रिसाइन् हुमैना

मुम्बई : बलिउड सेलिब्रिटीहरू बढीजसो चर्चामा आइरहने कारणमध्ये एउटा हो, अर्को कुनै विपरीत लिंगी सेलिब्रिटीसँग नाम जोडिनु । चर्चामा रहिरहन प्राय: सेलिब्रिटीहरू नै यस्ता उपाय अपनाउने गर्छन् । तर, भर्खरैको यस्तै प्रसंगले नायिका हुमैना हुसेनलाई भने रिसको पारो तताइदिएको छ । नायक सञ्जय दत्तसँग आफ्नो नाम जोडिएर अनेक हल्ला फैलिएको भन्दै उनी रिसले चुर भएकी हुन् । सञ्जय आफूभन्दा धेरै सिनियर भएकाले उनीसँग यसरी आफ्नो नाम जोड्न नहुने उनले एजेन्सीलाई बताइन् ।
शेर, बोलजस्ता चलचित्रमा महिला ग्याङस्टारको भूमिका निर्वाह गरेर चर्चा बटुलेकी नायिका हुमैनाले भनिन्, ‘म सञ्जयलाई एकदमै इज्जत गर्छु, अनेक नचाहिने हल्ला गर्दै उनीसँग मेरो नाम जोडिदिनु गलत हो ।’ त्यसो त एजेन्सीले कुनै चलचित्रको छायांकन सेटमा यी दुई सेलिब्रिटीलाई एकअर्कासँग कुराकानी गरेको पनि कमै देख्न पाइने उल्लेख गरेको छ ।
पछिल्लो समय सोनम शाहले निर्माण गरेको चलचित्रमा उनले ग्याङस्टार पतिको मृत्यु भएपछि सो ग्याङ आपैँmले सम्हाल्ने नारीको भूमिका निर्वाह गरेकी छन् । नायक सञ्जय दत्त पतिको भूमिकामा छन् । ‘तर, यो चलचित्रमा उनको र मेरो एउटा पनि रोमान्टिक सिन छैन,’ हुमैनाले भनिन्, ‘म उनलाई धेरै इज्जत गर्ने भएकाले चलचित्रको सेटमा उनीसँग जिस्किइरहने, बोलिरहने हिम्मत गर्दिनँ ।’ चलचित्रमा आफू कसैसँग रोमान्सभन्दा पनि सबैको नजरमा पर्ने काम गर्न आएकाले यस्ता स्क्यान्डलको पछि नलाग्ने उनले बताइन् । आफू विद्या बालनको जस्तो तारिफयोग्य काम गर्ने उद्देश्यमा रहेको बताउँदै उनले एजेन्सीलाई भनिन्, ‘त्यसैले कसैसँग जोडिएर फैलाउने अफवाहले मलाई केही असर गर्दैन ।’ (एजेन्सी)

प्रतिक्रिया