कागजमै सीमित डाक्टरको दरबन्दी

धनगढी, २८ जेठ । बझाङका ग्रामीण भेगस्थित प्राथमिक स्वास्थ्य केन्द्रको दरबन्दीमा डाक्टर पुगेका छैनन् ।

०५३ सालमा स्थापना गरिएका देउलेक र रायल प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना डाक्टर रहने व्यवस्था गरिएको छ । तर दुवै स्वास्थ्य केन्द्र अहेवका भरमा सञ्चालन हुँदै आएका छन् । दरबन्दीअनुसार डाक्टर पठाइदिन जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य मन्त्रालय, विभाग, राजनीतिक दलका नेता तथा सरोकारवालालाई लिखित र मौखिक रूपमा अनुरोध गर्दा सुनुवाइ नभएको रायल गाविसका पूर्वजनप्रतिनिधि इन्द्रबहादुर भण्डारीले बताए ।
‘कि त दरबन्दी दिनु भएन, दरबन्दी दिइसकेपछि डाक्टर पठाउनुपर्ने हो,’ भण्डारीले भने, ‘डाक्टर नहुँदा सर्वसाधारणले सामान्य उपचारका लागि ठूलो धनराशि खर्च गरेर सदरमुकाम तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेको छ ।’ धेरै भनसुन र ताकेतापछि स्वास्थ्य मन्त्रालयले डा. रूपेश क्षेत्रीलाई देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको थियो तर क्षेत्रीले जिल्ला अस्पतालमा काज सरुवा मिलाएर एकपटक पनि देउलेक नपुगेको स्थानीय सतिष बोहराले बताए ।
‘डाक्टरको दरबन्दी छ भनेको सुनेको छु,’ रायलकी सम्झना मल्लले भनिन्, ‘कार्यालयमा अक्सर कार्यालय सहयोगी मात्र देखिन्छ ।’ रायल प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव दीपक मल्लले पनि डाक्टरको दरबन्दी रहेको थाहा पाए पनि अहिलेसम्म डाक्टर नआएको बताए । केन्द्रमा स्टाफ नर्स, हेल्थ असिटेन्टको दरबन्दी पनि रिक्त रहेको छ ।
बझाङ जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र एकजना डाक्टर तथा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रहेको भए पनि जिल्ला अस्पतालमा मात्र डाक्टर रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख राजेन्द्रप्रसाद खत्रीले बताए । डाक्टर पठाइदिन पटकपटक पत्राचार गरे पनि प्रतिक्रिया नआएको खत्रीले बताए ।

प्रतिक्रिया