किड्स रुम व्यवस्थापन

ससानो कुराले पनि बालबालिकाको मस्तिष्कमा प्रभाव पारिरहेको हुन्छ । त्यसकारण उनीहरू खेल्ने, पढ्ने कोठाको व्यवस्थापन राम्रो हुनु जरुरी छ । कोठाको साजसज्जा बालमनोविज्ञान र स्वभावअनुरूपको हुनुपर्छ । कोठाको व्यवस्थित सजावटले बालबालिकाको व्यक्तित्व विकासमा सघाउँछ । बालबालिकाले रुचाउने खालका कलर कोठामा लगाउनुपर्छ । कलात्मक रंगीबिरंगी कलर बालबालिकाका लागि प्रिय हुन्छन् ।
– बालबालिका पिंक कलरमा बढी रमाउने भएकाले त्यही कलर कोठाको भित्तामा लगाउनु राम्रो मानिन्छ । शान्ति र सकारात्मक भाव उब्जाउने कलरको खोजी गर्नुपर्छ । सानै उमेरदेखि यस्ता कलरसँगको संगतले उनीहरूको मनोविज्ञानमा सकारात्मक धारणाको विकास गराउँछ ।
– बालबालिका स्वभावत: जिज्ञासु हुन्छन् । उनीहरूको रुचि र इच्छाबमोजिमका सामग्री कोठामा प्रस्तुत गर्न सकिन्छ, जस्तो कि खगोलविज्ञानमा रुचि राख्ने बच्चालाई खगोलीय तस्बिर, चित्रकलामा रुचि राख्ने बच्चाका  लागि विभिन्न चित्र र रङ झल्काउने सामग्री राख्दा राम्रो हुन्छ ।
– सुत्नका लागि भनेर अभिभावकले सानो बेड राखिदिन सक्छन् तर भुल्नु हुँदैन कि बच्चाको उचाइ दिनप्रतिदिन बढिरहेको हुन्छ । त्यसैले बच्चाका लागि पनि सामान्यखाले नै बेड राख्नुपर्छ  तर धेर स्पेस खाने भएकाले धेरै ठूलो बेड पनि अनावश्यक हुन्छ ।
– पढ्न सजिलो हुने गरी टेबुल र कुर्सीको व्यवस्था गरिनुपर्छ । उनीहरूले भेट्ने स्थानमै सबै सामग्री जोरजाम गर्नु उचित हुन्छ, ताकि उनीहरूले कठिन स्थिति सामना गर्नु नपरोस् ।
– खेल्न औधि मन पराउँछन् बालबालिका । त्यसैले कोठामा त्यसका लागि पनि केही स्पेस खाली राख्नुपर्छ । बीच भाग अलिक फराक राख्दा राम्रो  ।
– कोठामा नोटिस बोर्ड पनि राख्न सकिन्छ, जसमा उनीहरूले आफूले सिर्जना गरेका वस्तु टाँस्न सक्छन् । दैनिक क्रियाकलापको तालिका पनि त्यहाँ राख्न सकिन्छ ।
– बालबालिका केही न केही संकलन गरिरहन पराउँछन्, खेल्ने कुरादेखि अन्य विभिन्न वस्तु । उनीहरूले ल्याएका सामग्रीको व्यवस्थापन गरिएन भने कोठा फोहोर हुन सक्छ । यसको समाधानका लागि ‘कलेक्टर डेस्क’ राखिदिन सकिन्छ ।
– बेबी ल्याम्पदेखि डल डेस्कसम्मको व्यवस्थापन गरिनुपर्छ । कोठामा हावा आवतजावत गर्ने सुविधा हुनुपर्छ । त्यस्तै, प्रकाशको पनि उचित प्रबन्ध हुनु जरुरी छ ।

प्रतिक्रिया