नागरिकता माग गर्दै बम्जन सडक अबरोधमा

वीरगन्ज, २७ जेठ । शान्तिको कामना गर्दै ध्यानमा बसेका रामबहादुर बम्जनका अनुयायीले उनलाई नागरिकता र राहदानी लगायतका माग राखेर आज बारामा सडक अबरोध गरेका छन् ।
बाराको डुमरवाना गाविसस्थित पसाह खोलामा बम्जनका अनुयायीहरुले सडक अबरोध गरेका हुन् । चार घण्टा सम्म भएको सडक अबरोधका कारण सैयौं यात्रु र दर्जनौं सवारी साधन सडकमा अलपत्र परेका थिए । उनीहरुले नागरिकता र राहदानी धार्मिक नाममा हुनुपर्ने माग राखेका छन् ।
नागरिकता र राहदानी माग जायज भएपनि प्रक्रियामै प्रवेश नगरेर सडकबाट माग गर्नु उचित नहुने पीडित यात्रुहरुको गुनासो छ । ‘नागरिकता वा राहदानी चाहिन्छ भने जिल्ला प्रशासनमा जानुपर्छ,’ एक यात्रुले भने, ‘शान्ति खोज्ने व्यक्ति नै सडक अवरोधमा लागेपछि हामीले के गर्ने ?’
अनुयायीहरुले बम्जन तपस्या बसेको बाराको सो वन क्षेत्रलाई धार्मिक वन घोषणा गर्न पनि माग गरेका छन् ।
बोधी श्रवण धर्म संघका नाममा उनीहरुले पूर्व पश्चिम राजमार्गमा चार घण्टा अवरो पुराएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
विभिन्न विवादका कारण चर्चामा आइरहने बम्जनले पुनः नागरिकता र रहदानीको माग गरेर सडक अबरोध गरेका छन् । शान्तिको कामना गर्दै तपस्यामा बसेको व्यक्तिका अनुयायीहरुले सर्वसाधारणलाई दुःख दिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
पछिल्लो पटक बम्जनका अनुयायीहरुले बाराका स्थानीय पत्रकारलाई कुटपिट गर्नुका साथै क्यामरा तोडफोड गरेका थिए । उनीहरुले केही समय अघि एक विदेशी महिलालाई समेत बन्धक बनाएको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया