प्यासन वल्र्ड रेकर्ड्स

संसारको सबैभन्दा खुला प्रतियोगिता हो– गिनिज वल्र्ड रेकर्ड्स । विश्वका आठ अर्ब मानिसलाई पछाडि पार्दै विश्व कीर्तिमान कायम गर्नु चानचुने होइन । त्यही कीर्तिमानी राख्ने होडमा लाखौँ विश्ववासी कस्सिएका हुन्छन् । सफलता पाउने कमै हुन्छन् । तिनै कममध्ये पर्छन् नेपाली ठिटो थानेश्वर गुरागाईं । हालसम्म उनले ६ वटा विश्व कीर्तिमानी कायम गरेका छन् ।
थानेश्वरलाई अहिलेका तमाम नेपाली युवाका प्रतिनिधि पात्र भन्न नमिल्न पनि सक्छ किनकि उनी प्राय: उही उमेरका अरू युवाजसरी ‘गफ अड्डामा’ रुमल्लिरहेका भेटिँदैनन् । काममा विश्वास गर्ने उनी खाली दिमागलाई शैतानको घर ठान्छन् । र, समयलाई सकेसम्म आफ्नो हातबाट खेर जान नदिने प्रयास गर्छन् । भर्खर २२ वर्षमा टेकेका उनीसँग ‘पाको’ उमेरका मानिससँग हुनेजस्तो सुखदु:खको हिसाबकिताब त छैन तर आफ्नो उमेरले बोक्नुपर्ने दायित्वको भने आफ्नै सिद्धान्त छ । त्यसभित्र अटाउँछन्, कर्म, अभ्यास अनि लगाबका कुरा । ६ वटा गिनिज रेकडर््सको उपाधि उनको त्यही सिद्धान्तको प्रमाणपुर्जा हो ।
संखुवासभाको ग्रामीण भेगमा सामान्य परिवारमा जन्मिएका थानेश्वर परिवारसहित तराई झारिएका थिए, इटहरी आसपास बालवय बित्यो । एक आमनेपाली फुच्चे थिए उनी त्यति बेला, साथीहरूसँग मिलेर ‘चकचक’ गर्न खप्पिस । तर पनि नयाँ काम गर्ने तीव्र इच्छाचाहिँ सानैदेखि थियो रे † सायद यही कारण उनको बालसुलभ ‘चकचक’मा पनि नयाँपन देखिँदो रै’छ । मानिसहरू उनको सीपको चर्चा गर्थे– रूख चढ्न सिपालु, जादू देखाउन सिपालु, नाकमा बोतल अड्याउन सिपालु थानेश्वर † उनको चकचकेपनप्रति अभिभावकचाहिँ चिन्तित थिए रे † ‘म नरिवलको रूखमा मज्जाले चढ्थेँ, यसो गर्दा आमाले हानेको पेटी कति खाइयो कति’, थानेश्वर सम्झन्छन्, ‘खुब उपद्रो गरिन्थ्यो, तिनै उपद्रोले पछि व्यवस्थित सिर्जनाको रूप लिए र गिनिज बुक चुमाए ।’
नेपालमा केही पहिला पर्वतारोहणसम्बन्धी विश्व कीर्तिमानी मात्र थिए । थानेश्वरको प्रवेशले त्यसमा नयाँ आयाम थपियो । ‘आइडिया र एक्सेसको अभाव भएर मात्र हो, नेपालको आधा जनसंख्या गिनिज वल्र्डमा नाम लेखाउन सक्षम छ’, अहिले आएर थानेश्वरलाई लाग्छ । हुन पनि नेपालमा गह्रौँ भारी बोकेर घन्टौँ हिँडिरहेका भरीयाहरूको रेर्कड कहाँ लेखिएको छ र ? चन्द्रबहादुर डाँगीहरू जीवनको उत्तराद्र्धमा आएर मात्र गिनिजको हकदार हुनुपछाडिको दुरुह कारण सायद पहुँच र पहल गरिदिने निकायको अभाव हो । थानेश्वर भन्छन्– ‘महाकवि देवकोटाले भनेजस्तै यहाँ धेरै सेक्सपियरहरू हलो जोतिरहेका छन् ।’
‘विश्वकै होचा व्यक्ति’ चन्द्रबहादुर डाँगीलाई गिनिज वल्र्ड रेकर्ड दिनपर्‍यो भनेर पहल गर्ने पनि थानेश्वर नै रहेछन् । गिनिजयात्राका मोडहरूबारे थाहा पाइसकेका उनले गिनिज कार्यालयमा चन्द्रबहादुर बारेको खबर पठाएछन् । त्यसपछि गिनिजका प्रधानसम्पादक क्रेग ग्लेन्डे नेपाल आए । त्यही मौकामा थानेश्वर आफैँले पनि आफ्ना तीनवटा नयाँ क्षमता प्रदर्शन गरी गिनिजमा तीन नयाँ अध्याय थपे । एउटा सामान्य थालजत्रो प्वाल हुने टेनिस र्‍याकेटको प्वालबाट जिउ छिराउने कलामा उनले तीन कीर्तिमान कायम गरेका हुन्, यसपटक । ४.९ सेकेन्डभित्र तीनपटक छिर्नु उनको पहिलो विश्व क्षमता । त्यस्तै १ मिनेटमा ३८ पटक छिर्नु अर्को कीर्तिमान । ३ मिनेटभित्र ९६ पटक छिर्ने पनि विश्वको पहिलो व्यक्ति उनै बने ।
थानेश्वरको विश्व कीर्तिमानी यात्रा सुरु भएकोचाहिँ सन् २०१० को अक्टोबर ७ बाट हो । जति बेला उनले १ मिनेटमा सबैभन्दा बढीपटक बास्केटबल बाउन्स (उफार्ने) गरे । नेदरल्यान्ड्सका नागरिकले तीन सय ८४ पटक बाउन्स गरेको रेकर्ड पछार्दा उनले सोही समयमा चार सय ४४ पटक बाउन्स गरे । ‘मैले दिनको ५/६ घन्टासम्म बास्केटबल बाउन्स गर्ने अभ्यास गरेको थिएँ, लगभग १४ महिनासम्म’, कठोर अभ्यासका कारण उति बेला हातले बेहोरेको केही समस्या आज पनि बोकिरहेका उनले सुनाए । यस्तै वल्र्ड रेकडर््स संगृहीत गिनिजको डेढ केजीको किताबलाई हातको एउटा औँलाले ३० मिनेटसम्म घुमाएर उनले नयाँ कीर्तिमान थपे । यो परिश्रमले उनको औँलाको टुप्पाको मासु नै लुछिदिएछ । ‘यी अहिले त यो औँलाले छोएको नै थाहा हुँदैन, दुख्दैन पनि’ –औँला देखाए उनले । यी पीडा सहेर र बिर्सिएर अभ्यासमा घोटिइरहँदा उनको आँखामा सपना छचल्किन्थ्यो त एउटै मात्र–गिनिज वल्र्ड रेकडर््स ।
विश्वमा सबैभन्दा धेरै वल्र्ड रेकर्ड्स राख्ने व्यक्ति हुन्, संयुक्त राज्य अमेरिकाका आस्रिता फरम्यान । जसबाट थानेश्वर प्रभावित छन् । फरम्यानसँग उनको सम्पर्क नियमित छ अहिले । फोन, स्काइप, इमेलमार्फत फरम्यानसँग सहयोग र सल्लाह मागिरहेकै हुन्छन् । फरम्यानले नै उनलाई सुझाब दिएका छन्, ‘सबै रेकर्ड मान्छेले नै बनाएका हुन्, ती तोड्न अनि नयाँ बनाउन कुनै कठिन छैन ।’ महिनामा चारवटासम्म विश्व कीर्तिमान कायम गर्ने फरम्यानका हालसम्म सयवटाभन्दा बढी क्षमता गिनिजमा अंकित भएका छन् । त्यसैलाई पच्छ्याउन चाहन्छन् थानेश्वर पनि । ‘हामीले राख्ने रेर्कडसँगै नेपालको नाम पनि विश्वमा जाने हो, व्यक्तिको नाम त मान्छेले बिर्सिहाल्छ तर देशको नाम याद भइरहन्छ,’ उनले भने । थानेश्वरले राखेका कीर्तिमानबाट प्रभावित भएर विश्वका विभिन्न कुनाबाट २/३ ओटासम्म इमेल आउँछन् रे दैनिक ।
केही समयअघि भारतीय टेलिभिजन च्यानल कलर्सबाट एउटा रियालिटी शो आउँथ्यो, गिनिज वल्र्ड रेकडर््ससम्बन्धी । त्यसमा उनलाई पनि बोलाइएको रहेछ । तर ‘जानै मन लागेन’ भन्छन् । विश्व कीर्तिमानका लागि अभ्यास र प्रदर्शन गर्दा केही खर्च त लागि नै हाल्छ । यो उनले अहिलेसम्म आफैँले धानेका रहेछन् । कीर्तिमान कायम गरेबापत पाउने प्रत्यक्ष उपलब्धि पनि प्रमाणपत्रबाहेक खास केही छैन । तैपनि सन्तुष्ट छन्, थानेश्वर । अनि थप नयाँ रेकर्डका लागि कस्सिएकै छन् । ‘मलाई नयाँ कुरा गर्नु छ, पैसा कमाउनु छैन, गिनिज वल्र्ड रेकर्ड प्यासन हो मेरो,’ उनले भने । केही समयअघि मात्र टुथब्रसलाई मुखमा च्यापेर त्यसको टुप्पोमा लामो समय बास्केटबल घुमाएर उनले विश्व कीर्तिमानका लागि निवेदन गरे । केही महिनामै त्यसबापत गिनिज वल्र्ड रेकर्ड्सको प्रमाणपत्र आउनेमा उनी ढुक्क छन् ।
ब्रिलियन्ट मल्टिपल कलेजबाट बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेका थानेश्वरको एउटै लक्ष्य हो– धेरै विश्व कीर्तिमानी कायम गर्नु । उनलाई नाच्नबाहेक सबै कुरा सिक्न सक्छु जस्तो लाग्छ रे, छोटो समयमै † अरू नेपाली युवालाई पनि मेहनत गरेर रेकर्ड कायम गर्न सल्लाह र सुझाब दिन्छन् । उनलाई विश्वास पनि छ– नेपाली युवाले गर्न सक्छन् । नेपालीहरूको काम गर्न सक्ने क्षमता र शक्तिले उनमा यो विश्वास जगाएको हो ।
हालसम्म २६ लाख मानिसले गिनिज वल्र्ड रेकडर््समा नाम दर्ता गराएका छन् । नेपालका २६ जना मात्र । प्राय: नेपाली कीर्तिमान पर्वतारोहणसम्बन्धी  । थानेश्वरलाई नेपालीले हिमाली र उच्च स्थानमा गएर गर्न सक्ने धेरै विषयमा कीर्तिमानी रच्न सक्छन् जस्तो लाग्छ ।
विश्वमा धेरैखाले कीर्तिमान कायम भएका छन् । १० मिटरमाथिबाट एक फिट मात्र गहिरो पानीमा हाम फाल्ने, एकैजनाले लगातार १७ ओटा तरबार निल्ने, आँखाको ढकनीबाट पाँच सय ४३ किलोसम्मको सामान तान्नेलगायत साहसका गाथालाई गिनिजले आफूमा समाहित गरेको छ । कीर्तिमानका लागि अति क्रेजी भएर बित्थामा ज्यान गुमाउने पनि छन् । आफूले सक्नेजस्तो कुरामा मात्र अभ्यास गर्नुपर्ने थानेश्वरको धारणा छ । ‘नेपालका नेताहरूले पनि विश्व कीर्तिमान राख्न सक्छन् जस्तो छ,’ उनले भने । सायद सत्ता लुछाचँुडीमा मात्र व्यस्त नेताहरूलाई व्यंग्य गरिरहेछन् यसपटक । हुन पनि देशभन्दा ठूलो मन्त्रिमण्डल बनाएर, संविधान नबनाएर, लामो समयसम्म राजनीतिक अस्थिरता कायम राख्नु पनि आपैँmमा रेकर्ड होला । तर, यो आपैँmमा बदनाम हो । ‘नाम र इज्जत’ दिलाउन सक्ने मात्र आफैँमा कीर्तिमान हुन्छ । यस्तै लाग्छ थानेश्वरलाई पनि । नेताहरूलाई सुझाउँछन्, ‘तपाईंहरू यस्ता बदनामका कीर्तिमान ठड्याउन छाडेर मुलुकलाई सुन्दर बनाउनतिर मात्र लाग्नुस् । अलिकति सहयोग गर्नुभयो भने बरु हामी जनता सकारात्मक कीर्तिमान खडा गरेर नेपाल र नेपालीलाई चिनाउने प्रयास गर्नेछौँ ।’

प्रतिक्रिया