“कहिल्यै चकचक गरिनं”


भाइबहिनीहरू, १९९९ साल फागुन १२ गते म पुख्र्यौली थलो काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएको हुँ । काठमाडौं र सप्तरीको नर्ग भन्ने ठाउँमा पनि हाम्रो घर भएकाले यी तीनै ठाउँवरिपरि मेरो बाल्यकाल बित्यो । पढाइ पनि यी तीनै ठाउँमा भयो । मुख्य गरी काठमाडौंको पद्मोदय हाइस्कुलमा पढेँ । काठमाडौंमा जाडो बढ्दा तराई झरिन्थ्यो, दुई महिना त्यहीँ बसेर पढ्थेँ । कहिले पहाड घर पुगिन्थ्यो । पढाइका लागि बढीजसोचाहिँ काठमाडौंमै बसियो ।
पद्मोदयबाट १५ वर्षको उमेरमा एसएलसी सिध्याएको हुँ । यसअघि पहाडमा दुई जना गुरुले घरमै अक्षरारम्भ गराएका थिए । १० वर्षको हुँदा पद्मोदयमा एकैचोटि कक्षा ५ मा भर्ना गरिएको थिएँ । दाजुभाइमध्ये माहिलो हुँ । त्यो जमानामा दुईवटा नाम राख्ने चलन थियो । एउटा बोलाउने, अर्को लेखिने । अफिसियल कागजपत्रहरूमा मेरो नाम पद्मप्रसाद राखिएको हुन्छ । बोलाउने नाम त तिमीहरूलाई थाहै छ ।
परिवारका ठूलाबडाले सुनाएअनुसार बाल्यकालमा म एकदमै शान्त प्रकृतिको, कसैसँग झै–झगडा नगर्ने, अनि झुटो नबोल्ने स्वभावको थिएँ रे । तराई, पहाड र काठमाडौं गरिरहने भएपछि मैले खेल्ने खेल पनि त्यसैअनुसारका हुन्थे । दशैंतिहारमा पिङ खुबै खेलिन्थ्यो । पहाडमा कपर्दी, डन्डिबियो र कहिलेकाहीँ खोपी खेलिन्थ्यो । खोपीलाई बदमासहरूको खेल भन्ने चलन रहेकाले योचाहिँ साथीहरूको लहलहैमा लागेर एकदुईचोटि मात्रै खेलेँ । मधेसमा छँदा गाडामा रेस गर्ने, भैँसीमाथि चढ्ने, पौडी, लाठी खेल्ने गरिन्थ्यो । काठमाडौं आएपछिचाहिँ फुटबल खेलिन्थ्यो । ज्ञानेश्वर र टुँडिखेलमा हाम्रो फुटबल खेल्ने जक्सन नै बन्थ्यो । त्यति बेला देवी मेमोरियल सिल्ड नामको एउटै मात्र फुटबल प्रतियोगिता हुन्थ्यो । स्कुलबाट जम्मा १३ विद्यार्थी छानिन्थे । म पद्मोदयबाट थुप्रैचोटि फरवार्डका रूपमा छानिएको थिएँ । फरवार्डका रूपमा पुरस्कार पनि जितेको थिएँ । बाल्यकालका मेरा चकचकेपन र चञ्चलता भनेकै यिनै खेलहरू हुन्, नत्र अरू खालका चकचक खासै गरिनँ । समाजका अग्रजहरूले नराम्रो भनेका खेलमा ध्यान दिँदैनथेँ । त्यही सरल स्वभावको कारणले होला, ममीले मलाई जीवनमा कहिल्यै पिट्नुभएन । पद्मोदयमा अध्ययन गर्दाताका बालापनका साथीहरूमध्ये नेपाली कांग्रेसका सचेतक लक्ष्मण घिमिरे, कर्णजंग थापा, टीकाजंग थापा एकदमै मिल्ने साथी हुन् । अरू पनि थुप्रै साथी थिए । कति साथीको देहान्त भइसकेको छ ।
म पढाइमा उस्तो ब्रिलिएन्ट थिइनँ तर सालाखालाभन्दा राम्रै थिएँ । अन्य अतिरिक्त क्रियाकलापमा पनि राम्रोमा गनिन्थेँ । कक्षा नौमा पढ्दै गर्दा रेडियो नेपालमा पनि काम गर्थे । परीक्षा आउने बेला एक–दुई महिना अगाडिदेखि घोटिएर पढ्थँे । शिक्षकलाई हामी भगवान्सरह मान्थ्यौँ, शिक्षकहरू पनि कडा मिजासका हुन्थे । एक दिन शिक्षक आइनपुगेको मौका पारेर एक साथी निकै होहल्ला गर्दै थिए । केहीबेरमै शिक्षक आएर उनलाई सजायँ दिए । त्यसको भोलिपल्टदेखि उनी एकदमै सहनशील भएर पढ्न थाले । पछि परीक्षाको रिजल्ट आउँदा त उनै पो फस्र्ट भएछन्, साथीहरू सब चकित †
स्कुले जीवनमा व्यक्तित्व विकासका लागि गरिने प्रतियोगितामा चाहिँ म एकदमै सक्रिय थिएँ । सहभागिता जनाएका प्रतियोगितामा कहिल्यै सेकेन्ड भइनँ सधैँ फस्ट । तीमध्ये वादविवाद, हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता प्रमुख हुन् । त्यति बेलैदेखि गीतहरू पनि अलि–अलि सिर्जना गर्थें ।
अहिलेका जेनेरेसनलाई उति बेलाको हाम्रो बालापनका प्रसंग अनौठा लाग्छन् । खेलहरू नै अचम्मका लाग्छन् । मेरो नातिको बालापन र मेरो बालापनमा आकाशपातालकै फरक छ । मेरो बाल्यकालका कुरा उनीहरूलाई कुनै दन्त्यकथाजस्तो लाग्छ । मेरो नातिले बाख्राको बच्चा टिभी–इन्टरनेटमा मात्र देखेको छ तर मैले आफूसँगै हुर्काएको छु ती पाठाहरूलाई । थु्रपै्रचोटि गोठाला गएको छु । मेरो नातिले उकाली–ओराली गाडीमै गर्‍यो तर मैले प्रकृतिसँगै लुकामारी गर्दै आफ्नै पैतालाको भरमा उकाली–ओराली काटेको छु । अहिलेका बच्चाहरूलाई ‘इन्ट्रेस्टिङ’ हुने सोचेर मैले मेरो बालापनको जीवनीबारे पुस्तक संग्रह निकाल्ने तयारी पनि गरिरहेको छु ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया