महिनामै घट्यो ४४ करोड घाटा

काठमाडौं, २१ जेठ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र पेट्रोलियम पदार्थको आपूर्ति कटौतीले नेपाल आयल निगमको मासिक घाटामा समेत कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य गिरावट, भारतीय आयल निगम (आइओसी) लाई बक्यौता रकम पठाउन नसक्दा आपूर्तिमा भएको कटौती तथा खपत घटेपछि अघिल्लो महिनाभन्दा निगमको मासिक घाटामा ४४ करोड कमी आएको हो ।
आयल निगमअनुसार आइओसीले १ जुनमा पठाएको नयाँ मूल्य सूचीअनुसार निगमको मासिक घाटा अहिले ७० करोड ४२ लाखमा झरेको छ । अघिल्लो महिना अर्थात् १ मेको मूल्य सुचीअनुसार निगमको घाटा एक अर्ब १४ करोड ४७ लाख थियो ।
करिब १५ दिनअघि मात्र निगम घाटा एक अर्ब १० करोडभन्दा बढी थियो । आइओसीले १५/१५ दिनमा पठाउने मूल्य सूचीअनुसार त्यो बेला १ मेको तुलनामा मासिक घाटा चार करोड घटेको थियो । अघिल्लो महिनामा अप्रिलमा निगमको मासिक घाटा एक अर्ब ५६ करोड रुपियाँ पुगेको थियो ।
अहिले भारतमा पनि पेट्रोलियमको मूल्यमा गिरावट भएको तथा नेपाल आयल निगमले विभिन्न कारणले आपूर्तिमा कटौती भएपछि घाटामा समेत कमी आएको जनाएको छ । १४ जेठअघि मुलुकमा भएको राजनीतिक उत्तार–चढावका कारण विभिन्न समूहले गरेका बन्दहडतालले पेट्रोलियम ढुवानी न्यून मात्रमा भएको र खपतसमेत कम भएकाले मासिक घाटा एक महिनामै ४४ करोड रुपियाँले घटेको निगमको भनाइ छ ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावटकै कारण निगमको घाटामा कमी आएको बताए । बन्दहडतालका कारण विगतभन्दा केही कमी आएता पनि मासिक घाटा कमी भएको उनको भनाइ छ । तर, डलरको भाउ उच्च भएकाले निगमका घाटा सोचेअनुसार कमी हुन नसकको उनले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा आएको तेलको मूल्य गिरावटले नै निगमको मासिक घाटामा कमी आएको हो,’ उनले भने, ‘अझ घाटा कम हुने अवस्था रहे पनि डलरको भाउ बढेकाले केही असर परेको छ । ’
यद्यपि गत महिनाका तुलनामा समग्रमा मे महिनामा भने आपूर्ति बढेको प्रवक्ता ढुंगेललले बताए । अप्रिलमा करिब एक लाख किलो लिटर पेट्रोलिमय आयत भएकामा मे महिनामा भने एक सय तीन हजार किलो लिटर आयात भएको ढुंगेलले जनाए । उनका अनुसार सामान्य अवस्थामा निगमले एक सय १५ हजार किलो लिटर पेट्रोलियम आयात गर्ने गरेको छ ।
आइओसीले पठाएको मूल्यमा अघिल्लो महिनाका तुलनामा कमी आएको तथा आपूर्तिसमेत अघिल्लो महिनाभन्दा कमी भएकाले मासिक घाटा कमी भएको निगम अधिकारी बताउँछन् । ‘मे महिना लागेपछि अन्तर्राष्ट्रिय मूल्यमा कमी आउनु र बन्दहडतालले आपूर्तिमा समेत घटेकाले घाटा कम भएको हो,’ उनले भने, ‘कच्चा तेलको मूल्य यही हिसाबले घटेमा घाटासमेत कम हुँदै जान्छ ।’
निगमका अनुसार १ जुनको मूल्य सुचीअनुसार एलपी ग्यासमा प्रतिसिलिन्डर चार सय ५३ रुपियाँ घाटा छ । यसअघि एलपी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ९८ रुपियाँ ३४ पैसा घाटा रहेको थियो । अप्रिललमा भने ग्यासमा प्रतिसिलिन्डर आठ सय दुई रुपियाँसम्म घाटा रहेको निगमले जनाएको छ ।
यस्तै, १ जुनको मूल्यअनुसार डिजेलमा प्रतिलिटर आठ रुपियाँ ५३ पैसा घाटा छ । अघिल्लो महिना डिजेलमा प्रतिलिटर १० रुपियाँ ६० पैसा घाटा थियो अप्रिलमा प्रतिलिटर १२ रुपियाँ ४८ पैसा घाटा थियो । नयाँ मूल्य सूचीअनुसार अहिले पेट्रोलमा प्रतिलिटर सात रुपियाँ ५९ पैसा नाफा छ ।
निगमका अनुसार अहिले डिजेलमा ५५ करोड ४५ लाख कुल घाटा छ । अघिला महिना डिजेलमा ६८ करोड ९२ लाख घाटा थियो । यस्तै अहिले एलपी ग्यासमा ५४ करोड ३७ लाख कुल घाटा छ । यसअघि ग्यासमा ७१ करोड ८० लाख कुल घाटा रहेको पनि निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा अहिले १२ करोड १० लाख नाफा छ भने मट्टीतेलमा दुई करोड ६९ लाख, अन्तर्राष्ट्रिय हवाई इन्धनमा १९ करोड ६ लाख र आन्तरिक हवाई इन्धनमा चार करोड ७५ लाख रुपियाँ कुल नाफा रहेको छ । १५ दिन अघि पेट्रोलमा ६ करोड ३१ लाख रुपियाँ कुल नाफा थियो ।
अहिले रकम अभाव भएको भन्दै निगमले वजार माग अनुसार पेट्रोलियम आपूर्ति गरेको छैन । निगमका अनुसार भारतीय आयल निगम (आइओसी) लाई तिर्नुपर्ने बक्यौता बढी भएकाले मागअनुसार आपूर्ति गर्न नसकेपछि राजधानीलगायत मुलुकका प्रमुख सहरमा पर्याप्त पेट्रोलियम छैन । तर, निगमले भने दुई महिनादेखि एलपी ग्यासको खपत अत्यधिक भएको जनाएको छ । मासिक १२ लाख मेट्रिक टन एलपी ग्यास खपत हुन गरको भनिए पनि दुई महिनादेखि करिब १७ लाख मेट्रिक टन आयात र खपत भइरहको निगम प्रवक्ता ढुंगेलले जनाए ।

प्रतिक्रिया