चिनीमिलको जमिन गौचरनमा परिणत

वीरगन्ज, २३  जेठ । तत्कालीन सरकारले ०५९ मा विघटन गरेको पिपरास्थित चिनीमिल गौचरनमा परिणत भएको छ ।
चिनीमिलबाट नाफा हुन नसकेको भन्दै तत्कालीन  सरकारले  विघटन गरेको थियो । मिल अभावमा पर्सामा उत्पादित ५० हजार मेट्रिक टन उखु छिमेकी जिल्लामा पेल्नका लागि लानुपर्ने अवस्था देखिएको छ ।
पर्सा जिल्लामा सो उद्योग बन्द भएपछि उखु क्रसिङका लागि अर्को उद्योग छैन । बाराको मामकौर, रौतहटको गरुडा चिनीमिल र सर्लाहीमा रहेको इन्दुशंकर चिनीमिलमा उखु क्रसिङका लागि लैजानुपरेको स्थानीयवासी बताउँछन् ।
पर्सा विश्रामपुरका स्थानीय किसान रामसेवक साहले उद्योग सञ्चालन भएको समयमा आफूहरूले कुनै समस्या झेल्न नपरे पनि अहिले चर्को समस्या भोग्नुपरेको बताए । उनले सो उद्योग पुन: सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
करिब १० वर्षअघि सो उद्योग बन्द भएपछि उद्योगमा रहेका महत्त्वपूर्ण भौतिक सामग्री जीर्ण बन्दै गइरहेका छन् भने वीरगन्जसहित बारामा डुमरबाना चिनी मिलको करिब ५० बिगाह जमिन अहिले गौचरनमा परिणत भएको छ ।
वीरगन्ज चिनी उद्योग पुन:सञ्चालनका लागि स्थानीयस्तरमा पूर्वसभासद् अजय द्विवेदीको संयोजकत्वमा एक संरक्षण तथा सरोकार समिति गठन गरिएको छ ।
समितिको मुख्य उद्देश्य भनेको वीरगन्ज चिनी मिल र त्यसैसँग रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष अजय द्विवेदीले बताए ।
उनले वीरगन्ज चिनी मिल सबै नेपालीको गौरवसँग गाँसिएको विषय भएकाले यसको संरक्षण सबै लाग्नुपर्ने बताए । चिनी मिलको देशभर रहेका जग्गा संरक्षण गर्न पनि आफूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भनेको र सो विषयमा प्रधानमन्त्री पनि गम्भीर रहेको पनि उनी बताउँछन् ।
चिनी मिल बन्द भएपछि करिब दुई हजार कर्मचारी तथा मजदुर बेरोजगार भएका छन् भने चिनी मिलको आवास क्षेत्र पनि सर्वसाधारणले अतिक्रमण गरेका छन् ।

प्रतिक्रिया