कांग्रेसमा पनि एकल पहिचानमा जान दबाब


काठमाडौ,२५  जेठ । एमालेका आदिवासी जनजाति नेताले पहिचानको विषयमा पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाइरहेका बेला कांग्रेसमा पनि एकल जातीय पहिचाहनसहितको स्वायत्त राज्यको पक्षमा उभिन नेतृत्वसमक्ष दबाब बढेको छ । कांग्रेसमा आबद्ध आदिवासी जनजाति नेताहरूले पार्टी सभापति सुशील कोइरालालाई बुधबार ११ बुँदे ज्ञापनपत्र बुझाउँदै आत्मनिर्णयको अधिकारसहितको राज्य निर्माणको नेतृत्व गर्न आग्रह गरेका हुन् ।
आदिवासी जनजाति संघका अध्यक्ष इन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले कोइरालालाई ज्ञापनपत्र बुझाउँदै जातीयताका विषयमा गम्भीर बन्न आग्रह गरेको थियो । उनीहरूले ज्ञापनपत्रमामार्फत एकल जातीय पहिचान, जातीय अग्राधिकार, पूर्ण समानुपातिक प्रणालीको माग गरेका छन् ।
प्रत्युत्तरमा सभापति कोइरालाले कांग्रेस आदिवासी जनजातिको हकअधिकारविरुद्ध कहिल्यै नरहेको उल्लेख गर्दै सबै जातजातिको अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको आश्वासन दिएका थिए । कांग्रेस विगतदेखि नै आदिवासी जनजाति र दलित समुदाय उत्थानमा लागिपरेको उल्लेख गर्दै कोइरालाले जनजातिका अधिकार सुनिश्चितताका लागि पार्टीले अग्रगामी भूमिका निर्वाह गर्ने बताएका थिए ।
अध्यक्ष गुरुङले नयाँ पार्टी बनाउने विषयमा कांग्रेसका जनजाति नेता/कार्यकर्तामा बहस नभएको बताए । ‘हामीलाई पार्टी छाड्न ठूलो प्रेसर आएको छ,’ उनले भने, ‘तर, हामीले अहिले नै कांग्रेस छाड्ने र जातीय पार्टी बनाउने सोचेका छैनौँ ।’
आदिवासी जनजाति नेताले सरकारविरुद्धको मोर्चाबन्दीमा संघीयताविरोधीसँग समेत गठवन्धन गरेको गुनासो गरेका थिए । ‘सरकारविरुद्धको मोर्चामा संघीयताविरोधीको समेत संलग्नता छ, कतै पार्टी त्यतै गएको त होइन भन्ने हाम्रो आशंका छ,’ गुरुङले भने, ‘हामी २६ गतेको सभामा सहभागी हुने/नहुने विषयमा बिहीबार निर्णय लिनेछाँै ।’

प्रतिक्रिया