तेन्दुलकरद्वारा सांसद पदको शपथ


नयाँ दिल्ली, २३ जेठ । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले सोमबार माथिल्लो सदन राज्यसभा सदस्य पदको शपथ लिएर जीवनको नयाँ इनिङ सुरुआत गरेका छन् । ३९ वर्षीय सचिनले उपराष्ट्रपति हमिद अन्सारीको च्याम्बरमा हिन्दी भाषामा शपथ लिएका हुन् ।
‘साहित्य, विज्ञान, कला र समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरू’ का लागि सुरक्षित राखिएको र राष्ट्रपतिले मनोनीत गरेका १२ जनामध्ये एक रहेका सचिन भारतमा सक्रिय खेलजीवनमा व्यस्त रहेकै बेला सांसद बन्ने पहिलो खेलव्यक्तित्व पनि हुन् । राज्यसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ ।
राज्यसभाको सत्र गत महिना नै समाप्त भइसकेको हो । सचिनलाई बलिउड अभिनेत्री रेखासँगै राज्यसभा सदस्यका लागि मनोनीत गरिएको थियो भने रेखाले गत १५ मेमा राज्यसभाको सदस्यता ग्रहण गरेकी हुन् । सोमबार सचिनसित उनकी पत्नी डा. अञ्जली पनि थिइन् ।
शपथ लिइसकेपछि तेन्दुलरले भने, ‘राज्यसभामा आइसकेपछि मैले क्रिकेट मात्र होइन अन्य खेलहरूलाई पनि सहयोग गर्न सक्नेछु । म अन्य खेलहरूलाई पनि सहयोग पुर्‍याउने प्रयास गरिरहनेछु । यस्तो काम गर्दा चुनौती आउन सक्छन्, त्यस्तो बेलामा म अन्य सांसद साथीहरू, मिडिया र समस्त देशवासीसित सहयोग लिन चाहन्छु ।’ तेन्दुलकरले आफू अहिले जहाँ रहेको भए पनि त्यो सबै क्रिकेटले गर्दा नै भएकोले आफूले पहिलेदेखि नै यस खेलका लागि केही गर्न खोजिरहेको पनि बताए ।
सक्रिय क्रिकेट खेल्दै पनि के सांसदको जिम्मेवारी पूरा गर्न सकिन्छ त ? भन्ने मिडियाको जिज्ञासामा तेन्दुलरले भने, ‘म मनोनीत सदस्य हुँ । म आफूलाई सांसद बनाऊ भनेर कसैकोमा गएको थिइन । म यो पदलाई एउटा विशिष्ट सम्मान मान्दछु । म आज यहाँ छु त केवल आफ्नो क्रिकेट करिअरले गर्दा । त्यसकारण म क्रिकेटबाट आफ्नो ध्यान अन्यत्र कतै मोड्न सक्दिन ।’ उनले आफूले अहिल्यै क्रिकेटबाट सन्न्यास लिने कुनै सोच नभएको पनि प्रष्ट पारे । उनले क्रिकेटबाट बिदा लिने निर्णय गरेमा त्यसबारेमा सबैलाई जानकारी दिने पनि बताए ।
प्रधानमन्त्री कार्यालयमा मन्त्री वी नारायण सामीले उनलाई हरियो रंगको सल ओढाइदिएका थिए । टेस्ट र एकदिवसीय खेलमा गरेर एक सय अन्तर्राष्ट्रिय शतक बनाइसकेका तेन्दुलकरका साथीहरूलाई उनले संसद्मा पनि पक्कै राम्रो गर्नेछन् भन्ने विश्वास छ । भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले भने, ‘राज्यसभा सचिनका लागि नयाँ आयाम हो । मलाई पूरा विश्वास छ, उनले त्यहाँ पनि राम्रो कार्य गर्नेछन् । उनलाई मेरो धेरै शुभकामना । उनले क्रिकेटसँगै हरेक क्षेत्रमा योगदान दिएका छन् ।’ हाल पन्जाबमा स्वास्थ्यलाभ गरिरहेका साथी क्रिकेटर युवराज सिंहले भने, ‘सचिनलाई अब ‘गुड मर्निङ, सर’ भनेर बोलाउनुपर्छ ।’
विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दले एनडिटिभीसित कुराकानी गर्दै भने, ‘सचिनले आफ्नो हरेक भूमिकालाई निकै ‘इन्ज्वाय’ गरेका छन् । उनी हरेक भूमिका राम्ररी निर्वाह गर्न सक्छन् । राज्यसभा उनका लागि ठूलो जिम्मेवारी हो ।’ राज्यसभामा सचिनको प्रवेश विवादरहित भने रहेन । उनको मनोनयनको विषयलाई आधार बनाई अदालतमा मुद्दा पनि दायर भएको थियो जसमा अदालतले केन्द्र सरकारसित स्पष्टीकरण माग गरेको थियो । तर पछि अदालतले यो मुद्दा खारेज गरिदिएको थियो ।
राज्यसभामा मनोनीत भइसकेपछि तेन्दुलरले प्रतिक्रिया दिंदै यो एक उच्चस्तरीय सम्मान भएको तर आफू नेता नभएर खेलाडी भएको र सधैं खेलाडी नै रहने बताएका थिए । उनले भनेका थिए, ‘राष्ट्रपतिले तपाईंको नाम मनोनीत गरेका हुन् भने निश्चय पनि त्यो सूचीमा अनेक ठूला नाम समावेश हुन्छन् । लता दिदी (लता मंगेशकर), पृथ्वीराज कपूर र अरू पनि थुपै्र ठूलाठूला नाम थिए, जसलाई मनोनीत गरिएको थियो । म पछिल्ला साढे बाइस वर्षदेखि लगातार क्रिकेट खेल्दै आइरहेको छु । मलाई लाग्छ, यति लामो समयसम्म खेलेको हुनाले नै मलाई मनोनीत गरिएको हो ।’

प्रतिक्रिया