‘अप्रिय कदम’ नचाल्न उपाध्यक्ष राईलाई आग्रह

काठमाडौं, २६  जेठ । एमालेका आदिवासी जनजाति र मधेसी जिल्ला अध्यक्षहरूले पार्टीका शीर्ष नेताहरूले पहिचानका मुद्दाको सम्बोधन हुनेगरी समस्या सल्टाउने प्रतिबद्धता व्यक्त गरेको जनाउदै उपाध्यक्ष अशोक राईलाई ‘अप्रिय कदम’ नचाल्न आग्रह गरेका छन् । जिल्ला अध्यक्षहरूको भेलापछि बिहीबार पार्टीलाई एकढिक्का बनाई मुलुकसामु उत्पन्न चुनौतीको सामना गर्न दबाब अभियान चलाएको जानकारी दिँदै उनीहरूले असन्तुष्ट पक्षसँग यस्तो आग्रह गरेका हुन् ।
संविधानसभा विघटनपछि उपाध्यक्ष राईसहितका नेता पार्टी नेतृत्वले एकल पहिचानको मुद्दालाई बेवास्ता गरेकामा असन्तुष्टि जनाएर बैठकमा समेत सहभागी नभएपछि दबाब दिन उनीहरू राजधानी आएका थिए । उनीहरूले भेलापछि विज्ञप्ति जारी गरी पार्टीलाई एकजुट बनाउने उद्देश्यका साथ शीर्ष र असन्तुष्ट नेताहरूलाई दबाब दिन राजधानी आएको जनाएका छन् ।
शीर्ष नेताहरूले केन्द्रीय कमिटीको चालु बैठकबाटै सबैको पहिचान खुल्नेगरी उत्पन्न समस्या सल्टाउने वचन दिएकाले उपाध्यक्ष राईले पार्टीलाई एकढिक्का बनाउन योगदान गर्ने विश्वास गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीका शीर्ष नेताहरूले चालु बैठकबाटै सबैको पहिचान खुल्नेगरी मुद्दाको सम्बोधन गर्ने र सबै समस्याको सम्बोधन गर्दै अगाडि बढ्ने वचनबद्धता जाहेर गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘असन्तुष्ट भई बस्नुभएका उपाध्यक्ष अशोक राईलाई अप्रिय कदम नचाल्न, मुद्दालाई विधिमा प्रवेश गराई टुंगोमा पुर्‍याउन र कार्यकर्ताको चाहनाको कदर गरी पार्टीलाई अघि बढाउन विशेष योगदान गर्न हामीले आग्रह गरेका छौँ ।’
एमाले सबै जातजाति र आधारभूत वर्गको पार्टी भएकाले जनजातीय समस्या समाधान गर्ने सामथ्र्य एमालेबाहेक अन्य पार्टीसँग नरहेको जिकिर पनि विज्ञप्तिमा गरिएको छ । ‘सबै जातजाति, भाषाभाषी तथा आधारभूत वर्गको पार्टी एमाले हो, जातीय समस्या समाधान गर्न एमालेले नसके कुनै पनि पार्टीले सक्दैन,’ ओखलढुंगा अध्यक्ष यज्ञराज सुनुवारले सौर्यसँग भने, ‘त्यसैले नेताहरूलाई पद्धतिगत रूपमा सबै समस्याको समाधान खोज्न भनेका छौँ ।’
पार्टीलाई एकढिक्का बनाउन सबैले योगदान गर्नुपर्ने बेला अतिवादी सोच नराख्न र वातावरणलाई उत्तेजित नबनाउन उनीहरूले सबैको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरूले दबाब अभियानलाई निरन्तरता दिन २८ जेठमा जिल्ला अध्यक्षहरूको भेला पुन: राखेका छन् । एमालेमा जनजाति र मधेसीमूलका २८ जिल्ला अध्यक्ष छन् ।
यसअघि उनीहरूले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, नेता केपी शर्मा ओली  र असन्तुष्ट पक्षका उपाध्यक्ष राईलाई भेटी समस्या पार्टीमै बसेर सुल्झाउन दबाब दिएका थिए । नेताहरूले केन्द्रीय कमिटी बैठकमै समस्या सल्टाउने वचनबद्धता जाहेर गरेका थिए भने उपाध्यक्ष राईले बैठकका लागि आफूले दस्ताबेज तयार पादै गरेके बताएका थिए ।

‘पार्टीप्रतिको विश्वास टुट्यो’

काठमाडाँ : एमालेमा आदिवासी जनजाति नेताहरुलाई मनाउने पहल भइरहेका बेला असन्तुष्ट नेताहरुले भने पार्टीप्रतिको विश्वास टुटिसकेको बताएका छन् । उत्पीडितलाई न्याय दिलाउने निर्णायक समयमा पार्टीका शीर्ष नेताहरुले घात गरेको उनीहरुको आरोप छ ।
काठमाडौंमा बिहीबार आयोजित  विचारगोष्ठीमा उपाध्यक्ष अशोक राईले पहिचानसहितको संघीयतामा जान पार्टीका शीर्ष नेताहरुले अस्वीकार गरेपछि विश्वास टुटेको बताए । एकल पहिचान खुल्ने नामसँग लक्षित समूहभन्दा अरुको पनि भावना समेटी मान्य भूगोललाई जोडेर नामकरण गर्न पनि पार्टीले अस्वीकार गरेको दाबी उपाध्यक्ष राईले गरे ।
‘एकल पहिचान खुल्ने नामसँग लक्षित समूहभन्दा अरुको पनि भावना समेटेर मान्य भूगोललाई जोडेर नामकरण गरौँ भन्दा पनि अस्वीकार गरिएपछि पार्टीमा समस्या उत्पन्न भयो,’ उनले भने, ‘पार्टीका शीर्ष नेताहरुले संविधान निर्माण प्रक्रियामा गलत भूमिका निर्वाह गरेपछि मैले सुध्रिन सुझाव दिएँ, लिखित सुझाव राखँे,’ उनले भने, ‘तर, मैले लेखेर पार्टीमा जे बुझाएको थिएँ, त्यसको सुनवाइ भएन ।’
उनले पार्टीमा रहिरहने समय पनि कम हँुदै गएको स्पष्ट पार्दै पार्टीले राज्य पुन:संरचनाबारे सही निर्णय गरे पनि कार्यान्वयन नभएको धारणा राखे । प्रमुख दलका नेताहरु असफल भइसकेकाले अब नयाँ पार्टी निर्माणको आवश्यकता उनले आँैंल्याए । ‘यो असफलताबारे जनताको दिमागमा प्रश्न उठेको छ– के अब नयाँ विकल्प खोज्नुपर्ने अवस्था आएको हो ?, उनले भने, ‘यो प्रश्नका निम्ति प्रशस्त ठाउँ छ, ।’
पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङले सविधानसभा विघटन हुनाको प्रमुख कारक एमाले र कांग्रेस भए पनि एमाओवादीले पनि बेइमानी गरेको आरोप लगाए । ‘एमाले र कांग्रेसले उत्पीडितलाई घात र एमाओवादीले बेइमान गरेका छन्,’ पोलिटब्युरो सदस्य गुरुङले भने । गुरुङले आवश्यक परे नयाँ राष्ट्रिय पार्टी निर्माण गरेर जाने बताए । ‘आदिवासी जनजातिको मात्रै पार्टी बनाएर चल्दैन, बनाउनैपरे उत्पीडितको पार्टी बनाउछाँै,’ उनले भने ।
यस्तै केन्द्रीय सदस्य रकम चेम्जोङसहित गोपाल ठाकुर, रिजवान अन्सारीलगायत नेताले उत्पीडितलाई अधिकार दिने बेला पार्टीले धोका दिएको बताएका थिए । सबै दलका जनजाति–मधेसी नेता सहभागी विचारगोष्ठी भनिए पनि कार्यक्रममा अधिकांश एमाले नेता उपस्थित थिए । (सौस)

 

प्रतिक्रिया