ड्याडीले बुझेनन् मनको बह

रेखा थापा आफ्नो चर्चा घटेको पटक्कै सहन सक्दिनन् । त्यसैले केही न केही हंगामा गरेर निहुँ खोजिरहन्छिन् । घरी नायक भुवन केसीलाई शताब्दियौँ पुरानो भन्छिन् त घरी पत्रकारलाई चोरऔँलो ठड्याउँछिन् । भर्खरै उनले फेरि आफ्नो चर्चा बढाइन्, पति छवि ओझासँग डिभोर्स गर्न लागेलागेजस्तो गरेर । अब चलेकी नायिका र स्थापित निर्माताको घर बिग्रन आँटेको कुरा, ध्यान नदिएर बस्नु पनि कसरी ? त्यसो त यो नौलो कुरोचाहिँ होइन है † उनले डिभोर्सका लागि करकर गर्न थालेको वर्षौं भइसक्यो ।
यो देख्दा कहिलेकाहीँ त चर्चाका लागि मात्र नभएर उनले साँच्चै छविलाई छोड्नै आँटेकी हुन् कि जस्तो पनि लाग्छ । त्यसो त यसबीच उनी सधैँ छविसँग पनि कहाँ छिन् र ? कहिले आमाका तिर गएर बस्छिन् । मन लागे फेरि छविसँगै जोडिइहाल्छिन् । फेरि छविले उनलाई धुमधामसाथ बिहे गरेर भित्र्याएका पनि होइनन् । सायद त्यसैले सुटुक्क जुट्छन् अनि सुटुक्क छुट्छन् । तर, उनको पारा हिजोआज रातोपिरो बैँसमा प्रवेश गरिसकेकी छोरीले जस्तै बाउले बिहे नगरिदिएको रन्कोमा निहुँ खोजेजस्तो देखिन थालेको छ ।
उनी आफैँ छविलाई ‘ड्याडी’ भन्छिन् । अब केटीहरू जवान भइसकेपछि सधैँ ड्याडीकहाँ कहाँ बस्छन् त ? यत्ति हो, रेखा लगभग तीन दशक उमेरमा आएर जवान भइछन् † उनलाई ड्याडीको घर छोडेर पराईघर जाने मन भइसकेपछि उनीहरू दुईको डिभोर्स भई नै हालेछ भने पनि के नौलो मान्नु त † अब छोरीको मनको बह ड्याडीले बुझिदिनुपर्ने हो । सिधैँ भन्न नि मिलेन, फसाद नै छ हो हाम्री नायिकालाई ।

प्रतिक्रिया