाको गुणस्तर कमजोर रहेको गुनासो विगत केही वर्षदेखि उपभोक्ताले गर्दै आइरहेका छन् । यसै गुनासोका आधारमा प्राधिकरणले सेवाको गुणस्तर मापन गर्दै आएको छ । गत वर्षको नतिजाबाट मोबाइल सेवाको गुणस्तर निकै कमजोर रहेको पाइएको थियो ।
सामान्यतया बाक्लो जंगल भएका राजमार्ग क्षेत्र तथा त्यस वरपरका बस्तीहरूमा सेवाको गुणस्तर कमजोर पाइने गरेको छ । कतिपय क्षेत्रमा सिग्नलको लेभल राम्रो देखिए पनि सम्पर्क हुनसक्ने उचित गुणस्तर नदेखिएको थियो । सिग्नल नपुगेको ठाउँमा वा बिटिएस टावरसमेत नपुगेका ठाउँमा पनि कम्पनीहरूले सिम वितरण गर्ने गरेका छन् ।

प्रतिक्रिया