पाकिस्तानद्वारा अर्को परीक्षण

इस्लामावाद, २४  जेठ । पाकिस्तानले बिहीबार परमाणु क्षमतायुक्त क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । गत महिना भारतले लामो दूरीसम्म मार हान्न सक्ने परमाणुबाहक क्षेप्यास्त्र अग्नि–५ को सफल परीक्षण गरेयता पाकिस्तानले गरेको यो पाँचौँ परीक्षण हो । भारतको अग्नि–५ चीनतर्फ लक्षित रहेको भनिए पनि यसको जवाफ पाकिस्तानले फर्काइरहेको छ ।
पाकिस्तानी सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा हात्फ–७ (बाबर) नामक क्रुज मिसाइल परीक्षण गरिएको र यसको मारक क्षमता सात सय किलोमिटर रहेको जनाइएको छ । जमिनको सतहछेउ हुँदै जाने हात्फ–७ को निसाना नचुक्ने र यसलाई राडर्रले समेत पत्ता लगाउन नसक्ने विज्ञप्तिमा उल्लेख छ । यसले परमाणु र परम्परागत दुवै खालका हतियार बोक्न सक्ने जनाइएको छ ।
‘टिइआरसिओएम र डिएसएमएसीजस्ता अत्याधुनिक क्रुज मिसाइल प्रविधिको प्रयोग गरी निर्माण गरिएको यो क्षेप्यास्त्रको प्रभावकारिता उच्च छ,’ विज्ञप्तिमा भनिएको छ । क्षेप्यास्त्रको सफल परीक्षणले पाकिस्तानको प्रतिरोधात्मक क्षमता प्रवद्र्धन गर्ने र राष्ट्रिय सुरक्षालाई थप मबजुत पार्ने दाबी गरिएको छ ।
करिब सात दिनअघि पाकिस्तानले मध्यदूरीसम्म प्रहार गर्नसक्ने परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको सफल परीक्षण गरेको थियो । हात्फ–९ नाम दिइएको सो क्षेप्यास्त्रले ६० किलोमिटर टाढासम्म निसाना साध्न सक्ने जनाइएको थियो । (एजेन्सी)


भारत र पाकिस्तानको परमाणु शस्त्रागार निरन्तर बढिरहेको एक अन्तर्राष्ट्रिय संस्थाले जनाएको छ । भारत र पाकिस्तानले परमाणु हतियार प्रक्षेपण गर्ने नयाँ तौरतरिका विकास गरिरहेको र सैन्य प्रयोजनका लागि पारमाणविक सामग्री उत्पादन गर्ने क्षमता बढाइरहेको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्सिच्युटको प्रतिवेदनमा जनाइएको छ ।
पाकिस्तानले छोटो दूरीसम्म मार हान्नसक्ने क्षेप्यास्त्रहरूको विकास गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘परमाणु क्षमतायुक्त ब्यालेस्टिक र क्रुज मिसाइल निर्माण तथा तैनाथ गर्ने एवं पारमाणविक सामग्री उत्पादन गर्ने क्षमता विस्तार गर्न दुवै राष्ट्र लागिपरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । अहिले भारतसँग ८० देखि सय तथा पाकिस्तानसँग ९० देखि एक सय १० वटा परमाणु हतियार रहेको प्रतिवेदनमा जनाइएको छ ।
दुई देशबीच युद्ध भए पाकिस्तानले पहिले परमाणु हतियार प्रयोग गर्ने सम्भावनालाई नकार्न नसकिने प्रतिवेदनमा उल्लेख छ । ‘पाकिस्तानको सिद्धान्त न्यूनतम प्रतिरोधात्मक क्षमता प्रयोग गर्ने छ । तर, संख्यात्मक हिसाबले परम्परागत हातहतियार र जनशक्तिमा भारत अघि रहेकाले शक्ति सन्तुलन कायम गर्न पाकिस्तानले सुरुमै परमाणु हतियार प्रयोग गर्ने सम्भावनालाई नकार्न सकिँदैन,’ प्रतिवेदनमा भनिएको छ । (एजेन्सी)

प्रतिक्रिया