बोल्दा–बोल्दै ढले थापा

काठमाडौ, २८ जेठ । शनिबार बिहान पार्टी कार्यालयमा आधा घन्टा लगातार बोलेपछि बेहोस भएका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाको अवस्था नाजुक छ । अचानक ‘हार्ट एरेस्ट’ भएर उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएका उनी अचेत अवस्थामा छन् । उनलाई कृत्रिम श्वासप्रश्वास दिएर मेकानिकल भेन्टिलेटरमा राखिएको छ ।

सानो गौचरनस्थित पार्टी कार्यालयमा आयोजित संयुक्त कार्यसम्पादन समितिको बैठकमा बोलिसक्नासाथ करिब ९:४५ बजे थापा ढलेका थिए । उनको नाकबाट रगत बगेको थियो । करिब १० बजे नर्भिक अस्पताल पुर्‍याउँदा थापाको नाडीको गति, रक्तचाप, श्वासप्रश्वास नभएको अस्पतालले जनाएको छ । ‘अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा शरीरमा अक्सिजनको मात्रासमेत मापन गर्न सकिने अवस्थामा थिएन,’ उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले भने ।
हार्ट एरेस्ट भएका थापालाई तत्कालै कृत्रिम श्वासप्रश्वास विधि, अक्सिजन र आवश्यक औषधि प्रयोग गरिएको थियो । तर, आशातीत सुधार नदेखिएपछि क्याथल्याब पुर्‍याई मुटुको गति कायम गराउन अस्थायी पेसमेकर जडान गरिएको डा. रावतले बताए । ‘पेसमेकर जडान गरिएपछि पनि उहाँलाई कृत्रिम श्वासप्रश्वाससहित मेकानिकल भेन्टिलेटरमा राखिएको छ,’ उनले भने, ‘उहाँको अहिलेको नाडीको गति ८० विट प्रतिमिनेट तथा अन्य जीवनदायी महत्त्वपूर्ण संकेतमा नगण्य सुधार देखिएको छ ।’
हार्ट एरेस्ट अचानक मुटुको धड्कन बन्द हुने रोग हो । चिकित्सकले यसलाई हृदयाघातभन्दा पनि खतरनाक मान्ने गरेका छन् । पूर्वप्रधानमन्त्री थापाको अवस्था २४ घन्टासम्म ‘क्रिटिकल’ रहेकाले उनको अवस्थामा सुधार आउनेबारेमा चिकित्सकले स्पष्ट भन्न सकिरहेका छैनन् । कृत्रिम श्वासप्रश्वास र पेसमेकरको सहायताले थापाको बन्द भएको मुटु, श्वासप्रश्वास चलेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनको उपचारमा डा. रावतसहित जे.पी. जैसवाल र डा. श्यामबहादुर पाण्डे संलग्न छन् ।
कृत्रिम श्वासप्रश्वास र पेसमेकर राखिएपछि अहिले थापाको रक्तचाप १००/६०, श्वास–प्रश्वासको गति १५ प्रतिमिनेट, अक्सिजनको मात्रा ९९ प्रतिशत र अन्तिम पटकको आउटपुट (पिसाबका रुपमा) २०० मि. लि. रहेको चिकित्सकले जनाएका छन् । थापाको स्वास्थ्यमा अहिलेसम्म आएको सुधारलाई पनि चिकित्सकले चमत्कार नै मानेका छन् ।

खतरामुक्त नरहेकाले उनलाई २४ घन्टासम्म विशेष निगरानीमा औषधोपचार सुचारु राखेर हेर्ने चिकित्सकको भनाइ छ । पुरानो मुटुरोगी भएकाले पनि थापाको अवस्था क्रिटिकल भएको डा. रावतले बताए । थापा तीन दशकदेखि मुटुरोगबाट ग्रसित छन् । उनको करिब तीन दशकपूर्व नै मुटुको शल्यक्रिया गरिएको र केही समय पहिले कोरोनरी एन्जियोग्राम गरिएको थियो । यसका साथै उनी उच्च रक्तचापबाट समेत पीडित थिए । अस्पतालका अनुसार थापाको उपचारका लागि भारतवाट डा. कास्लीवालाको नेतृत्वमा छ विशेषज्ञ चिकित्सक आइतबार नेपाल आउन लागेका छन् ।
‘बोलिसक्नेबित्तिकै उहाँ एक्कासि लड्नुभयो र आँखा माथितिर पल्टाउनुभयो । त्यसपछि हामी अत्तालियाँै,’ थापासँगै सोफामा बसेका नेता बुद्धिमान तामाङले भने, ‘हामीले उहाँलाई करिब ५ मिनेटमै नर्भिक अस्पताल पुर्‍यायाँै । ड्राइभरलाई पर्खिनसमेत भ्याएनाँैं । दीपक बोहराले गाडी चलाउनुभयो ।’
संयुक्त कार्यसम्पादन समितिको बैठकमा सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा गठित कार्यदलले पार्टी एकीकरणका विषयमा दिएको प्रतिवेदनबारे छलफल भइरहेको थियो । बैठक बिहान साढे आठ बजे बोलाइए पनि थापा आठ बजे नै पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालय उनको घरनजिकै पर्छ । बैठकमा कार्यसम्पादन समितिमा रहेका राप्रपा र जनशक्तिका नेता सहभागी थिए ।
शनिबार रातिसम्म राप्रपाका नेताहरु नर्भिक अस्पतालमै थिए । अस्पतालमा एमाले नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपा अध्यक्ष पशुपतिशम्शशेर राणा बिहानै पुगेका थिए । त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौलालगायत कांग्रेसका नेताहरु दिउँसो पुगेका थिए । यसैगरी एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी नेत्री हिसिला यमी, नेता अमिक शेरचन, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि अस्पताल गएका थिए । राप्रपा अध्यक्ष राणा दिउँसो पनि अस्पताल पुगेका थिए । ‘स्वास्थ्य स्थिति स्थिर छ । सुधार आउने आशामा छाँ,’ थापाका प्रेस सल्लाहकार किरण गिरीले भने । प्रधानमन्त्री बाबुराम भट्टराईले पनि थापाको स्वास्थ्यस्थितिबारे सोधेको उनले जानकारी दिए ।

पेसमेकर के हो ?
मुटु एउटा शक्तिशाली मांसपेशीय अंग हो जसले शरीरको विभिन्न अंगमा रगत पम्प गर्ने काम गर्छ । मुटुमा चार कोठा हुन्छन् । दायाँ अरिकल र भेन्ट्रिकल, बायाँ अरिकल र भेन्ट्रिकल । वयस्क निरोग मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक जति धड्कन्छ । मुटु धड्कनका लागि मुटुमा विद्युतीय करेन्ट निस्कनुपर्ने हुन्छ जुन साधारणतया साइनस नोडबाट निस्केको विद्युतीय करेन्ट अरिकल र भेन्ट्रिकलको बीचमा रहेको ए.भी. नोड हुँदै भेन्ट्रिकलमा प्रवेश गर्छ । मुटु धड्कन बन्द भएमा पेसमेकरको सहायताले मुटुलाई धड्कने बनाइन्छ ।
पेसमेकर धातुको सानो यन्त्र हो जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पुर्‍याउन सम्भव बनाइएको हुन्छ । यो धातुको यन्त्र सानो कम्युटरजस्तो हुन्छ जसले मुटुको धड्कन पहिचान र निगरानी गरेको हुन्छ । मुटुको धड्कन कम हुँदा पेसमेकरले तुरुन्त थाहा पाउँछ र पूर्वनिर्धारित गतिमा विद्युतीय करेन्ट निकाल्छ । मुटु सोहीअनुरुप धड्कन्छ । मुटुको धड्कन ठीक भएको अवस्थामा पेसमेकर निष्क्रिय बस्छ ।

हार्ट एरेस्ट के हो ?
मुटुको धड्कन अचानक बन्द हुनुलाई हार्ट एरेस्ट भनिन्छ । यो हार्ट अट्याकभन्दा फरक रोग हो । हार्ट एटेकभन्दा हार्ट एरेस्ट खतरनाक हुन्छ । मुटुमा जाने रगत अचानक बन्द भएर हार्ट एरेस्ट हुने गर्छ । हार्ट एरेस्ट विभिन्न मुटुका रोग भएकालाई हुने चिकित्सक बताउँछन् । हार्ट एटेक भएपछि पनि हार्ट एरेस्ट हुन सक्छ । हार्ट एटेकमा मुटुमा रगतको प्रवाह बन्द भए पनि मुटु चलिरहेको हुन्छ तर हार्ट एरेस्टमा मुटु नै चल्न बन्द हुने भएकाले यसलाई खतरनाक मानिएको हो ।

प्रतिक्रिया