महिलाहरू रुनुपर्ने दिन गयो

काभ्रे, २७  जेठ । परम्परागत चुलोले च्याम्राङबेंसीका बासिन्दा घरभित्र धुवाँका कारण आजित बनेका थिए । बाहिरी वातावरण लोभलाग्दो भए पनि घरभित्र भने धुवाँको राज भएका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित थिए । बाहिर हरियालीमा रमाउने आँखा घरभित्र आँसुले भरिएका हुन्थे । अब भने उनीहरूलाई यस्तो समस्याबाट मुक्ति मिलेको छ । सुधारिएको चुलोले उनीहरूमा खुसियाली ल्याइदिएको छ ।
सुधारिएको चुलोले सबैभन्दा खुसी त महिला भएका छन् । ४० वर्षदेखि चुलोचम्कोमा बिताइरहेकी च्याम्राङबेंसी–१ की ५५ वर्षीया हरिमाया दाहालले खुसी पोखिन्, ‘बिहानै कुँडोदेखि बिहान र बेलुकाको खाना तथा दिउँसोको खाजामा धुवाँसँग जुध्नुपथ्र्यो, अब त धुवाँ घरभित्र देखिनै छाड्यो ।’
गोमा गोलेको अनुभवमा त धुवाँले गर्दा महिला रोइरहनुपर्ने अवस्था अन्त्य भएको छ । ‘पहिला दिनभरि खाना, खाजा पकाउन डेढ भारी दाउरा चाहिन्थ्यो तर अहिले ६ वटा कप्टेराले पुग्छ,’ उनले भनिन् । ६६ वर्षीय वृद्ध कृष्णबहादुर पाख्रिन पनि अब घरबाहिरभन्दा भित्र सुन्दर हुने बताउँछन् । उनहरूका अनुसार अब काला दलिन पोतिन थालेका छन् र घरभित्र पनि सफाचट् हुन थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ३५ किलोमिटरको दूरीमा रहेको च्याम्राङबेंसीमा २ सय ८६ घरधुरी छन् र सबै घरधुरीमा सुधारिएको चुलो बनाएर घरभित्रको धुवाँरहित गाविस घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बत्स्याल गाउँ नै पुगेर धुवाँरहित गाविस घोषणा गरेका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ऊर्जा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) र गाविसको सहयोगमा उक्त गाविसमा सुधारिएको चुलो प्रयोगमा ल्याइएको हो ।
धुवाँरहित चुलो निर्माणसँगै श्वासप्रश्वास, रुघाखोकी, निमोनिया, दम र आँखाको समस्यामा पनि कमी आउने विश्वास गरिएको छ । ‘घरभित्र धुवाँरहित भएपछि रोगमा कमी आउने निश्चित छ,’ च्याम्राङबेंसीका उपस्वास्थ्यचौकी इन्चार्ज सीताराम तिमल्सिनाले भने ।
रिमरेकले मात्र दोलखा, रामेछाप, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र सिन्धुलीमा गरी ८८ हजार घरधुरीमा सुधारिएको चुलो बनाइसकेको कार्यकारी निर्देशक गोकुल गौतमले जानकारी दिए । घरभित्रको धुवाँरहित गाविस घोषणा भएको च्याम्राङबेंसी काभ्रेको पहिलो हो तर यसअघि भोजपुर, अछाम, पर्वत, म्याग्दी, दैलेखलगायत ११ गाविस घरभित्रको धुवाँरहित गाविस घोषणा भइसकेका छन् ।

प्रतिक्रिया