सरकार विघटनको माग अनुपयुक्त भएको निष्कर्ष

काठमाडौं : सत्तारूढ एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले संविधान बन्न नसकेको यथार्थ घटनाक्रम जनतासमक्ष लैजाने निर्णय गरेका छन् ।
माओवादी र मोर्चाको आइतबार भएको छलफलमा संविधान आउन नसक्नुमा कांग्रेस र एमालेका नेता जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ । कांग्रेस र एमालेका नेताले सरकार विघटन हुनुपर्ने भनेर गरेको माग अनुपयुक्त भएको उनीहरूले बताए । ‘कांग्रेस र एमालेले गलत प्रचार गरिरहेका छन्, उनीहरूको गलत प्रचारलाई चिर्दै जनतामा जाने निर्णय गरेका छौँ,’ छलफलपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘जनतामा यथार्थ घटनाक्रम बुझाउन सक्यौँ भने जनताले नै छुट्टयाउनेछन्, कसको गल्ती हो भनेर ।’ संविधान ल्याउन सरकारले अन्तिम समयसम्म प्रयास गरेको तर कांग्रेस र एमालेका नेताले नै परिस्थितिलाई बिगारेको घटनाक्रमलाई जनतामा लैजानुपर्ने निष्कर्ष उनीहरूले निकालेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा सत्तारूढ मधेसी मोर्चाका शीर्ष नेता र एमाओवादी नेता सहभागी
थिए । (सौस)

प्रतिक्रिया