अमेरिकाले नौसैनिक जहाज प्रशान्त क्षेत्रमा लैजाँदै

सिंगापुर, २१ जेठ । एसियामा रणनीतिक ध्यान केन्द्रित गर्ने उद्देश्यअनुरूप अमेरिकाले प्राय: सबै नौसैनिक जहाज प्रशान्त क्षेत्रमा तैनाथ गर्ने भएको छ । अमेरिकी प्रतिरक्षामन्त्री लेयोन पनेटाले शनिबार सिंगापुरमा आयोजित एक शिखर बैठकमा सन् २०२० सम्म अधिकांश अमेरिकी नौसैनिक जहाज सो क्षेत्रमा लगिने जानकारी दिएका हुन् ।
एसिया–प्रशान्त क्षेत्रमा सैनिक साझेदारी विस्तार गर्ने उद्देश्यले थप जहाज तैनाथ गर्न लागिएको मन्त्री पनेटाले बताए । प्रशान्त क्षेत्रमा नौसैनिक शक्ति विस्तार गर्नु अमेरिकाको भविष्यका लागि महत्त्वपूर्ण बनेको धारणा व्यक्त गर्दै उनले यसबाट चीनमाथि चुनौती सिर्जना नहुने दाबी गरे ।
अमेरिकाको नौसैनिक उपस्थिति प्रशान्त तथा आन्ध्र महासागरमा ५०/५० प्रतिशतका आधारमा विभाजन भएको उल्लेख गर्दै पनेटाले भने, ‘सन् २०२० मा ६०/४० को आधारमा नौसैनिक उपस्थिति विभाजित हुनेछ ।’ प्रशान्त महासागरमा ६ वटा विमान वाहक जहाज (बेडा), अधिकांश क्रुइज, डिस्ट्रोयर, लिटरल कम्ब्याट, जहाज तथा पनडुब्बी तैनाथ गर्ने तयारी रहेको उनले बताए । अमेरिकी नौसेनासँग दुई सय ८५ वटा युद्धक पोत रहेको बताइन्छ ।
पेन्टागनका अधिकारीले आगामी वर्ष प्रतिरक्षा बजेटमा कटौती हुने सम्भावना रहे पनि प्रशान्त क्षेत्रमा नौसैनिक जहाजको संख्या बढाइने योजनालाई यसले कुनै असर नपुर्‍याउने बताएका छन् । प्रशान्त क्षेत्रमा सैन्य अभ्यास बढाउने र यस्तो अभ्यासलाई हिन्द महासागरसम्म विस्तार गर्ने योजना बनाइएको उनीहरूको भनाइ छ । लन्डनमा केन्द्रीय कार्यालय रहेको ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिज’ले सिंगापुरमा आयोजित ‘सांग्रिला डायलग’ नामक शिखर बैठकलाई सम्बोधन गर्दै प्रतिरक्षामन्त्री पनेटाले यस्तो बताएका हुन् । बैठकमा एसियाका २७ मुलुकका प्रतिरक्षा अधिकारीको सहभागिता छ ।
‘साउथ चाइना सी’ को सार्वभौमिकताको विषयमा चीनले कडा अडान लिएपछि त्रस्त बनेका दक्षिणपूर्वी एसियाली मुलुकलाई प्रशान्त क्षेत्रमा सैन्य उपस्थिति बढाउने बताएर अमेरिकाले आश्वस्त पार्न खोजेको अनुमान गरिएको छ । एसिया–प्रशान्त क्षेत्रमा नौसैनिक परियोजनालाई प्रभावकारी बनाउन राडारले पत्ता लगाउन नसक्ने युद्धक विमान, लामो दूरीसम्म प्रहार गर्न सक्ने बमवर्षक विमान, विद्युतीय युद्धकला तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा लगानी गर्ने योजना अमेरिकाले बनाएको उनले उल्लेख गरे ।
अमेरिकाको यस्तो नीतिले चीनलाई रुष्ट पार्ने सम्भावनालाई ध्यानमा राख्दै प्रतिरक्षामन्त्री पनेटाले अमेरिकाले चीनसँग द्वन्द्व नभई वार्ता चाहेको प्रस्ट पारे । एसियामा अमेरिकी संलग्नताले संयुक्त सुरक्षा तथा समृद्धिको ढोका खोल्ने र यसबाट चीनसमेत लाभान्वित हुने दाबी उनले गरे । अमेरिकी सिद्धान्तको बेवास्ता गर्दै ‘साउथ चाइना सी’ को क्षेत्राधिकारलाई एकपक्षीय रूपमा विस्तार गर्ने तथा यसका लागि दबाब दिने चिनियाँ प्रयासलाई अमेरिकाले अस्वीकार गर्ने मन्त्री पनेटाले प्रस्ट पारे । मुलुकहरूबीच मान्यताप्राप्त नियम तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सबै समस्याको समाधान खोजिनुपर्नेमा उनले जोड दिए ।
तेल तथा ग्यासको अपार खानी रहेको ‘साउथ चाइना सी’ का विभिन्न भूभागमाथि चीनसहित दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकले सार्वभौमिकता दाबी गरिरहेका छन् । सो विषयमा फिलिपिन्स, भियतनाम, सिंगापुरलगायतका मुलुकसँग चीनको विवाद छ । (एएफपी)

प्रतिक्रिया