डान्सबारका युवतीको विदेशमोह

काठमाडौं, २८ जेठ । झापाकी २१ वर्षीया रोजी कटुवाल ७ वर्षअघि काठमाडौं आएकी हुन् । आर्थिक अवस्था कमजोर भएकाले बाध्यतावश उनले डान्सबारमा काम थालिन् । नागरिकता र पढाइ नचाहिने भएकाले थोरै पैसामा ठमेलको टिनएज डान्सबारमा नाच्न मन्जुर भइन् ।

‘काम गर्न थालेपछि ग्राहकसँग जानैपथ्र्यो, नजाँदा कामबाट निकाल्छ भन्ने डर हुन्थ्यो,’ आफ्नो व्यथा पोखिन् उनले । एक वर्षअघि दाइ पर्ने दलालले उनलाई साउथ अफ्रिकाको डान्सबारमा काम गर्न जाने अवसर सुनाए । त्यहाँ गएपछि टन्न पैसा कमाइन्छ भन्ने लोभ देखाइएको थियो उनलाई । टिनएज बारमै काम गर्ने उनका धेरै साथी पनि विदेश गएर पैसा कमाएको सुनेकी हुनाले उनी स्वत: लोभिइन् । दलालले भनेअनुसार विभिन्न स्टाइलमा फोटो खिचाइन् ।
‘फोटो खिचाउने अरू पनि थिए, तर छनोटमा म मात्र परेँ,’ रोजी भन्छिन्, ‘मेरो फोटो अफ्रिकन साहुले मन पराएछ । अरूको अनुहार मंगोलियन भएका कारण उनीहरू नछानिएका रहेछन् । त्यहाँ मंगोलियनभन्दा पनि आर्यन अनुहारका केटीको बढी माग हुँदोरहेछ ।’
तीन महिनाको एक लाख रुपियाँ पाउने सर्तमा भिजिटिङ भिसामा डान्स गर्न रोजी साउथ अफ्रिका जाने भइन् । अफ्रिका जाने सबै प्रक्रिया दलालहरूले नै मिलाइदिए । पासपोर्ट पनि उनीहरूले नै बनाइदिए । दलालहरूले उनलाई सपिङ गर्न भने । नयाँनयाँ डिजाइनका कपडा किनिन् । पैसाको बिटो आँखामा नचाउँदै अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी रोजीलाई पासपोर्ट चेक गर्दै प्रहरीले भनिदिए, ‘तिमी त बेचिनेभयौ ।’
‘अनि पो झल्याँस्स भएँ,’ उनी भन्छिन्, ‘त्यसपछि बहाना बनाएर विमानस्थलको गेटबाटै भागेँ र बचेँ ।’ दलालहरूबाट यसरी दु:ख पाए पनि उनको पैसामोह हटेन । फेरि पनि डान्स गर्न विदेशै जाने इच्छा घटेको थिएन । त्यसपछि मासिक २० हजार रुपियाँमा गोवा जाने प्रस्ताव आयो र उनले स्विकारिन् ।
माया लामा नामकी युवतीसँग गोवातर्फ जाँदै गर्दा उनीहरूलाई गत २२ जेठमा थानकोटमा माइती नेपालले रोक्यो । रोजीले महिलाका लागि महिला मञ्च नेपालकी सिर्जना पुनलाई गोवा जान दिने व्यवस्था मिलाउन अनुरोध गरिन् । तर सिर्जनाको परामर्शबाट उनले यसपटक पनि आफू बेचिनबाट बचेको थाहा पाइन् । त्यस घटनापछि भने उनले प्रण गरेकी छन्, ‘पैसाको लोभमा परेर अब कहिल्यै बिदेसिने सपना देख्दिन । जस्तो दु:ख पाए पनि नेपालमै बस्छु ।’
रोजी त बेचिनबाट जोगिइन् । तर पैसाको मोहमा परेर बेचिएका डान्सगर्लहरूको कुनै लेखाजोखा छैन । राम्रा डान्सरहरू विदेशी डान्सबारमा ‘सप्लाई’ हुन थालेपछि राजधानीका डान्सबारहरू खल्लो बन्न थालेको सम्बन्धित व्यक्तिहरू बताउँछन् । पैसाका लागि धेरै डान्सरहरू विदेशमा आफ्नो अस्तित्व नै बेचिरहेका छन् । उनीहरू पैसाका लागि बिदेसिन सहजै तयार हुन्छन् तर दलालको पञ्जाबाट भने फुत्किन सक्दैनन् ।
हाल साउथ अफ्रिका, दुबई, सिंगापुर, चीन र भारतको गोवामा आर्यन अनुहारका नेपाली डान्सरहरूको माग बढी हुने गरेको छ । भारतबाहेक अन्य देशमा नेपाली युवतीलाई ३ महिनाको भिजिटिङ भिसामा पठाउने गरिन्छ । राजधानीका डान्सबार, मसाज, पार्लर, क्याबिनमा काम गर्ने महिलाका निम्ति महिला मञ्च नेपालले विदेशमा बेचिएका र अलपत्र परेकाहरूलाई परामर्श तथा उद्धार गरिरहेको मञ्चकी संयोजक सिर्जना पुन बताउँछिन् ।
नगण्य मात्रामा युवतीहरूले राम्रो कमाइ गरे पनि बिदेसिने धेरैको अवस्था दयनीय देखिएको छ । त्यहाँ उनीहरूले न भनेजति पारिश्रमिक पाउँछन् न त आत्मसम्मान बाँकी रहन्छ ।
नेपालका डान्सबारलाई व्यवस्थित र सम्मानित बनाउन सरकारले कुनै प्रयास गरेको छैन । सन् २००८ मा शक्तिसमूह र महिला मन्त्रालयले गरेको छुट्टाछुट्टै सर्वेक्षणमा उपत्यकाका डान्सबारमा काम गर्ने युवतीको संख्या ५० हजार देखिएको थियो । उनीहरू डान्सबारभित्रै पनि यौनशोषणमा परेको पाइन्छ । यो पेसालाई व्यवस्थित गर्न सरकारले कानुन बनाएको छ तर कार्यान्वयन हुन सकेको छैन । सरकारले बनाएको ‘श्रमजीवी महिलाप्रति डान्स रेस्टुरेन्ट, बारजस्ता कार्यस्थलमा हुने यौनउत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका–२०६५’ भए पनि अनुगमन नहुँदा डान्सबारमा काम गर्ने महिला मजदुर थप पीडित बनेका छन् ।

प्रतिक्रिया