खोजखबर

बर्दियामा एक सय पाँच बाह्रसिंगे

सौर्य अनलाइन २०६९ जेठ २४ गते १:५३ मा प्रकाशित

काठमाडौं, २४ जेठ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेको संख्या एक सय पाँच पुगेको छ । पाँच वर्षअघि सन् ००७ मा भएको दोस्रो बाह्रसिंगे गणनामा निकुञ्जमा ६३ बाह्रसिंगे थिए ।
भर्खरै सम्पन्न ‘बाह्रसिंगेको तेस्रो गणना–०१२’ ले पाँच वर्षमा बाह्रसिंगे ६३ बाट बढेर एक सय पाँच पुगेको देखाएको हो । निकुञ्जले ८ देखि १२ जेठसम्म पाँच दिन लगाएर बाह्रसिंगेको गणना गरेको थियो । सन् ००१ को पहिलो गणनापछि यो वर्षको गणनाले बाह्रसिंगेको संख्या बढेको देखाएको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताए ।
‘अहिलेको गणनाले सन् ००१ यता पहिलोपटक बाह्रसिंगेको संख्या बढेको देखाएको छ,’ उनले मंगलबार सौर्यसँग भने ‘फाँट र घाँसे मैदान सुधारले यस्तो भएको हुनसक्छ ।’ उनले निकुञ्जको गेरुवा नदी आसपास, बगौरा फाँटा र खौराहा फाँटामा बाह्रसिंगेको मुख्य वासस्थानबाहेक अन्यत्रका फाँट र घाँसे मैदानमा पनि बाह्रसिंगे भेटिएको बताए ।
गणनाअनुसार वयस्क भाले बाह्रसिंगे १६, वयस्क पोथी ६०, अर्ध वयस्क बाह्रसिंगे आठ र बच्चा बाह्रसिंगे २१ छन् । बर्दियामा सन् १९७७ मा पहिलोपटक ६ ओटा बाह्रसिंगे देखिए यता निकुञ्जले सन् ००१ बाट पाँच वर्ष बिराएर नियमित बाह्रसिंगे गणना गर्दै आएको छ । सन् ००१ को पहिलो गणनामा ९१ र सन् ००७ को दोस्रो गणनामा ६३ बाह्रसिंगे फेला परेको निकुञ्जले जनाएको थियो । नेपालमा सबैभन्दा धेरै एक हजार सात सयभन्दा बढी बाह्रसिंगे शुक्लाफाँटा वन्यजन्तु आरक्षमा छन् ।
दोस्रो गणनामा पहिलोमा भन्दा २८ वटा कम हुनुमा त्यतिबेलाको सशस्त्र द्वन्द्व मुख्य कारण रहेको सहायक संरक्षक अधिकृत थापाले बताए । ‘द्वन्द्वकालमा रेन्ज पोस्ट नहुँदा सुरक्षा अभावमा गैँडासँगै बाह्रसिंगे पनि मासिएकाले सन् ००१ देखि ००५ बीचमा बाह्रसिंगे घटेका हुन्,’ उनले भने । निकुञ्जका अनुसार द्वन्द्वकालको अवधिमा निकुञ्जको बबई उपत्यकाबाट ३७ गैँडा हराएका थिए । सन् ००१ यता द्वन्द्वकालमा असुरक्षा बढेकाले बबईमा रहेको एकमात्र निकुञ्जको रेन्ज पोस्टसमेत हटाइएको थियो ।
मृग प्रजातिकै बाह्रसिंगेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन– ०२९ मार्फत् संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । संरक्षित वन्यजन्तु मार्न वा शिकार गर्न पाइन्न । संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद वा बिक्री गर्ने व्यक्तिलाई ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय