फेरि मुठभेडतर्फ मुलुक

संविधानसभा विघटन र नयाँ संविधानसभाको निर्वाचनको घोषणासँगै राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेको छ । आपसी संवाद, छलफल र सहकार्य गर्नुपर्ने बेलामा प्रमुख शक्तिहरूबीच भइरहेको ध्रुवीकरणले मुलुकलाई फाइदा गर्दैन । यो भनेको मुलुकलाई मुठभेड र अस्थिरतातर्फ लैजाने कदम मात्रै हो । लामो समयदेखि नेपाली जनता राजनीतिक अस्थिरता र शान्ति सुरक्षाको अभावले आक्रान्त बनेका छन् । यस्तो बेलामा अराजक तत्त्वहरू जसरी पनि मुलुकमा अस्थिरता र अशान्तिको वातावरण बनाउन चाहिरहेका हुन्छन् । नेपाली जनताको चाहना पनि मुलुकमा शान्ति स्थापना गर्दै जननिर्वाचित निकाय संविधानसभाद्वारा नयाँ संविधान बनाउने थियो । त्यसैले त जनआन्दोलन–२०६२/६३ नेपाली जनताले बलिदानीपूर्वक सडकमा ओर्लिएका थिए । त्यसैको फलस्वरूप, अढाई सय लामो राजतन्त्र सदाका लागि अन्त्य भएर मुलुकमा गणतन्त्र स्थापना हुन पुग्यो । दशकाँैदेखि नेपाली जनताले चाहेको संविधानसभा निर्वाचन त भयो तर नेताहरूको लाचारीपनका कारण आज संविधान नबनाईकन विघटन हुन पुग्यो । राजनीतिक दलका नेता सत्तालिप्सा र दलगत स्वार्थमा मात्रै तल्लीन रहे । संविधानसभा विघटनापछि नयाँ संविधानसभाका लागि चुनावको घोषणा गरिएको छ । अन्य केही राजनीतिक दलहरू यसलाई असंवैधानिक कदम भन्दै आन्दोलनमा निस्किएका छन् । अहिले मुलुकसामु रहेका समस्या समाधान गर्ने विकल्प भनेको आपसी समझदारी नै हो । आवेगमा आएर सडकमा अराजक नारा, जुलुस लगाउँदा राजनीतिक दलहरूबीच अझै अविश्वासको संकट बढ्दै जान्छ । जसले गर्दा फेरि मुलुक मुठभेड र अस्थिरतातर्फ जान लागेको छ । अझै पनि मुलुकलाई दुर्घटनाबाट बचाउन सबै राजनीतिक दलका नेता एकठाउँमा आएर वार्ता, संवाद र छलफल गरेर सहमतिको वातावरण बनाउनुपर्छ । र, मुलुकलाई अकल्पनीय दुर्घटनाबाट जोगाउनैपर्छ ।

प्रतिक्रिया