कलाकारका फेसबुक अनुभूति


सामाजिक सञ्जाल फेसबुकले छपक्कै छोपेको छ अहिलेको पुस्तालाई । २००३ अक्टोबर २८ मा जन्मिएसँगै यसले करोडौँलाई आफ्नो मोहजालमा कैद गरिसक्यो । नेपाली समाज पनि यसबाट अछूतो छैन अनि फेसबुकबाट बाहिर छैनन् नेपाली कलाकार पनि । नेपाली कलाकारको फेसबुक अपडेट कस्तो होला ? के छ उनीहरूको फेसबुकभित्रको अन्तर्कथा ? जिज्ञासाको विषय बन्न सक्छ । कलाकारहरूलाई फ्यानहरूको जिज्ञासा मेटाउने सजिलो माध्यम पनि बनेको पाइन्छ यो । तर, फेसबुककै कारण अनेकौँ कठिनाइ पनि झेल्नुपरेको सुनाउँछन् । अन्य मानिसले कलाकारको फोटो र नाम राखेर आफूखुसी फेसबुक एकाउन्ट खोलिदिँदा हैरानी खेप्नुपरिरहेको हुन्छ । अनि कतिपय अवस्थामा ‘फ्रेन्ड’ ले पठाउने अश्लील फोटो, भिडियो तथा विभिन्न म्यासेजले समस्या परेको सुनाउँछन् नेपाली कलाकार ।
निर्देशक तुलसी घिमिरेले एक वर्षअगाडि आफ्नै नामबाट फेसबुक खोलेका रहेछन् । भन्छन्, ‘श्रीमती र म बसेर फेसबुक खोल्यौँ, खोल्न नजानिएला कि जस्तो लागेको थियो तर भएछ । फेसबुक खोलिसकेपछि अपलोड गर्नचाहिँ जानिएन, छोरीहरूले गरिदिन्थे । त्यो एकाउन्ट मैलेभन्दा पनि छोरीहरूले नै बढी चलाए ।’  आफ्ना दुई सय ५० जनाजति फेसबुक फ्रेन्ड रहेको र तिनमा समकालीनभन्दा पनि युवा पुस्ता र केटीसाथी बढी रहेको घिमिरेले बताए । उनका अनुसार फेसबुकमा उनलाई छोरीभन्दा सानो उमेरका साथीहरूले ‘यार, तिमी’ भनेर सम्बोधन गरिरहेका हुन्छन् रे †
नायिका सुमीना घिमिरेले भने दुई वर्षअघि आफैँले फेसबुक खोले पनि त्यति नचलाएको र पछि बन्द भएको सुनाइन् । तैपनि उनका नाम र फोटो राखेर अरूले मनलाग्दी फेसबुक खोलेका छन् रे † भन्छिन्, ‘मेरै नाम र फोटोमा धेरै केटीको फेसबुक छ । कति साथीले म नै हुँ भनेर च्याट गर्दा अनेकौँ छाडा शब्द प्रयोग भएको सुनाउँछन् ।’ यसले गर्दा आफूलाई नकारात्मक असर परिरहेको उनले सुनाइन् ।  भनिन्– ‘अबचाहिँ आफ्नै नामबाट आफैँले एउटा एकाउन्ट खोल्नुपर्लाजस्तो छ ।’
नायिका झरना थापाले पनि करिब तीन वर्षअघि फेसबुक खोलेकी रहिछन्, आफ्नो वास्तविक नामबाटै । यसमा उनलाई भाइले सघाएका रहेछन् । अहिले उनको एकाउन्टमा तीन हजारभन्दा बढी साथी छन्, तीमध्ये केटा बढी । जानिसकेपछि त के थियो र ? आफ्नै नामबाट तीनवटा एकाउन्ट पुर्‍याइसकिछन् । भन्छिन्– ‘फेसबुक फ्यानमध्ये श्रीमान् बूढो भइसक्यो, मसँग विवाह गरौँ भन्ने थुप्रै हुन्छन् । आई लभ युको पर्पोज त भाइरसजसरी आउन थालिसक्यो ।’ त्यसो त अरू मानिसले आफ्नो नामबाट फेसबुक खोलेर जथाभाबी चलाइदिँदाको सास्ती उनले पनि नभोगेकी होइनन् । तर, अति भएकाले अब यसलाई सामान्य रूपमा लिन थालेकी छन् रे †
नायक राजवल्लभ कोइरालाले चार वर्षअगाडि खोलेको फेसबुक बन्द गरेर फेरि अर्को एकाउन्ट खोल्न भ्याइसकेछन् । कम्प्युटर सम्बन्धमा अध्ययन गरेकाले सुरुमा आफैँले खोलेको र कुनै अप्ठेरो नलागेको सुनाए । तर, फोटो अपलोड गर्ने मामिलामा चाहिँ थोरबहुत अलमलिएकै रहेछन् । फेसबुकमा उनका करिब सात हजार पाँच सय साथीमध्ये केटी बढी छन् रे †  भन्छन्, ‘म्यासेजमा केटी फ्यानमध्ये एक–दुई जनाले विवाह गरौँ भनेर दिक्कै लगाए, अति भएपछि फ्रेन्ड लिस्टबाटै हटाउन बाध्य भएँ ।’ उनका नामबाट पनि अन्य मानिसले फेसबुक नखोलेका होइनन् तर उनलाई चाहिँ खासै असर परेको रहेनछ ।
पूर्व मिस नेपाल माल्भिका सुब्बाका पर्सनल पेज र फ्यान पेज गरी दुईवटा फेसबुक पेज छन् । ६ वर्षअघि फेसबुक खोल्नुपहिले पनि हाइफाइ चलाएकाले खासै अप्ठ्यारो नभएको उनले सुनाइन् । ‘तर फोटो अपलोड गर्नचाहिँ अलि गाह्रै भो,’ भनिन् । पर्सनल फेसबुकका करिब चार हजार साथीमध्ये केटी बढी छन् भने फ्यानपेजमा चाहिँ ९१ हजारभन्दा बढी प्रशंसकले ‘लाइक’ गरेको उनले बताइन् । अरूले आफ्नो नाम र फोटो राखेर खोल्ने फेसबुकले हैरानी पारेको रहेछ उनलाई । भन्छिन्, ‘मेरो नाममा पाँचवटाभन्दा बढी फेसबुक खोलिएको छ । दुई–चारवटा त रिपोर्ट गरेर नै बन्द गराइदिएँ । फोटो हेर्नेहरूले मै हो भनेर एड गरिहाल्छन्, तर प्रयोग गर्नेले मनलागी लेखेर बदनाम गरिदिन्छन् । यसले मलाई त निकै असर परेको छ ।’
नायिका नन्दिता केसीले चाहिँ फेसबुकमा आफ्नो नाम ‘केसी नन्दिता’ राखेकी रहिछन् । उनले दुई वर्षअघि एकाउन्ट खोल्दा भाइ र बहिनीले सहयोग गरेकाले खासै अप्ठ्यारो बेहोर्नुपरेनछ । अहिले उनको फेसबुकका करिब एक हजार दुई सयजति फ्रेन्डमा केटी बढी रहेछन् । ‘दिनमा १०–१५ जनाको फ्रेन्ड रिक्वेस्ट आइरहेको हुन्छ तर सबैलाई कन्फर्म गर्दिनँ,’ भनिन् ।
गायिका इन्दिरा जोशी सेलेक्ट गरेर मात्र फ्रेन्ड रिक्वेस्ट कन्फर्म गर्छिन् रे † त्यसैले उनका साथी आठ सय मात्र रहेछन् । एक वर्षअघि बहिनीको सहयोगमा फेसबुक खोलेको उनले सुनाइन् । च्याटमा खासै नबस्ने हुनाले प्रेमप्रस्तावको लफडा भने उनले झेल्नुपरेको छैन रे † ‘तर अन्य मानिसले खोलिदिएका फेसबुकका कारणले चाहिँ साह्रै झमेला बेहोर्नुपर्छ’, भन्छिन्, ‘धेरैले मै हुँ भनेर च्याट गर्दा रहेछन्, तर वास्तवमा त्यो म हुन्न ।’
निर्देशक दिनेश डिसीले फेसबुक खोलेको पाँच वर्षको अवधिमा १८ सय साथी बनाएछन्, केटी बढी । सुरुमा खोल्दा समस्या नपरे पनि पछि ह्याङ भएर तनाब दिएको उनले सुनाए । बिहान ६ बजे र  बेलुका ९ बजेपछि च्याटमा बस्ने गरेको बताउँछन् । त्यसो त उनको नामबाट पनि अन्य मानिसले फर्जी एकाउन्ट चलाएका रहेछन् । ‘यसले चाहिँ साह्रै समस्या पारेको छ,’ उनले भने ।
चार वर्षअघि फेसबुक एकाउन्ट खोलेकी नायिका बिनिता बरालका साथी चार हजार नाघेछन् । दैनिक एक–दुई घन्टा चलाउँदा नयाँ अपडेट गरिहाल्दी रहिछन् यी चपली हाइट गर्ल । उनलाई विवाह र सेक्ससम्बन्धी म्यासेज बढी आउँछन् रे । त्यस्ता म्यासेजलाई धन्यवाद लेखिँदिँदा फ्यानहरूले झन् कामुकता देखाउने गरेको सुनाउँछिन् ।
गायक प्रमोद खरेलले पनि आफ्नो फेसबुक आफैँ खोलेका रहेछन् तर दुई दिनको अवधिमा १० पटक प्रयास गर्नुपरेछ । अहिले पाँच हजारभन्दा बढी साथी बनाएका उनको फ्रेन्ड लिस्टमा केटी नै बढी रहेछन् । राम्ररी बुझेर मात्र फ्रेन्ड रिक्वेस्ट कन्फर्म गर्ने सुनाए यी गायकले । ‘तर मेरो नाममा अरूले एकाउन्ट खोलिदिँदा समस्या भोग्नुपरेको छ,’ उनले सुनाए ।
चार वर्षअघि आफ्नै प्रयासले फेसबुक खोलेकी नायिका नम्रता श्रेष्ठचाहिँ च्याटमा फ्यानसँग कुरा गर्दिनन् रे † म्यासेजमा खासै नराम्रा पोस्ट पनि आएका छैनन् रे † तर अन्य मानिसले उनको फोटो र नाम राखेर मनलागी चलाइदिने फेसबुकले भने हैरानै पारेको रहेछ । भन्छिन्, ‘यिनै कारणले मलाई फेसबुक नै नचलाऊँ जस्तो लाग्छ ।’

प्रतिक्रिया