लघु जलविद्युत् आयोजनाको लहर


इलाम, २५ जेठ । विभिन्न सात गाविसमा आठ लघु जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका छन् । नामसालिङ सामुदायिक विकास केन्द्र
(एनसिडिसी) र क्षेत्रीय नवीकरणीय ऊर्जा केन्द्र (आरआरइएससी) को प्राविधिक सहयोगमा विभिन्न समयमा ती आयोजना निर्माण भएका हुन् ।
पाँच करोडको लगानीमा आमचोकमा दुई तथा माबु, जमुना, प्याङ, फाकफोक, साकफारा र एकतप्पामा एक/एकवटा आयोजना निर्माण भएका छन् । तीमध्ये माबुमा निर्मित त्रिवेणी लघु जलविद्युत् आयोजनामा समस्या देखिएकाले मर्मत गर्न केही समय उत्पादन बन्द गरिएको छ । सो आयोजना मर्मतका लागि प्रस्ताव र योजना बन्दै गरेको र केहीसमयभित्र मर्मत भई चालु गरिने भएको छ ।
आयोजनाबाट दुई सय १५ किलोवाट बिजुली उत्पादन हुने क्षमता भए पनि ५० किलोवाट क्षमताको त्रिवेणीको उत्पादन अहिले बन्द छ । त्रिवेणीबाहेक अहिले ती आयोजनाबाट एक हजार पाँच सय ५५ घरधुरीका उपभोक्ता  लाभान्वित भएका छन् । समुदायको सहभागिता र श्रमदानसहित पाँच करोड २१ लाख ५३ हजार पाँच सय ११ रुपियाँको लागतमा ती आयोजना निर्माण भएका हुन् ।
आयोजनाका लागि सरकारले दुई करोड ३९ लाख रुपियाँ सहयोग गरेको थियो । त्यस्तै समुदायको नगद, सहभागिता र श्रमदान गरी दुई करोड ८२ लाख ३० हजार ११ रुपियाँ लगानी भएको क्षेत्रीय नवीकरणीय ऊर्जा केन्द्रका क्षेत्रीय संयोजक घनेन्द्र भण्डारीले बताए ।
एनसिडिसीका प्रमुख कार्यकारी अधिकृत हीराकाजी घलेका अनुसार जिल्लाका आयोजनाहरूमा माबु–४ मा निर्मित त्रिवेणी लघु जलविद्युत्बाट चारसय ३३, जमुना–४ स्थित धुँवाखोलाबाट एकसय २५, प्याङ्ग–२ स्थित समाहाखोलाबाट ८२ र फाकफोक–७ स्थित फाकफोक खोला–२ बाट दुई सय तीन घरधुरी लाभान्वित भएका छन् ।
त्यसैगरी आमचोक–१ स्थित फाकफोक खोला–३ बाट दुई सय ८०, आमचोक–२ स्थित फाकफोक खोला–४ बाट तीन सय ६०, साकफारास्थित मावाखोलाबाट दुई सय ९० र एकतप्पा ९ स्थित देउमाईखोला आयोजनाबाट दुई सय १५ घरधुरी उपभोक्ताले विद्युत् उपभोग गरिरहेका छन् । त्यसैगरी पूर्वाञ्चलका सात जिल्लामा ९२ पेल्ट्रिकसेट आयोजनाहरू निर्माण भएका छन् । सरकारको अनुदानमा इलाममा ६१, तेह्रथुममा ११, पाँचथरमा आठ, भोजपुरमा छ, ताप्लेजुङमा पाँच र धनकुटामा एक पेल्ट्रिकसेट निर्माण भएका छन् । इलाममा निर्माण भएका ६१ मध्ये सबैभन्दा बढी गजुरमुखीमा १२ वटा छन् । त्यस्तै इभाङ्गमा १०, जमुनामा सात, माईमझुवामा ६, फाकफोकमा पाँच, साकफारा र आमचोकमा चार/चार, जितपुर र सोयाङमा तीन/तीन, सुलुबुङमा दुईवटा पेल्ट्रिकसेट निर्माण भएका छन् । सबैभन्दा थोरै लुम्दे, चमैता, नयाँबजार, फुएतप्पा र पुवामझुवामा एक/एकवटा योजना निर्माण भएको एनसिडिसीका प्रमुख कार्यकारी अधिकृत घलेले बताए ।

प्रतिक्रिया