कृषि क्षेत्रमा साढे २० अर्ब ऋण लगानी

काठमाडौं, २३  जेठ । वाणिज्य बैंकले चालु आर्थिक वर्षको नौ महिनामा कृषि क्षेत्रमा ४५ प्रतिशतले कर्जा वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले कृषि, जलविद्युत्लगायतका उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न निर्देशन जारी गरेपछि कृषि क्षेत्रमा तुलनात्मक रूपमा बैंकहरूको कर्जा लगानी वृद्धि भएको हो ।
चैत मसान्तसम्मको तथ्यांकअनुसार कुल ३२ वाणिज्य बैंकले कृषि क्षेत्रमा २० अर्ब ६७ करोड ८० लाख रुपियाँ ऋण लगानी गरेका छन् । गत वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकले कृषि क्षेत्रमा १४ अर्ब १९ करोड १६ लाख रुपियाँ मात्र ऋण लगानी गरेका थिए । कृषि क्षेत्रअन्तर्गत फार्मिङ सेवामा एक अर्ब ६१ करोड २३ लाख, चिया खेतीमा एक अर्ब ३५ करोड ४१ लाख, पशुपालनतर्फ दुई अर्ब १४ करोड आठ लाख तथा वनजंगल, माछापालनतर्फ १९ करोड रुपियाँ लगानी भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा तथा लगानीमा १० दशमलव एक प्रतिशतले बढेको छ । वित्तीय प्रणालीमा ८६ अर्ब ४९ करोड रुपियाँले कर्जा लगानी बढेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जा तथा लगानी ११ दशमलव तीन प्रतिशतले बढी ८४ अर्ब २० करोड रुपियाँ थपिएको थियो । समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कर्जा तथा लगानी क्रमश: १२ दशमलव आठ प्रतिशत, ६ प्रतिशत र शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।
चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव चार प्रतिशत अर्थात् ५८ अर्ब ५२ करोड रुपियाँले मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३ दशमलव तीन प्रतिशत अर्थात् ८० अर्ब ६४ करोड रुपियाँले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको १२ प्रतिशतले बढेको छ भने विकास बैंक र वित्त कम्पनीहरूको क्रमश: शून्य दशमलव आठ प्रतिशत र चार प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १८ अर्ब ४९ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो क्षेत्रतर्फको कर्जा  २० अर्ब ९७ करोडले रुपियाँले बढेको थियो । त्यस्तै समीक्षा अवधिमा निर्माण क्षेत्रतर्फको कर्जा सात अर्ब ४३ करोडले, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा  १३ अर्ब २६ करोडले र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा तीन अर्ब ३३ करोड रुपियाँले बढेको छ ।
त्यस्तै नौ महिनामा खानीजन्य क्षेत्रतर्फको कर्जा पनि ४४ दशलमलव तीन प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार खानीजन्य क्षेत्रतर्फको कर्जा तीन अर्ब १८ करोड २६ लाख रुपियाँ पुगेको छ ।
श्रम समस्याका कारण औद्योगिक उत्पादनमा गिरावट आइरहेको अवस्थामा मुलुकमा सेवा क्षेत्रको वृद्धिदर भने राम्रो भइरहेको छ । सन् ०१२ को पहिलो पाँच महिनामा करिब साढे दुई लाख पर्यटक नेपाल भित्रिसकेको तथ्यांक बाहिर आइरहेको परिप्रेक्ष्यमा सोहीअनुसार यस क्षेत्रमा लगानी पनि वृद्धि भइरहेको छ । चैत्र मसान्तसम्मको तथ्यांक हेर्दा सेवा क्षेत्रमा वाणिज्य बैंकहरूले मात्र ४१ अर्ब ६८ करोड ९६ लाख रुपियाँ ऋण लगानी गरेका छन् । सेवा क्षेत्रअन्तर्गत पर्यटनसँग सम्बन्धित ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, र्‍याफ्टिङलगायतका तीन अर्ब २० करोड ७३ लाख रुपियाँ ऋण प्रदान गरिएको छ भने होटलमा नौ अर्ब २८ करोड ४८ लाख रुपियाँ ऋण लगानी भएको छ ।

प्रतिक्रिया