अपहरणकारीलाई १५ बर्ष कैद एक करोड जरिवाना


चितवन, २४ जेठ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डाक्टर भक्तमान श्रेष्ठको अपहरण मुद्धामा संलग्न भारतीय नागरिक रोहित पालिवाल सहित आठ जनाको मुद्धा जिल्ला अदालत चितवनले बुधबार फैसला गरेको छ ।
अपहरणमा फिरौती बापत लिइएको एक करोड आठ लाख ५० हजार बिगो तथा बिगो सहितको जरिवाना र कैद सजाय पाउने गरी जिल्ला अदालत चितवनका न्यायधिश भोलानाथ चौलागाइको एकल इजलासले मुद्धा फैसला सुनाएको  हो ।
डा. भक्तमानको २०६७ जेठ ४ गते अपहरण भएको थियो । उनी १९ दिनपछि एक करोड आठ लाख ५० हजार रुपैयां बराबरको सुन फिरौती बापत बुझाएर अपहरण मुक्त भएका थिए ।
डा. श्रेष्ठको अपहरणमा संलग्न मुख्य भनिएका भारतीय नागरिक रोहित पालिवाल र भिमसेन पण्डितलाई जिल्ला अदालतले १३ वर्ष अपहरण तथा शरिर बन्धक मुद्धा अन्तर्गत कैद र संगठित अपराध भएकोले थप दुई वर्ष सहित १५ वर्ष कैद सजाय फैसला गरेको जिल्ला अदालत चितवनका श्रेष्तेदार दिनबन्धु बरालले जानकारी दिए ।
त्यसैगरी, नविन क्षेत्री, बद्रीप्रसाद ढुङ्गाना, सुनिल श्रेष्ठ र सुब्बा तामाङलाई ११ वर्ष अपहरण तथा शरिर बन्धक मुद्धा अन्तर्गत कैद र थप दुई वर्ष संगठित अपराध गरेकोले कैद सजाय गरी १३ वर्ष कैद सजाय फैसला भएको श्रेष्तेदार बरालले जानकारी दिए । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाई पाएका छन् ।
जरिवाना सहित कैद सजाय तोकिएका छ जनाले जनही एक लाख रुपैयाँ जरिवाना पनि तिर्नुपर्ने फैसला पनि जिल्ला अदालत चितवनले गरेको छ । त्यसैगरी, १९ दिन अपहरण गरेर राखेकोले डा. श्रेष्ठलाई एक दिनको एक हजार रुपैयाँका दरले १९ हजार रुपैयाँ क्षतिपूर्ती दिने फैसला पनि गरिएको श्रेष्तेदार शाखा प्रमुख बरालले बताए ।
डा. भक्तमानको अपहरणमा संलग्न भएका रोहित पालिवाल, बद्रीप्रसाद ढुंगाना, नविन क्षेत्री र सुनिल श्रेष्ठ थुनामा छन् । अन्य चार जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । डा. भक्तमान मुक्त भएपछि अपहरण तथा शरिर बन्धक मुद्धामा जिल्ला अदालत चितवनमा २०६७ साउन १७ गते दर्ता भएको थियो ।

प्रतिक्रिया