छाडा चलचित्र रोक्न कडा कदम चालिने

काठमाडौं : पछिल्लो समय नेपालमा अश्लील चलचित्र निर्माणको बाढी आइरहेको छ ।  नेपाली समाज र चलचित्रमा यसले पार्नसक्ने प्रभावबारे मंगलबार नेपाल चलचित्र निर्देशक समाजले एक विचार गोष्ठी आयोजना गर्‍यो ।
‘नेपाली चलचित्रको वर्तमान अवस्था, भविष्य र चलचित्रकर्मीको दायित्व’ विषयक गोष्ठीमा बढ्दै गएको अश्लील चलचित्र निर्माण क्रमले विकृति निम्त्याएको सहभागीहरूले औंल्याए । चलचित्रसम्बन्धी अधिकांश संघसंस्थाको प्रतिनिधित्व रहेको कार्यक्रममा निर्देशक समाजका अध्यक्ष विमल पौडलले यस्ता विकृतिमूलक चलचित्र बनाउने निर्देशकलाई भित्री रूपमा कारबाही भइरहेको बताए । त्यस्तै नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले आफ्नो संघले यस्ता चलचित्र बनाउनेसँग स्पष्टीकरण लिइरहेको सुनाए  । त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले यस्ता सिनेमालाई रोक्न बोर्डले कडा कदम चाल्ने तयारी गरिरहेको जानकारी गराए ।
खुलमखुला छाडा संवाद र अश्लील दृश्यका चलचित्र बन्न थालेपछि चलचित्रसम्बन्धी संघसंस्था विरोधमा लाग्दै आएको छन् । यस्तै चलचित्रको कोटिमा  परेको एटिएमका निर्मातालाई निर्माता संघले २४ घन्टे अल्टिमेटम दिएर स्पष्टीकरण लिएको थियो । चलचित्र एटिएमको छाडा संवादसहितको प्रोमो सार्वजनिक भएपछि चलचित्रसम्बन्धी संघसंस्थाको यसतर्फ
ध्यानाकर्षण भएको हो । सबैको ध्यानाकर्षण गर्ने चलचित्र एटिएम सेन्सर गरेरसमेत चलाउन दिन नहुने विभिन्न क्षेत्रबाट आवाज उठिरहेको छ । (सौस)

प्रतिक्रिया