समसामयिक कविताहरू

जीवनलाई परमजीवनतिर लग्नु छ, मृत्युतिर नलगेर । जीवनलाई परम प्यारतिर लग्नु छ, धृणातिर नलगेर । जीवनलाई करुणाको समुद्रतिर लग्नु छ, हिंसातिर नलगेर । जीवनलाई चरम शान्तितिर लग्नु छ, युद्वतिर नलगेर ।
यहीँनेर म आग्रही छु र कवितालाई वृक्षको रूपमा हेर्दछु । वृक्ष आकर्षक हुन्छ त्यसका हाँगा, शाखा र फूलपातले । कविता आकर्षक हुन्छ भाव, लय, ध्वनि, बिम्ब र शिल्पले । तथापि, जराले नै सम्पूर्ण वृक्ष उभिएको हुन्छ, भलै त्यो जमिन भित्रभित्र गएको राम्रो हुन्छ कवितामा विचार गहिराइमा बसेकोजस्तो ।
प्रस्तुत विचार कवि प्रसन्न घिमिरेको ‘र नि:शब्द’ कवितासंग्रहका हुन् । भर्खरै सार्वजनिक भएको उनको यो सङ्ग्रह बौद्धिक र तार्किक छ । विभिन्न १० खण्डमा विभाजित कवितासंग्रहमा कविले समसामयिकतालाई विशेष जोड दिएका छन् । मानिस अमानिस बन्दै गएको, कुरूप बन्दै गएको सहर र त्यहाँ बस्ने मानिसमा व्याप्त महत्त्वाकांक्षा र मानवेतर पात्रहरूको प्रस्तुतिले संग्रहका कविता सशक्त बनेका छन् । कवि स्वयं सहरमा बस्न बाध्य हुनुपरेको र गाउँको सम्झनारूपी काउकुतीले छुँदाछँुदै पनि आफू बाध्यात्मक परिस्थितिमा रहेको अवस्थाजस्ता विषयवस्तुलाई उनले मार्मिक ढंगमा प्रस्तुत गरेका छन् । कवि प्रसन्न घिमिरेका कवितामा प्रशस्त आवेगहरू छन् । कविताका हरफहरूमा प्रशस्त पीडाका अवशेष पनि राम्रैसँग अनुभूत गर्न सकिन्छ । कवि आफँै पनि धेरै ठाउँमा तरंगित बनेका छन् । लाग्छ, उनको मन नै कवितारूपी तरंगले तरंगित बनेको छ । उकुसमुकुस भाव र विचारहरूलाई कवि प्रसन्नले निकै फरक शैलीबाट प्रस्तुत गरेका छन् कवितामा ।
कवि नग्नतालाई नै अन्तिम सत्य स्विकार्छन् । चलिरहेको बतासजस्तै, बगिरहेको नदी, खोला, शीतल प्रदान गरिरहेका वृक्षहरू जसरी नग्नतामै सुन्दर देखिन्छन्, मानिसहरू पनि नग्नता (सत्यता) अर्थात् आफ्नोपन, यथार्थतामा सुन्दर देखिने उनको स्वीकारोक्ति छ । कवि प्रसन्न जटिल कविता लेख्न मन पराउँछन् । कविता सरल र सहज नै हुनुपर्छ भन्ने मान्यताविपरीत उभिन दुस्साहस गर्ने कवि हुन् प्रसन्न । तर, धेरै क्लिष्ट र अमूर्त पनि देखिएका छैनन् कवितामा । त्यसैले, उनका कविताको मर्म बुझ्न कम्तीमा दोहोर्‍याएर पढ्नैपर्छ ।
कवितालाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कविको मान्यता छ । यसैलाई नै उनले आफ्नोपन बनाएका छन् कवितामा । प्रसन्नले कवितामा प्रयुक्त भाव, विचार, विम्ब, प्रतीक र विषयहरूको सचेत प्रयोग गरेका छन् ।
कविता आत्माको अभिव्यत्तिm हो भन्ने कुरालाई कविले अभिव्यक्त गरेका छन् । कवितामा पाठकले आत्माको आवाज सुन्न सक्ने गरी अभिव्यक्ति अभिव्यञ्जित गरेका छन् कविले । यो उनको खुबी र वैयक्तिकता पनि हो ।
कविले कविताहरूमा प्रशस्त भावुकता झल्काएका छन् । कविताको उडानमै रमाउनु उनको विशेषता हो । प्रसन्नका कवितामा एकतमासको बगाइ भेटिन्छ, उडान भेटिन्छ र बेग भेटिन्छ । साथै, अभिव्यक्तिमा प्रशस्तै लहर पनि भेटिन्छ । कवि प्रसन्न समुद्रझैँ कवितामा छचल्किएका छन् संग्रहमार्फत । विचारको सामुद्रिक छाललाई कविताहरूमा छताछुल्ल बनाउन उनी उद्यत छन् ।
कविताहरू पढ्दै जाँदा पाठकले प्रशस्त ठाउँमा कला, सौन्दर्य र चेतनाको स्वाद लिन सक्छन् । सहज शब्द, प्रशस्त विम्ब र पदावलीहरूको समुचित प्रयोगले यसभित्रका कविताहरू चित्रमय र दृश्यमय बनेका छन् । सरल कविता मात्र रुचिकर हुन्छन् भन्ने दृष्टिकोण कविले फेरिदिएका छन् कवितामार्फत ।
सरल कविता मात्र मन पराउने पाठकले पक्कै पनि यी कविताका नयाँ र नौलो ढाँचालाई सजिलै अत्मसाथ गर्न सक्दैनन् । कवितामा सामाजिक, सांस्कृतिक, वैचारिक, प्रेम, जीवन, दु:ख, आँसु, सपना, रहर, कल्पना, स्वप्न, ईष्या, क्रोध आदि अनेक विषयलाई घिमिरेले प्रशस्त आवाज दिएका छन् । तर, यति हुँदाहुँदै पनि भाषागत त्रुटिका कारण कहीँकतै कविता पढ्दा पाठकलाई असहज महसुस गराउँछ ।

प्रतिक्रिया