धामीको सल्लाहमा हत्या

कैलाली, २२ जेठ । बझाङको स्याडी–९ तल्लागाउँका दुई दाजुभाइ मिलेर ६ नाबालक छोराछोरीसहित सातलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलासा भएको छ ।

शनिबार साँझ ५ बजेतिर घरभित्र खेलिरहेका छोराछोरीलाई वीरजित विक र गगन विकले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।
घटनामा गगनकी डेढ वर्षीया छोरी पवित्रा र तीन वर्षीय छोरा पवन तथा वीरजितकी ३५ वर्षीया पत्नी झाँकीदेवी, छोरी डेढ वर्षीया लक्ष्मी र छोराहरू चार वर्षीय केशव, आठ वर्षीय राजेन्द्र र तीन वर्षीय करनको मृत्यु भएको इन्स्पेक्टर सागर बोहराले बताए ।
कामको सिलसिलामा भारत कर्नाटकमा बस्दै आएका वीरजित बिरामी भएपछि १० दिनअघि घर आएका थिए । शुक्रबार साँझ वीरजितलाई देवता लागेको भन्दै धामी लगाउँदा धामीले दुवै दाजुभाइलाई एक साताभित्र अनिष्ट हुने भनेपछि शनिबार उनीहरूले बालबालिकाको हत्या गरेका हुन् । गगनले भने, ‘शनिबार दिनभर दुवै अचेत अवस्थामा सुतेका थियौँ, कतिबेला उठेर छोराछोरीलाई मारियो, थाहै भएन ।’ शुक्रबार धामी बनेर अनिष्ट हुने बताउने वीरजितका १६ वर्षीय छोरा धनजित हुन् ।
‘छोराछोरीको हत्या गर्ने मनसाय थिएन,’ वीरजितले भने, ‘खुकुरी र बाँसुला प्रहार गर्न थालेपछि कसले कसका छोराछोरी मार्‍यौँ, पत्तै भएन । ६ छोराछोरी मारिसकेपछि वीरजितकी पत्नी झाँकीदेवी घरमा आउँदा उनलाई दुई मिलेर हत्या गरेको उनीहरूले प्रहरीलाई बताए । झाँकीदेवी नौ महिनाकी गर्भवती थिइन् । वीरजितका आठ छोराछोरी छन् भने गगनका सात छोराछोरी छन् ।
उनीहरूले ६ नाबालक छोराछोरीसहित सातजनाको हत्या गरेपछि गोठमा बाँधेर राखेको एउटा भैँसी र बाख्रासमेत मारेको आफन्तले जनाएका छन् । इन्स्पेक्टर बोहराले दुवै मिलेर छोराछोरीसहित पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिए पनि यकिन जानकारी नआएको बताए । मारिएका सातजनाको शव आइतबार जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

प्रतिक्रिया