‘संघर्षले व्यवसायी बनायो’

टंकबहादुर राउत वैदेशिक रोजगार क्षेत्रमा एक शिक्षित र सफल युवा उद्यमीका रूपमा परिचित छन् । जीवन भोगाइका दौरान आइपर्ने हरेक असहज परिस्थितीलाई सहज रूपमा स्विकार्न सक्ने र संघर्षबाटै सफलता पाइने कुरामा विश्वास गर्ने व्यक्तित्वका रूपमा समेत उनी चिनिन्छन् । आत्म विश्वास, मेहनत र परिश्रमले मात्र लक्ष्य प्राप्ति हुन्छ र यसका लागि धीरता अनिवार्य हो भन्ने उनको भोगाइ छ ।
०३० सालमा सर्लाहीको लालबन्दीमा जन्मिएका उनी यो पेसामा लागेको करिब आठ वर्ष भइसकेको छ । लालबन्दीबाटै प्रवेशिका उत्तीर्ण गरी काठमाडांै हानिएका उनी लामो संघर्षका दिन बिताउँदै वैदेशिक रोजगार व्यवसायीका रूपमा स्थापित भएका हुन् । अध्ययनकै क्रममा होटलको जागिरे, पत्रकारसमेत भएका उनी एक कुशल कानुन व्यवसायीसमेत हुन् । कानुनमा स्नातक, राजनीति शास्त्रमा स्नातकोत्तर राउत ०६१ सालदेखि वैदेशिक रोजगार व्यवसायी भएका हुन् । हरेक मानिसले आआफ्नो रुचि र क्षमताअनुसार पेसा छनोट र व्यवसाय गर्दछ तर उनी भने थुप्रै आरोह–अवरोहलाई तोड्दै यो पेसामा आइपुगेका रहेछन् । विद्यार्थी अवस्थादेखि नै आत्मनिर्भर बन्ने सोचले जागिर सुरु गरेका राउत वैदेशिक रोजगार व्यवसायीको भिडमा एक शिक्षित युवा व्यवसायी र कुशल नेतृत्वकर्ता भनेर निचिन्छन् ।
स्कुले उमेरदेखि नै अरूभन्दा भिन्न काम गर्न रुचाउने उनी सामाजिक भावना सुधारवादी सोचले यो क्षेत्रमा लागेका रहेछन् । लालबन्दीबाट एसएलसी पास गरी काठमाडौं छिरेका उनले सुरुका दिनमा होटल स्तुपामा व्यवस्थापकका रूपमा जागिर खाए । करिब आठ वर्ष त्यहाँ जागिरे भएका उनले अध्ययनसमेत सँगसँगै अघि बढाए । त्यसो त उनी यो व्यवसायमा लाग्नुको कारण पनि भिन्न छ । ‘मुलुकमा चर्केको सशस्त्र युद्धका कारण हरेक मुद्दा–मामिला जंगलतिरै डाइभर्ट भए,’ उनी सम्झन्छन् । एउटा कानुन व्यवसायी भएर जीविका चलाउन कठिन हुने देखेपछि त्यो समय उनको सोच यो व्यवसाय अँगाल्नतिर गएछ । त्यसपछि काठमाडौंको मेमोरियल ओभरसिजमा व्यवस्थापककै रूपमा जागिरे भएका उनी चार वर्षपछि आफ्नै म्यानपावर खोलेर बेरोजगार युवालाई रोजगारी दिलाउने काममा लागे ।
त्यसो त उनलाई काठमाडौंको सुरुको बसाइ र भोगाइले यो अवस्थामा आइपुग्छु भन्नेमा विश्वास थिएन । ‘मध्यमवर्गीय परिवारमा जन्मेको मान्छे, पारिवारिक जिम्मेवारीसमेत आफंैमा थियो,’ उनी सम्झन्छन् । तर, संघर्षलाई सिकाइका रूपमा ग्रहण गरेका राउत सामूहिक भावना र सहयोगी विचारले आफ्नो सफलता नजिकिएको बताउँछन् । मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेको र गाउँका युवा वैदेशिक रोजगारीमा जाने क्रम तीव्र बढेको त्यो समयमा उनका लागि यो नै आफ्नो व्यवसाय हुनेमा विश्वास बढेछ । अनि पाँचजनाको सामूहिक प्रयासमा पिजन इन्टरनेसनल स्थापना गरे । सामाजिक तथा राजनीतिक प्राणि भन्ठान्ने उनले सुरुका केही वर्ष सोचेअनुसार व्यवसाय विकास गर्न सकेनन् । करिब एक लाख ५० हजार रुपियाँ लगानीमा यो व्यवसायमा हात हालेका उनले अहिले आइपुग्दा बाँकी तीनजना सहयोगीलाइ भने विदा गरिसकेका छन् ।
नयाँ म्यानवापर सुरु गरे पनि सुरुका केही वर्ष नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउन भने उनलाई सहज भएन तापनि आफ्नो दक्षता र इमान्दारिताकै कारण यो पेसामा अकल्पनीय भोगाइ सँगालेका छन् उनले । ‘त्यसो त यो व्यवसाय निक्कै जोखिम व्यहोर्ने प्रकृतिको हो,’ उनी भन्छन्, ‘सबै कुराले साथ दिएर पनि होला आजसम्म त्यस्तो अप्रिय भोग्नु परेको छैन ।’  द्वन्द्वले आक्रान्त बनेको त्यो समयमा जोखिमको व्यवसाय सुरु गरेका भए पनि राउतले आजका दिनसम्म आइपुग्दा पाँच हजार युवालाई वैदेशिक रोजगारीका लागि पठाउन सक्षम भएका छन् ।
पिजन इन्टरनेसनलका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका उनी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष, गरुडा इन्टरनेसनल एडुकेसन कन्सलटेन्सीका प्रबन्ध निर्देशक, अधिवक्ता र लायन्स क्लब काठमाडौंका अध्यक्षसमेत छन् । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र परिमार्जित बनाउँदै लैजानु पर्ने विचार राख्ने उनी राज्यले यो व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म स्थायित्व भने देख्दैनन् । यद्यपि राज्यको उपस्थिति यो व्यवसायलाई व्यवस्थित बनाउनेमा केन्द्रित भएका खण्डमा भने दिगो र भरपर्दो व्यवसायका रूपमा वैदेशिक रोजगारीलाई लैजान सकिने उनको तर्क छ । अहिले राज्य नियन्त्रणकारी शैलीमा आक्रमक भएर यो व्यवसाय र व्यवसायीप्रति खनिएको उनको बुझाइ छ । राजनीतिक स्थिरता, औद्योगिक विकास र त्यो खालको वातावरण नभएको समयमा वैदेशिक रोजगार व्यवसाय नै मुलुकको अर्थतन्त्रको बलियो आधार भएको उनी बताउँछन् । समयसापेक्ष परिवर्तनका लागि शैक्षिक जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन सक्ने र त्यसका लागि राज्यले आवश्यक ऐन निर्माण गर्नुपर्ने उनको तर्क छ । मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा करिब २४ प्रतिशत हिस्सा ओगट्न सफल यो व्यवसायले अहिले पनि करिब ५६ प्रतिशत घरधुरीलाई रोजगारी दिइरहेको राउत बताउँछन् । राज्यको नीति निर्माण तहमा बसेकाले यो व्यवसायलाई व्यवस्थित गर्नतिर सोचेमा मुलुकको विकासका लागि योभन्दा अर्को विकल्प नरहको पनि उनको दाबी छ । करिब एक दशक अघिसम्म यो व्यवसायमा लाग्ने मानिसलाई फरक दृष्टिले हेरिने गरेकामा अहिले शिक्षित वर्गको उपस्थिति बलियो बन्दै गएको उनको बुझाइ छ ।
प्रस्तुति : किरण ढकाल

प्रतिक्रिया