चार महिनामै पशु बधशाला बन्द

सुर्खेत, २६  जेठ । सञ्चालनको चार महिनामै वीरेन्द्रनगर पशु बधशाला बन्द भएको छ । निर्माण भएको लामो समयपछि सञ्चालनमा आएको बधशाला पुन: बन्द भएको हो ।
श्रीदेवी बहुउद्देश्यीय सहकारी संस्थाले जिम्मा लिएर गत मंसिरदेखि बधशाला सञ्चालनमा ल्याइएको थियो तर केही मासु व्यवसायी र वीरेन्द्रनगर नगरपालिकाले सहयोग नगरेकाले बधशाला बन्द गरिएको संस्थाले जनाएको छ । संस्थाका व्यवस्थापक धर्म विकले सबै खसी बधशालामा मात्रै काट्ने भनिए पनि केही व्यवसायीले अटेर गर्नु तथा अटेर गर्नेलाई  नगरपालिकाले कारवाही गर्न नसक्दा बधशाला नै बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
नगरपालिकासँग बधशालाभन्दा बाहिर पशुबध गर्नेलाई स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत कारबाही गर्ने सम्झौता भए पनि नगरपालिकाले बेवास्ता गरेको आरोप उनको छ । ‘नियम पालना नगर्नेलाई कानुनबमोजिम कारबाहीका लागि पटक–पटक नगरपालिकासँग माग गर्दा पनि नगरपालिकाले वास्ता नगरेकाले व्यवसायीले बधशाला छाडेका छन्’ उनले भने ।
बधशाला सञ्चालन गर्न सहकारी र वीरेन्द्रनगर नगरपालिकाबीच पाँच वर्षका लागि सम्झौता भएको थियो । आगामी असार मसान्तसम्म नगरपालिकाले कानुन कार्यान्वयनका लागि पहल नगरेमा सम्झौता भंग गर्ने पनि उनले बताए ।
सडकछेउमै खसी काट्दा पनि नगरपालिकाले कारबाही नगरेको भन्दै बधशालाका व्यवसायीले पुरानै स्थानमा खसी बध गरी बिक्री वितरण गर्न थालेका छन् । यसले गर्दा उपभोक्ता पुन:अस्वस्थ मासु प्रयोग गर्न बाध्य छन् । मासु बिक्री पसल खोल्नका लागि पशु बधशाला र मासु जाँच ऐन २०५५ अनुसार स्वीकृति लिनुपर्ने प्रावधान छ । तर, वीरेन्द्रनगरका अधिकांश मासु पसलेले स्वीकृति नलिई व्यवसाय सञ्चालन गरेको जिल्ला पशु सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
बधशालाले पशु विभागबाट र मासु पसलले स्थानीय निकाय नगरपालिका तथा गाविसबाट स्वीकृति लिनुपर्ने ऐनमा व्यवस्था छ । पशु बधशाला र मासु जाँच ऐनमा परम्परादेखि चल्दै आएको चाडपर्व तथा धार्मिक पूजाबाहेक जथाभावी पशु बध गरी बिक्री गर्न नपाइने उल्लेख छ । ऐन विपरीत बध गरिएको मासु उपभोक्ताका लागि उपयुक्त, स्वस्थकर र सुरक्षित छ भन्न नसकिने पशु चिकित्सक बताउँछन् ।
जथाभाबी पशु बध गरेर बिक्री गर्दा पनि सम्बन्धित निकायले कारबाही नगर्दा
मासु व्यवसायीले आफूखुसी पशु बध गरेर बिक्री गर्ने चलन बढेको स्थानीय रामकृष्ण खड्का बताउँछन् । उनले व्यवस्थित बधशालामा मात्र पशुबध गर्न पाइने कानुनी प्रावधान भए पनि नगरपालिका र मासु व्यवसायीको उदासीनताका कारण कानुन कार्यान्वयनमा आउन नसकेको आरोप लगाए ।
तर, वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा योजना अनुगमन अधिकृत प्रकाश पौडेल भने केही मासु व्यवसायीले अटेर गरेको स्वीकार गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताउँछन् । उनले लाखाँै रुपियाँ खर्च गरेर निर्माण गरिएको बधशाला प्रयोगमा ल्याउन सबै मासु व्यवसायीसँग छलफल गरेर समस्या समाधान गरिने बताए ।

प्रतिक्रिया