कृषिको व्यवसायीकरण गर्न पञ्चवर्षीय योजना

बाग्लुङ,२५  जेठ । मुस्ताङमा कृषिको व्यवसायीकरणका लागि पञ्चवर्षीय बृहत् परियोजना सुरु भएको छ । कृषकको आयआर्जन वृद्धी गरी आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले एसियाली विकास बैंकको साढे दुई अर्ब सहयोगमा चालु आर्थिक वर्षदेखि हिमाली कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना सुरु भएको हो ।
परियोजनाअन्तर्गत मुस्ताङमा भेडाच्यांग्रा र चौरी गाई पाल्न चाहने कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग गरिने भएको छ । व्यावसायिक रूपमा स्याउ, तरकारी र जडीबुटी खेती विस्तार गरिने हिमाली परियोजना मुस्ताङका प्रमुख तथा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. गुरुप्रसाद खकुरेलले बताए । कृषकलाई आवश्यकताअनुसार तालिम, सीप, बिउवीजन, पशु सहयोग, अनुदान, उपचार र औषधिमा समेत सहयोग गरिने उनले बताए ।
कृषकलाई २० हजारदेखि दुईलाख रुपियाँसम्म अनुदान दिने रणनीति आयोजनाको छ । मुस्ताङमा सहकारीमार्फत ३० हेक्टर जग्गालाई व्यवस्थित गराएर २० हजार स्याउका विरुवा रोप्नुका साथै भेडा र च्यांग्रा पालनका लागि गोठ निर्माण गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।
‘उच्च हिमाली क्षेत्रका जनताको आर्थिकस्तरमा सुधार ल्याउन साढे दुई अर्बको योजना सुरु गरिएको छ,’ परियोजना प्रमुख कृष्णप्रसाद साठीले भने, ‘मुस्ताङलगायतका १० उच्च हिमाली जिल्लामा व्यावसायिक पशुपालन र कृषिको विस्तार हुनेछ ।’ कार्यक्रमले उत्पादन, प्रशोधन, गुणस्तर वृद्धि, प्याकेजिङ, बजार व्यवस्थापन र बजारीकरण गर्ने लक्ष्य लिएको छ ।
परियोजना सुरु गर्नुपूर्व एसियाली विकास बैंक, जिल्ला पशु सेवा र कृषि सेवा विभागका विज्ञ टोलीले सम्बन्धित जिल्लाको अवलोकन र अध्ययन भ्रमण गरेका थिए । जुम्ला, मुगु, हुम्ला, डोल्पालगायत जिल्लाका सम्बन्धित सरोकारवालासँग छलफल गरेर प्राथमिकीकरण गरेको क्षेत्रमा मात्र कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया