जग्गा किर्तेमा नापीका नासुसहित नौ गिरफ्तार

काठमाडौं, २२ जेठ । नक्कली जग्गाधनी खडा गरेर ठगी गरेको आरोपमा नापी कार्यालय डिल्लीबजारका नायब सुब्बासहित नौजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुठी संस्थान शाखा कार्यालय कालमोचनका तल्कालीन प्रमुख, सोही कार्यालयका नायब सुब्बा र काठमाडौं–४ का तत्कालीन वडा सचिव पनि छन् ।

४७ वर्षीय राजेन्द्रकुमार महर्जन, भोजपुर–८ का ३८ वर्षीय महेशकुमार बस्नेत, संखुवासभा नुनढाँकी–६ का ४३ वर्षर्ीय इन्द्रबहादुर गोले, सोलुखुम्बु मुक्ली–६ का ४४ वर्षीय तुलवीर राई, महाँकाल–५ का ५८ वर्षीय कृष्णबहादुर थापा, अच्युतानन्द पोखरेल, नवराज पौडेल, माधवनारायण महर्जन र सन्तु श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । पक्राउ परेका माधवनारायण नापी कार्यालय डिल्लीबजारका बहालवाला नायब सुब्बा हुन् । यस्तै, अच्युतानन्द गुठी संस्थानका तत्कालीन प्रमुख हुन् भने नवराज सोही कार्यालयका नायब सुब्बा हुन् । त्यस्तै, सन्तु काठमाडौं–४ का तत्कालीन वडा सचिव हुन् ।
उनीहरूले काठमाडौं साविकनगर–२३ मा रहेको २५ आना जग्गाको नक्कली कागजपत्र बनाएर बेचबिखन गरेका थिए । प्रहरीले जग्गाको वास्तविक धनी ज्ञानसिंह महर्जन रहेको बताएको छ । प्रहरीका अनुसार पहिलो चरणमा उनीहरूले नक्कली नागरिकता जग्गाधनी पुर्जा बनाएर नरदेवी श्वेतकाली गुठी र जोताहा ज्ञानबहादुर महर्जनको नाममा जग्गा दर्ता गरेको अनुसन्धानमा खुलेको छ । नक्कली नागरिता र नाता प्रमाणित गरेर राजेन्द्रकुमारले बुबा ज्ञानबहादुरको नाममा रहेको जग्गा आफ्नो नाममा सारेका थिए ।
गुठी शाखा कार्यालय कालमोचन, मालपोत कार्यालय डिल्लीबजार र चाबहिलबाट प्रमाणित गराएर धनीपुर्जा बनाएर किर्ते गरी जग्गा आफ्नो नाममा पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस कार्यका लागि मात्रै उनले ४० लाख रुपियाँ खर्च गरेका थिए ।
जग्गा किर्तेमा मालपोत कार्यालय चाबहिलका अन्य कर्मचारीको समेत संलग्नता पाइएको छ । वृत्त प्रमुख डिएसपी श्यामलाल ज्ञवालीले थप अनुसन्धानका लागि मालपोतले प्रहरीलाई सहयोग नगरेको बताए । उनले भने, ‘पटकपटक पत्र लेख्दा पनि मालपोतबाट चित्तबुझ्दो जवाफ आएन, उनीहरूबाट ‘फाइल भेटिएन’ भन्ने गैरजिम्मेवार जवाफ मात्रै पाइयो ।’
पक्राउ परेकामध्ये घले र राई विगतदेखि नै नक्कली धनीपुर्जा, नक्कली नागरिकता, एसएलसी तथा प्लस टुका नक्कली प्रमणपत्र, पासपोर्टको फोटो परिवर्तन गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ । डिएसपी ज्ञवालीका अनुसार उनीहरूले राजधानीका सबै जग्गाको विवरण राखेका थिए । उनले भने, ‘उनीहरूलाई यस कार्यमा नापी, मालपोत तथा गुठी संस्थानले सघाउँदै आएको थियो ।’ उनीहरूले बाँसको कलम बनाएर पुरानोजस्तो देखिने धनीपुर्जासमेत बनाउने गरेको डिएसपी ज्ञवालीले बताए ।
पक्राउ परेका घले र राईलाई पुर्पक्षका लागि थुनामा पठाइको छ । अन्य अभियुक्त प्रहरी हिरासतमै छन् ।

प्रतिक्रिया