पाहुना हाँसहरू


‘ओहो † कति बाक्लो हिउँ परेको । अबचाहिँ यहाँ टिक्न मुस्किल छ,’ सुनजुरेले भन्यो । उसकी पोथीले पनि समर्थन जनाउँदै भनी, ‘अब भोलि पर्सि नै बाटो नतताइ हुन्न, खानेकुरा पनि पाइन छाडिसक्यो ।’
सुनजुरेले मालक, कालीजुरे, देवहाँस र स्वर्णनयनहरूसँग सल्लाह मिलायो । अनि उनीहरूले दक्षिणतिर न्यानो ठाउँमा जाने सुर कसे । आज हिँड्ने दिन । उनीहरू निकै चटारोमा छन् ।
‘बुबा आमासँग पोहोर साल गएको थिएँ,’ सुनजुरेले आफ्नो त्यो यात्रा सम्झिरहेको थियो ।
‘आहा † कति सुन्दर ठाउँ, सफा र न्यानो तलाउ । खानेकुरा पनि प्रशस्तै पाइने । मलाई त यता फर्कने मनै थिएन । सबैजना फर्केपछि आफू मात्र कसरी बस्नु † तर, उताका रैथाने सिलसिले, खोयाहाँस, कलहाँस, नकटा र चखेवाचखेवीहरूले पनि बस, बस भनेर मरिहत्ते गरेका थिए । आगौँ आउँछु भनेर फुत्केको । बल्ल जान पाइने भो ।’
सुनजुरेका कुरा उसका छोराछोरीले सुनिरहेका थिए । छिमेकीहरू पनि उसका यात्राबारे चासो दिइरहेका थिए ।
‘बाबा मलाई त त्यो ठाउँमा कहिले पुगौँ जस्तो भैरहेछ,’ जुरेलीले भनी ।
साइबेरियाको घाँसे मैदानमा आज ठुलै हल्लिखल्ली छ । हिउँद बिताउने न्यानो ठाउँमा जान सबै आ–आफ्ना सरसामान बटुल्दै छन् ।
‘बाले भोलि जाने भनेदेखि नै रातभरि निद्रै लागेको छैन,’ जुरेलीले भनी । साँच्चै सबैका मनमा खुल्दुली भैरहेको थियो, ‘कस्तो होला त्यो न्यानो, रमाइलो ठाउँ ?’ चाँचाँ चुँचुँको आवाजले निदाइरहेकाहरूको पनि निद्रा खुल्यो ।
सानाठूला र भुराभुरी सबै उठिसकेपछि यात्राको तयारी भयो । सबैजना लामबद्ध भई बसे । सबैभन्दा बूढापाका सुनजुरेबाट कतिखेर उड्ने संकेत पाइएला भनेर सबै पर्खिरहे । नभन्दै एकैछिनमा सुनजुरेबाट उड्ने इसारा आयो । उनले भने, ‘लौ हामी पनि उडौँ । विचार पुर्‍याएर एकनासले उड्नुपर्छ । बाजसाजले आक्रमण गर्लान् । होस् गर्नू । धैर्य नगुमाउनू । लौ सुरु..।’
इसारा पाउनासाथ सबै उडे । हाँसहरूको खुला पखेटाले पूरै आकाश ढाकेको देखियो । जुरेली आफ्ना साथीहरूसँग रमाइरहेकी छ । नयाँ ठाउँ र नयाँ साथी भेट्न उसको मन चौ चौ भैरहेछ ।
सुनजुरे साथीहरूसँग नयाँ ठाउँका बारेमा कुरा गर्दै थियो । बाटोको पहिचान पनि गराइरहेको थियो । बाटामा नयाँ न्यानो ठाउँका लागि उडिरहेका अरू पनि अनगिन्ती चराहरू भेटिए । बाटोमा कहीँ गगनचुम्बी घरहरू देखिन्थे । कहीँ सेता हिमाल टलल टल्किरहेका थिए ।
‘हामी कता गइरहेका छौँ बाबा ?,’
जुरेलीले सोधी ।
‘हामी दक्षिणतिर गइरहेका छौँ छोरी ।’
‘अब कति टाढा छ बाबा, हामी पुग्ने ठाउँ ?’ जुरेलीले अर्को प्रश्न गरी ।
‘धेरै छ नि नानु, अहिले त आधा बाटो पनि भएको छैन । अझै दुई दिनजति लाग्छ ।’
सुनजुरेले जवाफमा भन्यो ।
‘ओहो † मलाई त थकाइ लागिसक्यो । कसरी अझै दुई दिन उड्ने होला ?,’ जुरेलीले अत्यास मानी ।
‘आत्तिनु हुन्न छोरी, बिस्तारै उड्दै जाऊँ, पुगिहालिन्छ नि । उहाँ पुगेपछि कस्तो रमाइलो हुन्छ । सारा थकाइ बिर्सिइन्छ,’ सुनजुरेले सान्त्वना दिँदै भन्यो ।
उड्दाउड्दै जुरेलीका पखेटा फतक्कै गले । उसले साह्रै कमजोर महसुस गरी । ऊ अरूभन्दा तल तल हुन थाली । निकैबेरसम्म उसलाई तलतल भएको कसैले देखेन ।
‘जुरेली खोइ त, कता छे ?,’ हुलमा नदेखेपछि पुन्टेले खोजी गर्‍यो । झुन्डबाट हटेर तल पुगेकी छोरीलाई देखेर ऊ सुरुमा त आत्तियो पनि ।
‘ल ल, छोरी, धेरै तल नजाऊ, नजाऊ । समूह छाडेर जानु हुन्न । आऊ बिस्तारै समूहमै आऊ,’ सुनजुरेले भन्यो ।
जुरेलीले बाबुले भनेको केही पनि सुनिन । झनझन् तल तल पो पर्दै गई ।
‘लौ लौ जुरेली त निकै थाकिछ । माथि उड्न सक्दिनजस्तो छ । झन्झन् तल तल पो झर्दै छे । आजको रात यतै बास बस्नुपर्छ जस्तो छ,’ सुनजुरेले सबैलाई तल झर्ने संकेत गर्‍यो ।
सबै हाँसहरू बिस्तारै तल झरे । अनि जंगल छेउको सानो तलाउमा रात बिताउन भनी बसे । लामो यात्राले थाकेका भर्खरै उड्न थालेका हाँसहरूले थकाइ मारे र आराम महसुस गरे । जुरेलीले पनि आफूमा नयाँ ज्यान भरिएको अनुभव गरी ।
फेरि भोलिपल्ट यात्रा सुरु भयो । आकाशमा कावा खाँदै उडेका हाँसहरूको झुन्ड झन् सुन्दर देखियो । प्रत्येकका हृदयमा नयाँ गन्तव्यमा पुग्ने र नयाँ साथीहरूसँग रमाउने मीठो सपना जुर्मुराइरहेको थियो ।
‘लौ है हाम्रो गन्तव्य आउन लाग्यो,’ एकनासको यात्रामा छाएको शून्यता तोड्दै सुनजुरेले भन्यो, ‘अब त एक दिनमै हामी पुग्छौँ । लौ हेर त्यो अग्लो हिमाल सगरमाथा हो । यो विश्वकै अग्लो शिखर हो । यो नेपालमा पर्छ । नेपालमा पाइने न्यानो मायाले नै हामी यहाँ पटकपटक आउने गरेका हौँ ।’
सुनजुरेका कुरा सबैले सुनिरहेका थिए र ऊ अझै फतफताइरहेको थियो, ‘नेपालमा हाम्रा लागि उपयुक्त धेरै ताल छन् । तीमध्ये जगदीशपुर रामसार एकदम रमाइलो छ । हामी जाने त्यहीँ हो ।’
उता जगदीशपुरमा पनि अर्कै रौनक छ ।
‘हाम्रा पाहुना भोलितिर आइपुग्छन् । लौ छिटो स्वागत सत्कारको तयारी गर है ?’ सिलसिले हाँसले सबैलाई भनी, ‘ध्वजापताका राम्ररी सजाऊ, माला पनि गाँस्नुपर्छ, लौ कोही फूल टिप्नतिर लाग ।’
भोलिपल्ट जगदीशपुरका सबै रैथाने हाँसका आँखा बिहानदेखि नै आकाशतिर छन् ।
‘लौ † पाहुना आए रे † पाहुना आए रे †,’ हल्लिखल्ली मच्चियो ।
खुसी हुँदै चमेली कराई । उसकी आमा सिलसिलेले पनि आकाशतिर आँखा तानी ।
‘ए † हो त रहेछ, लौ सबै सामान ठीक पार है † पाहुना आई पो आइसकेछन् । उसको छटपटी शान्त भएको छ ।’
कोही खानेकुरा जोहो गर्न थाले । कोही स्वागत गर्ने सामान बटुल्न थाले । कोही माला लिएर तयार भएका छन् । चमेली पनि दंग छे नयाँ साथी पाउनेमा ।
फुरुंग पर्दै यताउता गर्दै छे ।
पाहुना हाँस आउने क्रम सुरु भयो । सबै लामबद्ध भएका छन् स्वागतका लागि । भव्य स्वागत भयो । ताल ध्वजापताकाले सजिसजाउ थियो । मान्छे पनि उनीहरूको स्वागत समारोह हेर्न तालवरिपरि जम्मा भएका थिए । उनीहरूलाई बाधा पर्ला भनेर सबै मान्छे चुपचाप हेरिरहेका थिए ।
चमेली र जुरेलीको जोडी निकै जम्यो । चमेलीले जुरेली र उसको साथीलाई नेपालका थुप्रै ठाउँ घुमाई । रमाइला ठाउँ घुम्न पाएकामा जुरेली निकै खुसी भई ।
समय त कति छिटै बितिसकेछ । वर्षायाम सुरु हुँदै गर्दा उनीहरू आफ्नो वासस्थान फर्कने समय पनि आयो ।
आज उनीहरू फर्कने दिन । सबैका आँखामा आँसु देखिन्छ । चमेली र जुरेलीको त विछोडिनु पर्दा रुवावासी नै चल्दै छ । पाहुना फर्केपछि ताल पनि सुनसान हुँदै थियो । फेरि आउने भए पनि बिछोडको पीडा दु:खदायी थियो ।
साइबेरिया पुगेर जुरेलीले उसका साथीहरूलाई नेपालमा पाएको आतिथ्यबारे अरू मुलुकमा गएका हाँसहरूलाई बताई । उसका कुरा सुनेर सबै हाँसहरूले भने, ‘अर्को वर्ष त हामी पनि नेपालै जाने ।’

प्रतिक्रिया